मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री « Khabarhub

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

नेतृत्वले नै गुटबन्दी गरेको भन्दै नेताहरूको आक्रोश



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि लामिछान‍ेले महामन्त्री पदमा सर्वसम्मत बनाउन जोडबल गरे ।

तर रविको उक्त जोडबलमा अन्य चार नेताले चुनौती दिए । उनीहरूले उम्मेदवारी कायम राखेपछि रविको योजना तुहिएको छ।

आधा दर्जनबढी नेता महामन्त्रीको दौडबाट पछि हट्दा राजुनाथ पाण्डे, सागर ढकाल, मनिष झा र गणेश कार्कीको उम्मेदवारी यथावत रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका भित्रिया राजुनाथले पनि उम्मेदवारी कायमै राखे । उता अन्य तीन नेताले रविको निर्णयमा चुनौती दिएर मैदानमै कायम छन् ।

पार्टी स्थापनाअघि ग्यालेक्सी टेलिभिजनदेखि नै विश्ववास पात्र विपिनलाई अगाडि बढाउने रविको तयारी थियो। तर अरू नेताले लोकतान्त्रिक प्रक्रियामा भाग लिने भनेपछि सर्वसम्मतको योजना तुहियो ।

विपिनलाई सर्वसम्मत बनाउन रविले शिशिर खनाल, प्रमोद न्यौपाने, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी र रञ्जु दर्शनासहितलाई उम्मेदवारी फिर्ता गर्न लगाए ।

रविले सचिवालय अथवा अन्य स्थानमा समेट्ने गरी रविले ती नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाउँदा अन्य चारजना अडानबाट पछि हटेनन् । लोकतान्त्रिक प्रक्रियामा भाग लिने भन्दै पुराना नेता मनिष झा, गणेश कार्की, राजुनाथ पाण्डे र सागर ढकाले उम्मेदवारी यथावत राखे ।

मनिषले त उम्मेदवारी फिर्ता लिनेहरूलाई आलोकाँचोको संज्ञा पनि दिए । उनले त्यस्तो राजनीति नगर्न भन्दै उनीहरूलाई कटाक्ष गरे । रास्वपानिकट स्रोतका अनुसार रविले विपिनलाई सर्वसम्मत महामन्त्री बनाउन मनिष लगायत नेताहरूसँग लामो छलफल गरेका थिए।

तर पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका मनिष लगायत नेताहरू पछि हट्न मानेनन् । रविले आफूले भन्दा मान्नेहरूलाई उम्मेदवारी फिर्ता गर्न लगाएर विपिनको पक्षमा उभ्याएका हुन् । शिशिर, प्रमोद, गणेश, जगदीश, रञ्जु र कवीन्द्र लगायतलाई विपिनको पक्षमा उभिन रविले भनिदिएपछि अरू नेता बिच्किएका छन् । महामन्त्रीमा कायम सागर ढकाल सु-संस्कृत राजनीति गर्न महामन्त्री आफूले काम गर्न सक्ने बताउँछन्।

उता मनिषले परिणाम जेसुकै आए पनि आफू भिडिरहने र लडिरहने उल्लेख गरेका छन्। ‘यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन । हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने ?’, उनले मैदान छाडेकाहरूलाई भने, ‘सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् निरन्तर लागिरहन्छन् ।’

मनिषलाई अन्याय

सहकारी ठगीमा रवि कारागार चलान हुँदा पनि मनिषले उनको प्रतिरक्षा गर्दै पार्टीलाई चलायमान गर्न खटिरहे । उनले पार्टीलाई नीति र विधिअनुसार अगाडि बढाउनुपर्ने मत राखिरहे ।

मन्त्रीको दाबेदारमा स्वभाविक रुपले हुँदा पनि रविले अगाडि बढाउन चाहेनन्। संसदीय दलमा पनि रविले मनिषलाई अन्याय गरे । मधेश प्रदेशको भूमिबाट मनिषसहित ३२ मा ३१ सिट घण्टीका उम्मेदवारले जिते । उनै मनिषलाई पार्टीले फरक धारका नेताका रुपमा हेर्छ । उता रविले भने मनिषलाई अगाडि ल्याउन चाहेनन् ।

आफ्ना विश्वास पात्र विपिनलाई अगाडि सार्दा रविले मनिषलाई अन्याय गरिदिएका छन्। तर सभापति संकटमा पर्दा विपिनभन्दा मनिष बढी खटिएका रास्वपाकै नेताहरू बताउँछन् ।

२०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका मनिष फागुन २१ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भए । पार्टीमा लोकतान्त्रिक विधिलाई अवलम्बन गर्न तयार रहेकाले परिणाम जे भए पनि स्वीकार्ने उनी बताउँछन्। नेतृत्वले हिजो गुट चलाएको र समर्थन गरेमा उम्मेदवारी खारेजदेखि थप कारबाही अगाडि बढाउने भनेको थियो । तर नेताहरूले उम्मेदवारी फिर्ता लिएर अर्को नेतालाई समर्थन गर्दा पनि नेतृत्वले केही नगरेको मनिषको गुनासो छ।

प्रधानमन्त्री बालेननिकट नेताहरू भने समावेशिताको सिद्धान्तलाई अगाडि सार्न मनिषले जित्नुपर्ने पक्षमा छन्। मधेशको भूगोलबाछट अन्तर्राष्ट्रिय भूराजनीति बुझेका मनिष मन्त्रीका लागि पनि सक्षम थिए । तर मधेशकै वरिष्ठ नेता वालेन्द्र शाहले पनि मनिषलाई रुचनाएनन् ।

गणेशसँगै नेताहरूको गुनासो

पार्टी नेतृत्वले महाधिवेशनका क्रममा एउटा नेताले अर्को नेतालाई समर्थन गरेमा, गुट चलाएमा उम्मेदवारी खारेज हुने चेतावनी दिएको थियो । त्यो कुरा सभापति रविले महाधिवेशन उद्घाटन सत्रमै बोलेका थिए।

‘जो व्यक्तिले जिते पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नेताले जित्छ, कृपया गुट र समर्थनका नाममा यो वा त्यो व्यक्तिलाई भन्ने कुरा नगरिदिनु होला । जसले जिते पनि रास्वपाको नेताले जित्ने हो। गुट र समूहगत उम्मेदवारी भए कारबाही गर्छौं’, रविले भनेका थिए,‘यहाँ कुनै गुट छैन, कोही मेरो मान्छे छैन। सबै रास्वपाका नेता हुन्, सबै हाम्रा साथी हुन्। जित्दा पनि हाम्रैले जित्छन्, हार्दा पनि हाम्रैले हार्छन्। स्वास्थ्य प्रतिस्पर्धा गर्नुहोला।’

रविले त्यसो भने पनि पदाधिकारीको निर्वाचनमा त्यसको ठीक विपरीत भएको छ। विपिनलाई सहयोग गर्दै अरू नेताले उम्मेदवारी फिर्ता लिएपछि रविको वचनमै प्रश्नचिह्न खडा भएको छ। रविले नै ती नेताहरूलाई उम्मेदवारी फिर्ता गर्न लगाएर विपिनलाई सहयोग गर्न भनेको खुलेको छ। त्यहीकारण रवि वचनमा पक्का नभएको टिप्पणी नेता गणेश कार्कीले गरेका छन् ।

रविको भनाइ सम्झाउँदै गणेश कार्कीले लेखेका छन्, ‘यही अधिवेशनमा सभापतिले उदघाटन गर्दै भन्नु भएको थियो, अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य होइन । सभापतिको भनाइ सेलाउन नपाउँदै उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको छ, त्यसले सभापतिको भनाइलाई खिल्ली उडाउँछ । यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ । यो गलत भयो । यसो नगरौँ ।’

उनले चुनाव आउने जाने भन्दै पार्टीको विधि, नीति र चरित्र अलिक लामो हुने बताएका छन्। ‘त्यसलाई बलियो बनाउने काम नेतृत्वको हो । नेतृत्वले जालझेल गर्ने र गुट बनाउनु हुन्न । हाम्रा कारण पसिना बगाउँदै, नभएका पैसा सक्दै बसेका प्रतिनिधिको लोकतान्त्रिक अभ्यास गर्ने अधिकार खोस्न हुन्न’, उनले भने।

यही भनाइमा अर्का महामन्त्रीका उम्मेदवार सागर ढकाल राजु पाण्डे र मनिष झा पनि समर्थन जनाउँछन्। उनीहरू पार्टीको नीति विधि र सिद्धान्तलाई मिच्न नहुने दाबी गर्छन् ।

वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले पनि यो अवस्थाबारे नियालिरहेको उनीनिकटहरू बताउँछन्। उनले आफ्ना विश्वासपात्र राजनाथलाई महामन्त्रीमा अगाडि सार्दा रविले भनेजस्तो उम्मेदवारी फिर्ता लिन दबाब पनि दिएनन् ।

‘कोही पनि नेतालाई वरिष्ठ नेताज्यूले उम्मेदवारी फिर्ता लिएर कसैलाई सहयोग गर्नु भन्नुभएको छैन । लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्नु, मिलेसम्म सहमति गर्नु भन्नुभएको हो’, उनको सचिवालयका एक सदस्य भन्छन्, ‘मिलेकाहरूलाई सहमति गर्नु, नमिलेमा लोकतान्त्रिक प्रक्रिया अपनाउनु भन्ने छलफल भएकै थियो। समर्थन गरेर गुट चलाएको विषयमा पक्कै पनि नेतृत्वले हेरेको होला।’

यता महामन्त्रीका दाबेदार गणेश पराजुलीले संस्थापक नेताहरू एक ठाउँमा आएकाले विपिनलाई सहयोग गर्न भने । पार्टी स्थापना कालदेखि जोडिएका कविन्द्र, गणेश, शिशिर र प्रमोदले विपिनलाई सहयोग गरेको सार्वजनिक घोषणा गरेपछि पार्टीमा असन्तुष्टि बढेको छ।

रञ्जुको पनि आलोचना

नेतृ दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएर विपिनलाई सहयोग गर्ने घोषणा गरिन्। आयोगले प्रक्रिया पूरा गरिसकेपछि मात्रै रञ्जुको उम्मेदवारी फिर्ता भएकाले उम्मेदवारी यथावत छ। रञ्जुले पनि विपिनलाई सहयोग गर्ने घोषणा गरेपछि अरू नेता असन्तुष्टि छन्।

रञ्जुले समेत यस्तो गतिविधि गरेको भन्दै महामन्त्रीका अर्का दाबेदारहरू असन्तुष्टि पोखिरहेका। ‘अरू नेताले त म्याउँ गर्नुभयो, रञ्जुले पनि त्यसै गर्नुभएछ। उहाँबाट यस्तो कल्पना गरिएको थिएन । सायद केही लिएर समर्थन गर्नुभएको होला। यो राजनीतिक संस्कार होइन। उहाँहरू नै राजनीतिक संस्कार ठिक बनाउन आएको भन्नुहुन्छ’, ती नेता भन्छन, ‘उम्मेदवारी फिर्ता लिएर चुप बसेको भए हुन्थ्यो, स्वस्थ प्रतिस्पर्धा यो होइन । उम्मेदवारी फिर्ता लिएर चुप बस्दा राम्रो हुन्थ्यो ।’

उम्मेदवारको गुनासो

निर्वाचनमा स्वास्थ्य प्रतिस्पर्धा नभएको उम्मेदवार गणेश कार्की, राजनाथ पाण्डे मिलन लिम्बु लगायतका नेताहरू गर्छन्। एउटाले छाडेर अर्कोलाई समर्थन गर्दा स्वास्थ प्रतिस्पर्धाको अभ्यास नहुने उनीहरूको प्रष्टोक्ति छ । नेता ढकाल पनि आफूले निष्पक्ष र स्वास्थ प्रतिस्पर्धाको नीति अघि सारेकाले अरूलाई पनि त्यही अनुरोध गर्छन्।

‘यहाँहरू आफैँले हेर्दा पनि स्वास्थ्य प्रतिस्पर्धा नभएको देखिन्छ । कृपया साथीहरूले स्वास्थ्य प्रतिस्पर्धा गरिदिनुहोला’, ढकालले भने, ‘निष्पक्ष र स्वस्थ राजनीति गर्न आएका हौँ। आफ्नालाई जिताउने र आफन्तलाई बचाउने चक्करमा यो नीतिलाई नलत्याऊँ ।’

मनिष र गणेशले रविलाई गुटबन्दी रोक्न र गुटबन्दी गर्नेलाई कारबाही गर्न चुनौती दिएका छन्। महाधिवेशनमा गुटबन्दी नगर्ने भनेका रविले आफैँ गुटबन्दी चलाएको उनीहरूको आरोप छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ०५ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान