तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित « Khabarhub

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

जर्मनीको ११ खेलको अपराजित यात्रा टुङ्गियो : इक्वेडर विश्वकपको अन्तिम ३२ मा प्रवेश


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै इक्वेडर जारी विश्वकपको अन्तिम ३२ मा प्रवेश गरेको छ । यो जितसँगै दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विश्वकपमा आफ्नो यात्रा जीवन्त राखेको हो।

गएराति भएको समूह ‘ई’ को तनावपूर्ण खेलमा सुरुवाती अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै लेरोय सानेले गोल गर्दै जर्मनीलाई अघि बढाएका थिए । फ्लोरियन विर्ट्जको पासमा सानेले प्रहार गर्नुअघि जर्मनीका अलेक्ज्यान्डर पाभ्लोभिचको बुट इक्वेडरका पेड्रो भिटेको टाउकोमा लागेको भन्दै इक्वेडरका खेलाडीहरूले फलको माग गरे पनि रेफ्रीले गोललाई मान्यता दिएका थिए । यस निर्णयले खेलमा केही बेर तनाव उत्पन्न गराएको थियो ।

समूह चरणबाटै बाहिरिने खतरामा रहेको इक्वेडरले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको नवौँ मिनेटमा नील्सन एङ्गुलोले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । जर्मनीका फेलिक्स न्मेचाले आफ्नै हाफमा बल गुमाएपछि एङ्गुलोले म्यानुएल नोयरलाई जिल्याउँदै गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै जर्मनीका काई हाभर्ट्जलाई जोएल ओर्डोनेजले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले जर्मनीलाई पेनाल्टी दिएका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीको हस्तक्षेपपछि उक्त पेनाल्टीको निर्णय उल्टियो । भीएआरले पेनाल्टीअघि सानेले भिटेमाथि फल गरेको देखाएको थियो, जसले इक्वेडरलाई ठुलो राहत मिल्यो ।

खेल सकिन १३ मिनेट बाँकी छँदा इक्वेडरले निर्णायक गोल गर्‍यो । कर्नरबाट आएको बललाई केभिन रोड्रिगेजले फ्लिक गरेपछि अनमार्क रहेका गोन्जालो प्लाटाले प्रहार गर्दै बललाई जाली चुमाए । यस गोलसँगै न्यु जर्सीको रङ्गशालामा उपस्थित हजारौँ इक्वेडरी समर्थक खुसीले झुमेका थिए ।

यो जितसँगै इक्वेडर विश्वकपको इतिहासमा दोस्रो पटक नकआउट चरणमा पुग्न सफल भएको छ । अर्कोतर्फ, यस पराजयले जर्मनीको लगातार ११ खेलको जितको यात्रामा पूर्णविराम लगाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ४० बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई