शिक्षकलाई झपार्ने सांसदको ‘प्रधानपञ्च’ शैली « Khabarhub

शिक्षकलाई झपार्ने सांसदको ‘प्रधानपञ्च’ शैली



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद् विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लाको खिजिदेम्बास्थित चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई हप्काएको भिडियो भाइरल भएपछि माफी मागेका छन् । सांसद पोखरेलले आफूलाई ‘सम्मान’ नगरेको भन्दै प्रधानाध्यापक मगरलाई हप्काएको भिडियो भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शनिबार विज्ञप्ती जारी गर्दै उनले माफी मागेका हुन् । उनले आफ्नो व्यवहारले कसैको भावना आहत भएको भए क्षमायाचना गर्दै सार्वजनिक जीवनमा संयम आवश्यक हुने स्वीकार गर्न तयार रहेको जनाएका छन् ।

भाइरल भिडियोमा उनले भनेका छन्, ‘म २० औँ श्रेणीको रिटायर्ड कर्मचारी हुँ । २९ वर्ष देशलाई सेवा गरेको व्यक्ति हुँ । आज पनि पचास हजार पेन्सन खान्छु । तपाईं पनि कर्मचारी । भोली तपाई रिटायर्ड हुनुहुन्न ? जिल्लाको माननीय आउदाँ हेडमास्टर चुप लागेर बस्ने ?’

तपाइले भोट हालेपनि, नहालेपनि पाँच वर्षको लागि ओखलढुङ्गाको माननीय हुँ । प्रहरीमा माथिल्लो श्रेणीमा जागिर खाएर त्यहाँ अन्यायमा परेपछि राजनीतिमा आएको हुँ । मसँगै जागिर खाएका साथीहरु बल्ल सचिव हुँदैछन् । तर म उहिले माथिल्लो तहमा पुगेर काम गरेको प्रहरी कर्मचारी हुँ । माननीय आउदाँ चुप लागेर बस्ने ?’

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानाध्यापक सन्तबहादुरलाई कांग्रेस र एमालेको ‘झोले’ शिक्षक भनेर आरोप लगाएका छन् । सांसद् आउँदा झोले शिक्षकले अटेरी गरेको कतिपयको आरोप छ । तर, अधिकांशले भने आफूलाई सम्मान नगरेको भनेर प्रधानाध्यापकलाई विद्यालय परिसरमै झपार्नु अनैतिक मात्रै नभएर सांसद् पेखरेललाई कार्यक्षेत्रको ज्ञान नभएको टिप्पणी गरेका छन् ।

सांसद पोखरेल पूर्वप्रहरी कर्मचारी हुन् । वरिष्ठता मिचेर धीरजप्रताप सिंहलाई मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको भन्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सरकारको निर्णयलाई सर्वोच्चले सदर गरेपछि आफूमाथि अन्याय भएको भन्दै उनले २०७९ मा पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रुपमा उनले सरकारबाट अन्यायमा परेको भन्दै मतदातासँग संवेदनाको भोट मागिरहेका देखिन्थे । गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पाँच भोटले हराउँदै उनी ओखलढुङ्गाबाट विजयी भएका हुन् ।

चुनाव प्रचारकै क्रममा उनलाई भावी गृहमन्त्रीको रुपमा हेरिएको थियो । कार्यकाल सम्हालेको एक महिना नबित्दै विवादमा आएर निवर्तमान गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि भावी गृहमन्त्रीमा पोखरेलको सम्भावना चुलिएको थियो । तर, प्रधानाध्यापकमाथि खनिएपछि पोखरेल सामाजिक सञ्जालमा आलोचित भए, नागरिकले रुचाएनन् । पार्टीभित्रै पनि उनको आलोचना भयो ।

यससँगै सांसद्को कार्यक्षेत्र के हो ? सांसदले यसरी प्रधानाध्यापकलाई झपार्न मिल्छ ? भन्ने बहस छेडिएको छ । सत्तारुढ रास्वपाले पुराना दलजस्तो नेताको गलत कार्यको पक्षपोषण नगर्ने नीति अबलम्बन गर्दै आएको छ । त्यसैअनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह र गृहमन्त्री सुधन गुरुङले पद सम्हालेको छोटो समयमै राजीनामा दिन बाध्य भए ।

तर प्रअमाथि सांसदले दुर्व्यवहार गरेको विषयमा भने पार्टीले आधिकारिक टिप्पणी गरेको छैन । माफी मागेको विज्ञप्तीकै भरमा पार्टीले चुप लाग्ने हो भने यसले कसते नजिर बसाल्छ भन्नेमा पार्टी सचेत नदेखिएको जानकारहरु बताउँछन् । त्यसैगरी रास्वपाले शिक्षकलाई राजनीतिबाट अलग गरी स्वतन्त्र राख्ने घोषणा गर्दै आएको सन्दर्भमा नेताले प्रधानाध्यापकलाई स्वागत नगरेको भन्दै झपार्नु कति सान्दर्भिक हो ? भन्ने अर्को प्रश्न उब्जिएको छ ।

लेखक तथा पत्रकार नारायण गाउँले सभ्य र कानूनी शासन रहेको देशमा शिक्षकलाई हप्काउने सांसदको राजनीति सधैंका लागि सकिन्थ्यो भनेर टिप्पणी गरेका छन् । प्रधानाध्यापकले भोगेको हिंसा सामान्य नभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्-

अलि सभ्य र कानुनी देशमा विद्यालयको एउटा शिक्षकलाई त्यसरी सार्वजनिक रूपले हप्काउने, तँजस्ता त मैले कति चलाएँ चलाएँ भन्ने र इन्टिमिडेट गर्ने, बिनाकारण “तैँले भोट नदिए पनि” भन्दै व्यक्तिको डिग्निटी र स्वतन्त्रतामैं आक्रमण गर्ने, पाँच वर्ष मैले जानेको छु भन्दै शक्ति र पदको त्रास छर्ने र शक्तिकै बलमा बारम्बार बिनाकारण माफी माग्न लगाउने सांसद्को राजनीति सधैँको लागि सकिने थियो !

कुनै कर्मचारी, शिक्षक या सुरक्षाकर्मीलाई उसकै कार्यक्षेत्रमा गएर ह्यारेसमेन्ट गर्ने काम आपराधिक हो, हिंसात्मक हो ! हामीलाई चाहिँ यस्तै मानसिकता मन पर्छ । सामान्य लाग्छ । स्वाभिमान र आत्मसम्मानपूर्वक बाँच्न पाउने हक भनेको हुनेखानेको मात्रै हो जस्तो लाग्छ ! हामीले अब्यूज, दुर्व्यवहार, धम्की र सार्वजनिक अपमानजस्ता क़ुरा उत्तिकै ‘पनिशेबल क्राइम’ हुन् भन्ने बुझ्न बाँकी छ ।

पार्टीकै विज्ञप्तिहरू हेर्दा थाहा हुन्छ । “आत्मालोचना गरिसकेपछि…” भन्दै शक्तिको अगाडि घुँडा टेकेर माफी माग्नु र आत्मालोचना गर्नु आवश्यक र जायज भएको सन्देश व्यक्त गर्छन् । यस्तो ‘भिक्टिम ब्लेमिङ’ र अपराधलाई ढाकछोप गर्ने विज्ञप्तिलाई हामी सफाइ भन्दै शेयर गरिरहेछौं ! विरोध गर्नेले पनि राजनैतिक रूपले त्यस्तो सांसद्को विरोध त गरेको देखियो तर शिक्षकले अकारण बेहोर्नुपरेको सार्वजनिक अपमान र मानसिक हिंसाको बारेमा केही बोलेको देखिएन ।

हिंसा सामान्य विषय होइन !

त्यसैगरी, नेकपा एमाले नेता गोकुल बास्कोटाले व्यङ्ग्य गर्दै राजतन्त्रमा पनि यस्तो मपाइँत्व नसुनिएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्

आफुले आफैलाई माननीय भनेर संबोधन गरेको सुनेको थिएन मैले अहिले सम्म।बरु राजाको संबोधनमा जनताको नासो जनतालाई नै फर्काई बक्सेका छौ भन्ने बाक्य प्रिय लाग्या थियो।यसपल्ट कानको जाली नै जानेगरी महा हेडसरले म माननीय हुँ भनेको सुनियो।न्यु टेष्ट ईन पार्लियामेन्ट एण्ड सोसाईटी मानौ न।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. घमराज लुइँटेल लेख्छन्

माने मान नमाने पनि मै तेरो मेहमान भनेजस्तो, आफैँले आफैँलाई के को माननीय? अरुले भनिदिएसम्म त ठीक हो। यो शब्द पहिले पनि गह्नाएको शब्द हो– सम्माननीय जस्तै। जनप्रतिनिधिले हेक्का राख्दा हुन्छ। पिर्के सलामी, छाता, मान, अपमान पजेरो-गाडी, सुत्केरी भत्ता, अर्दली तलब सुविधा, स्वकिय, सांसद विकास कोष, नेताजीका भ्यागुतो फुलाइ, जुँघाका लडाईँ, यी आदि पहिल्यै कुहेर र गह्नाएर फतक्क भएका शब्द र व्यवहार हुन्। याद गरे हुन्छ– अझ तिनकै पछि लाग्ने कि झन् नयाँ चर्तिकला देखाउने।

अन्तर्राष्ट्रिय जगत्मा शिक्षकको अवस्था

फिनल्याण्ड, जापान, सिंगापुर, डेनमार्क, साउथ कोरिया जस्ता देशहरुले शिक्षण पेशालाई सबैभन्दा उच्च बनाएका छन् । उनीहरुले शिक्षकलाई ‘राष्ट्र निर्माणकर्ता’ को रूपमा लिन्छन् । राम्रो शिक्षा प्रणालीले नै सक्षम विद्यार्थी र विकसित समाजको निर्माण गर्ने कुरामा विश्वास राख्छन् ।

शिक्षक पेशालाई सबैभन्दा उच्च सम्मान,सामाजिक प्रतिष्ठा दिने देशहरु अत्यन्तै सफल पनि छन् । उक्त देशहरुमा शिक्षक बन्न निकै कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ मेडिकलको पढाई जसरी हरेक विषयमा उत्तिकै दक्ष व्यक्ति मात्रै शिक्षक बन्छन् । उत्कृष्ट विद्यार्थीहरूलाई शिक्षक पेशामा आकर्षित गरिन्छ । त्यसकारण पनि अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई शिक्षक बन्न प्रोत्साहित गर्छन्

शिक्षकलाई समाजको नैतिक मार्गदर्शक मानिन्छ । त्यसकारण सरकारको पूर्ण विश्वास अर्थात् कम निरीक्षण, र बढी स्वतन्त्रता प्रदान गरिएको छ । शिक्षकलाई नीति निर्माणमा समेत सहभागी गराइन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : ०८ बजे

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स

महिला चेम्बर र हस्तकला महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासङ्घबिच हस्तकला

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित

काठमाडाैं । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा