कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजाति ‘बेसरम’ झार विस्तार भएपछि तालको अस्तित्व कारण सङ्कटतर्फ धकेलिँदै गएको छ ।
नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी)का रूपमा अन्तरराष्ट्रिय पहिचान बनाएको महत्त्वपूर्ण सिमसार क्षेत्रको उत्तर र पूर्वी भूभाग विशेष गरी बेसरमले ढाकिँदै गएको छ । यसले तालको प्राकृतिक स्वरूपका साथै सिमसारमा निर्भर जैविक विविधता, जलचर तथा चराचुरुङ्गीको बासस्थानमा समेत असर परेको छ ।
डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ वन अधिकृत दीपेन्द्र केसीले हाल घोडाघोडी ताल क्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल बेसरमले ढाकेको जानकारी दिए । उनका अनुसार यो झार तीव्रगतिमा फैलिने प्रकृतिको भएकाले समयमै नियन्त्रण नगरे अझ ठूलो क्षेत्र प्रभावित हुनसक्ने जोखिम छ ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत आवश्यक बजेट विनियोजन गरी बेसरम हटाउने कार्य गरिएको वरिष्ठ वन अधिकृत केसीले उल्लेख गरे । उनका अनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले विनियोजन गरेको करिब रु एक लाख बजेटमार्फत बेसरम नियन्त्रण तथा हटाउने लक्ष्य राखिएको छ । ताल क्षेत्रभित्र विशेष गरी करिब दुई हेक्टर क्षेत्र अत्यन्त बाक्लो रूपमा बेसरमले ढाकेको छ ।
सीमित स्रोत र बजेटका कारण यस वर्ष करिब आधा हेक्टर क्षेत्रबाट मात्रै बेसरम हटाउने योजना बनाइएको वरिष्ठ वन अधिकृत केसीले बताए । ‘अहिले समग्रमा करिब पाँच हेक्टर क्षेत्र बेसरमले ढाकिएको छ’, उनले भने, ‘उपलब्ध बजेट र जनशक्तिअनुसार यस पटक आधा हेक्टर क्षेत्र व्यवस्थापन गर्ने लक्ष्य लिएका छौँ, तर दीर्घकालीन रूपमा पूर्ण नियन्त्रणका लागि थप लगानी र निरन्तर प्रयास आवश्यक छ ।’
आर्थिक वर्ष २०८०÷८१ मा रु तीन लाख बजेट विनियोजन करिब दुई दशमलव पाँच हेक्टर क्षेत्र सफा गरिएको थियो भने गत आर्थिक वर्षमा रु पाँच लाख विनियोजन भएकामा तीन हेक्टर क्षेत्रबाट बेसरम हटाइएको थियो । हरेक वर्ष झार फैलिने क्रम जारी रहेकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन ।
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका व्यवस्थापक दिल धामीका अनुसार बेसरमको विस्तार निरन्तर बढ्दै गएको छ । उनले डिभिजन वन कार्यालयसँग सहकार्य गरी सफाइ अभियान सञ्चाल गरिए पनि यस वर्षको बजेट पर्याप्त नभएको बताए ।
यसअघि विगतका वर्षमा सिमसार संरक्षण तथा सदुपयोग आयोजना र चरा संरक्षण नेटवर्क कैलालीले पनि बेसरम नियन्त्रणका लागि अभियान सञ्चालन गरेका थिए । तर, पर्याप्त बजेट अभावका कारण ती कार्यक्रम नियमित रूपमा अघि बढ्न नसकेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए । उनका अनुसार समयमै बेसरम नियन्त्रण नगरिएमा घोडाघोडी ताल क्षेत्र विस्तारै घाँसेमैदानमा परिणत हुने जोखिम बढ्दै जान्छ, जसले सिमसारको जैविक विविधतामा गम्भीर असर पार्न सक्छ ।
बेसरम जस्ता मिचाहा प्रजातिले सिमसार क्षेत्रको पानीको सतह ढाक्ने, स्थानीय वनस्पति र जलचर प्रजातिहरूलाई विस्थापित गर्ने तथा चरा वासस्थानमा प्रतिकूल प्रभाव पार्ने डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्यले बताए । यसका लागी दीर्घकालीन योजना, पर्याप्त बजेट र सरोकार भएका निकायबीच समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरे।













प्रतिक्रिया