जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा « Khabarhub

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जेनेभा– नयाँ द्वन्द्व टार्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा अप्रत्यक्ष वार्ताको नयाँ चरण सुरु हुन लाग्दा वासिङ्टनले सार्वजनिक रूपमा उठाउँदै आएको क्षेप्यास्त्र मुद्दालाई केही हदसम्म पन्छाएको संकेत देखिएको छ । क्षेत्रीय तनाव उच्च विन्दुमा पुगेका बेला दुवै पक्षले कूटनीतिक बाटो रोज्न खोजेका हुन् ।

अमेरिकाले यस क्षेत्रमा उल्लेख्य सैन्य जमघट गरेपछि र राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए आक्रमण गर्न सकिने चेतावनी दोहोर्‍याएपछि वार्ता सुरु हुन लागेको हो । 

मंगलबारको स्टेट अफ द युनियन सम्बोधनमा ट्रम्पले इरानले ‘भयावह आणविक महत्त्वाकांक्षा’ पछ्याइरहेको आरोप लगाउँदै तेहरानले युरोप तथा विदेशस्थित अमेरिकी आधारसम्म पुग्न सक्ने मिसाइल विकास गरिसकेको दाबी गरे। उनले चाँडै संयुक्त राज्य अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र निर्माणको प्रयास भइरहेको समेत उल्लेख गरे।

इरानी विदेश मन्त्रालयले ती आरोपलाई ‘ठूलो झुट’ भन्दै अस्वीकार गरेको छ । तेहरानले सार्वजनिक रूपमा आफ्नो मिसाइलको अधिकतम दूरी दुई हजार किलोमिटर रहेको बताउँदै आएको छ भने अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसले यसको क्षमता करिब तीन हजार किलोमिटरसम्म हुन सक्ने अनुमान गरेको छ, जुन महाद्वीपीय अमेरिकासम्म पुग्न पर्याप्त नभएको विश्लेषण गरिएको छ ।

यद्यपि दुवै देशबीचको मूल विवाद इरानको आणविक कार्यक्रममै केन्द्रित छ । पश्चिमी राष्ट्रहरूले तेहरानले आणविक बम विकास गर्ने लक्ष्य राखेको आशंका व्यक्त गर्दै आएका छन् भने इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको अडान दोहोर्‍याउँदै आएको छ । 

अमेरिकाले भने वार्तामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र इजरायलविरुद्ध सक्रिय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थनबारे पनि छलफल गर्नुपर्ने दबाब दिइरहेको छ ।

विदेशमन्त्री मार्को रुबियोले तेहरानले क्षेप्यास्त्र विषयमा छलफल अस्वीकार गर्नु ‘ठूलो समस्या’ भएको बताउँदै इरानले यस कार्यक्रमबारे पनि वार्ता गर्नुपर्ने चेतावनी दिए। साथै उनले राष्ट्रपति ट्रम्प कूटनीतिक समाधानकै पक्षमा रहेको स्पष्ट गरे। इरानले भने आणविक मुद्दाबाहेक अन्य विषय वार्ताको दायरामा नरहने र आफ्नो अर्थतन्त्रलाई कमजोर बनाएका अमेरिकी प्रतिबन्ध हटाइनुपर्ने माग अघि सारेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफू ‘वार्ताका लागि अनुकूल दृष्टिकोण’ लिएर अघि बढिरहेको बताउँदै वर्तमान ‘न युद्ध, न शान्ति’ अवस्थाबाट बाहिरिन सकिने आशा व्यक्त गरे । 

वार्तामा इरानी टोलीको नेतृत्व गरिरहेका विदेशमन्त्री अब्बास अराघचीले यसलाई ‘ऐतिहासिक अवसर’ भन्दै सम्झौता ‘पहुँचभित्र’ रहेको दाबी गरेका छन् । उनले अमेरिकी पक्षको गम्भीरता र विरोधाभासी व्यवहारबाट जोगिने क्षमतामा वार्ताको सफलता निर्भर रहने उल्लेख गरे।

अमेरिकी टोलीको नेतृत्व राजदूत स्टिभ विटकफ र जारेड कुसनरले गर्नेछन्। यसअघि ओमानको मध्यस्थतामा वार्ताका प्रारम्भिक चरण सम्पन्न भएका थिए । अघिल्लो प्रयास गत जुनमा इजरायलले गरेको आकस्मिक आक्रमणपछि असफल भएको थियो । इजरायलको आकस्मिक आक्रमणले १२ दिनको युद्ध निम्त्याएको र अमेरिकी बमबारीसमेत भएको थियो ।

जनवरीमा तेहरानमा भएको व्यापक विरोध प्रदर्शन र त्यसको दमनपछि पनि दुवै देशबीच तनाव बढेको थियो । ट्रम्पले इरानी जनतालाई ‘मद्दत’ गर्न हस्तक्षेप गर्न सकिने चेतावनी दिँदै आएका छन् । 

इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिजका एमिल होकाइमका अनुसार यस क्षेत्रले युद्धको सम्भावना वास्तविक रूपमा महसुस गरिरहेको छ, यद्यपि धेरै मध्यपूर्वी राष्ट्रहरूले अमेरिकाले इरानमाथि आक्रमण नगरोस् भनेर दबाब दिइरहेका छन् ।

तेहरानका सर्वसाधारण भने सम्भावित द्वन्द्वबारे विभाजित देखिन्छन् । ६० वर्षीया गृहिणी तायबेहले युद्ध इरानका लागि ‘धेरै नराम्रो’ हुने बताउँदै अनिकाल र थप पीडाको आशंका व्यक्त गरे। उनले अहिले पनि जनताले कष्ट भोगिरहेको उल्लेख गर्दै युद्धले देशको भविष्य अझ अनिश्चित बनाउन सक्ने चिन्ता व्यक्त गरे।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १२ : ५५ बजे

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

एजेन्सी– युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय