लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार « Khabarhub

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रसुवा–  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणालीमार्फत पुनः सञ्चालनमा आएपछि उत्तरगया गाउँपालिकाका किसान लाभान्वित भएका छन् । 

उत्तरगया गाउँपालिका-५ स्थित त्रिशूली नदीबाट खनिएको बेतेगौँडा, पहिरेबेँसी कैदलटार सिँचाइ आयोजना बाढीका कारण अवरुद्ध भएपछि सो क्षेत्रमा निर्माणाधीन ३७ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाले पानी तान्ने उपकरण उपलब्ध गराएको हो । बाढीले तीन सय मिटरभन्दा बढी भूभाग क्षति पुर्‍याएको थियो ।

उक्त उपकरणको सहायताले पहिरेबेँसी, कैदलटारलगायत क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उत्तरगया गाउँपालिका-४ का वडाध्यक्ष अम्मरबहादुर बुलुनले जानकारी दिए ।

बेतेगौँडा सिँचाइ आयोजना तत्कालीन सार्वजनिक निर्माण शाखाअन्तर्गत रसुवा-नुवाकोट ग्रामीण विकास परियोजनामार्फत निर्माण गराइएको थियो । 

यस आयोजनाले विगतदेखि स्थानीय कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै आएको थियो । लामो समयसम्म अवरूद्व सिँचाइ पुनः सञ्चालनमा आएपछि स्थानीय नागरिक हर्षित भएका छन् । 

बाढीले संरचना क्षति पुर्‍याएपछि खेतीपाती प्रभावित बनेको अवस्थामा जलविद्युत् आयोजनाको सहयोगमा लिफ्ट प्रणालीमार्फत पानी तान्ने उपकरण सहयोग स्वरूप उपलब्ध भएसँगै सिँचाइ सुविधा पुगेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका हुन् । 

स्थानीय किसान नवराज थापाका अनुसार सिँचाइ सुविधा उपलब्ध भएपछि हिउँदेयाममा मकै, गहुँ, तोरी तथा धानखेती गर्न सहज भएको छ । सिँचाइको भरपर्दो व्यवस्थाले उत्पादन वृद्धि हुनुका साथै किसानमा उत्साह थपिएको उनको भनाइ छ । 

आधुनिक सिँचाइ प्रणालीको विकास विसं २०३० को दशकदेखि विभिन्न सरकारी तथा अन्तरराष्ट्रिय सहयोगमा ग्रामीण विकास परियोजनामार्फत सुरु भएको ज्येष्ठ नागरिक एवं समाजसेवी दावाफिन्जो तामाङले बताए । 

जिल्लाको चार हजार ७३८ दशमलव ४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिए पनि हालसम्म तीन हजार ७३१ हेक्टरमा मात्र सिँचाइको सुरूवात भएको डिभिजन सिँचाइ प्रमुख सुभाष बानियाँले जानकारी दिए । उनका अनुसार समग्रमा छ सय घरधुरीका तीन हजार व्यक्तिले सिँचाइको सुविधा उपभोग गरिरहेका छन् ।

यथेष्ठ रूपले खेतबारीमा पानीको पहुँच पुर्‍याउने उद्देश्यले चालु आर्थिक वर्षमा ४१ वटा सिँचाइ आयोजना सञ्चालन भएका जानकारी दिँदै प्रमुख बानियाँले यो वर्षको सिँचाइ विकासका लागि एक करोड २३ लाख खर्च  भइसकेको उल्लेख गरे । रासस

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ३८ बजे

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्

महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको निर्वाचनमा महामन्त्रीतर्फ मनिष