रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न « Khabarhub

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न



काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन सकाएको छ। तीन दिनमा सकिने भनिएको महाधिवेशन शुक्रबार सकिँदा उपलब्धिभन्दा धेरै असन्तुष्टि बोकेर महाधिवेशन प्रतिनिधि फर्किएका छन् ।

प्रतिनिधिहरू असन्तुष्ट भएको कुरा पदाधिकारीको निर्वाचनमा ३० प्रतिशत मत खसेको कुराले पनि पुष्टि गरिसकेको छ । व्यवस्थापकीय पाटो कमजोर हुनु, समायोजन प्रक्रिया नटुङ्ग्याइनु, प्रतिनिधिहरू एकिन नगरी महाधिवेशन डाक्नु र पहिलो अनुभवले अनेक प्रश्नचिह्न खडा भएका हुन्।

यति मात्रै होइन, बोली र व्यवहारमा नेतृत्वको अन्तर देखिनु र गुटगत राजनीतिलाई नेतृत्वले नै प्रश्रय दिएको कुरा पदाधिकारीको निर्वाचनमा छर्लङ्ग देखिएको छ । अतिकम मत खस्दा पार्टीको महाधिवेशनमाथि नै प्रश्न खडा भएको छ ।

पहिलो महाधिवेशनबाट पार्टीले थुप्रै कुराहरू सिक्न बाँकी रहेको प्रतिनिधि मधुकुमार चौलागाईं बताउँछन्। चौलागाईं अरू दलको भन्दा महाधिवेशनले फरक दिन सन्देश दिन नसकेको बताउँछन् । ‘पहिलो महाधिवेशनले पार्टीमाथि थुप्रै प्रश्नहरू खडा गरेको छ। अरु पार्टीहरुले जस्तै हामीले गल्ती दोहोर्याएका छौं’, उनलेे भने, ‘जुन किसिमको आशा थियो त्यो भर्न सकिएन। थुप्रै कुरामा चुकेका छौं ।’

धेरै कुराहरूमा चुकेको विषय त नेतृ आशिका तामाङले पनि बताएकी छिन्। उनले सबै व्यवस्थापन नभई महाधिवेशन डाक्नुले प्रतिनिधिहरूमा आशा जगाउन नसकेको बताइन् ।

‘केन्द्रीय सदस्यमा जति उत्साहपूर्ण मतदान भएको थियो, पदाधिकारीमा त्यो देखिएन नि होइन, त्यसकारण हामीले आशा जगाउन सकेका रहेनछौं भन्ने कुरा विचार गर्नुपर्छ’, उनले भनिन्, ‘पदाधिकारीमा कति समावेशिताको आधारमा विजयी हुनुभयो भन्ने कुरा पनि हेरौं न । त्यसकारण हामी नयाँ भएर पनि थुप्रै कुरा सिक्न बाँकी छ।’

नेताहरू गणेश पराजुली र मनिषा झाले पनि प्रथम महाधिवेशन भनेको जस्तो छरितो रूपमा सम्पन्न हुन नसकेको स्वीकार गर्छन् । आगामी दिनमा यसलाई करेक्सन गरेर जाने उनीहरूको प्रष्टिकरण छ। तर देशको सबैभन्दा ठूलो पार्टीले एकताको महाधिवेशनका नाममा प्रश्नमाथि प्रश्न गर्ने ठाउँ राख्न नहुने बताउँछन्।

पार्टीमा महामन्त्री निर्वाचित भएका विपिन आचार्य कमजोर व्यवस्थापनको पाटो भएकोमा स्वीकार्छन् । उनी यो कुरालाई आफूहरूले पाठका रुपमा लिएको र आगामी दिनमा मिलाउँदै अगाडि जाने प्रतिबद्धता गर्छन् ।

१.प्रक्रियागत त्रुटि

सुरुमा महाधिवेशन प्रतिनिधि छान्नका लागि प्रक्रियागत त्रुटि भएको देखियो। महाधिवेशन प्रतिनिधि भनेर बोलाएका व्यक्तिहरूको नाम सूचीमा थिएन । उपस्थित नभएकाको नाम भने प्रतिनिधिको सूचीमा भएपछि प्रक्रियागत त्रुटि देखियो।

२.व्यवस्थापकीय कमजोरी

महाधिवेशन प्रतिनिधिहरूलाई आउँदा खाना र खाजाको मात्रै व्यवस्था गरिएको थियो। त्यो पनि शुक्रबारको खाना खाजा र बासस्थानको व्यवस्था महाधिवेशन प्रतिनिधि आफैँले गर्नुपरेपछि निराश देखिए। त्यहीकारण उनीहरूले चितवन छाडेर बिहीबार नै फर्किए ।

असार ७ गतेदेखि ११ गतेसम्म व्यवस्थापनले नै प्रतिनिधिहरूलाई खाना र खाजाको व्यवस्था गरे पनि बासको भने आफैँले गरेका थिए । यो कुरामा पनि महाधिवेशन प्रतिनिधिको गुनासो छ। ‘गोजी रित्तियो । महाधिवेशन पनि सकिएन, त्यसकारण फर्कियौँ’, पाँचथरबाट महाधिवेशन प्रतिनिधि भएर गएका नेताहरू भन्छन्’, केन्द्रीय सदस्यलाई भोट हाल्यौँ, पदाधिकारीको निर्वाचन हेर्न पाएनौँ।’

३. भोटिङ मेशिनमा गडबडी
महाधिवेशनमा केन्द्रीय सदस्य उठेका व्यक्तिहरूको नाम अल्फाबेटिकल अर्डरमा पनि थिएन। केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका व्यक्तिको नामक्रम सङ्ख्याको आधारमा नभएर तलमाथि भएको थियो।

निर्वाचन आयोगले जितेका भनिएकाहरूको नाम भोलिपल्ट हेर्दा हारेको सूचीमा देखियो। बिहीबार बेलुका केन्द्रीय सदस्यमा हारेकाको नाम शुक्रबार हेर्दा जितेकोमा देखिन्थ्यो’, यस्ता त्रुटिहरू थुप्रै थिए, हामीले इलेक्ट्रोनिक भोटिङको अभ्यास गर्दा पनि प्रभावकारी रुपमा जनगुनासो समेट्न सकेनौँ।’

केन्द्रीय सदस्य गणेश कार्की भन्छ्न,’कसैको नाम कता कसैको नाम कता भयो । भोट पनि तलमाथि भएको जस्तो लाग्यो। भोट नहाल्न मन लागेको व्यक्तिलाई ‘नो भोट’को व्यवस्थापन थिएन । कमसेकम संविधानले दिएको अधिकार त नागरिकलाई दिनुपर्छ भन्ने हामीले बुझ्न सकेनौँ।’

अरु प्रतिनिधिले पनि इलेक्ट्रोनिक भोटिङमाथि प्रश्न उठाएका छन्। भोटिङ मेसिनको गल्ती भन्दा पनि व्यवस्थापनको कमजोरीका कारण यो समस्या भोग्नुपरेको उनीहरूको प्रष्टीकरण छ।

४. बन्द सत्रमा विचार निषेध

बन्द सत्रमा नीति नेतृत्व र आगामी कार्यदिशा र सिद्धान्तबारे प्रतिनिधिहरूले समूहगत रूपमा विचार राख्न पाउने अभ्यास पार्टीमा देखिन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा छवटा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले समूहगत छलफलै गर्न नपाई पारित भएका छन्।

प्रतिवेदनमाथि प्रतिनिधिहरूले आफ्नो विचार राख्ने तयारी गरेका थिए । तर छलफल नै नगरी नेतृत्वले प्रतिवेदन प्रस्तुत गरेपछि पास गरिएको पाँचथरबाट महाधिवेशनमा पुगेका लक्ष्मण लावती बताउँछन् ।

लावतीका अनुसार धेरैजना महाधिवेशन प्रतिनिधिले प्रतिवेदनमाथि आफ्नो विचार दृष्टिकोण राख्न नपाएकोमा दुःख व्यक्त गरे। हल बाहिर सामूहिक रूपमा प्रतिनिधिहरूले त्यस विषयमा पनि विवाद गरेका थिए।

केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री जगदीश खरेल आवश्यक परेको प्रतिवेदनमाथि विचार राख्दै फेरबदल गर्न सकिने व्यवस्था रहेको बताउँछन्। यसबारे अहिलेका कार्यसमितिका नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।

५. बोली एउटा व्यवहार अर्कै

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा कुनै गुट र समूह नभएको प्रष्टीकरण उद्घाटन सत्रका दिन सभापति रवि लामिछानेले दिएका थिए । केन्द्रीय सदस्यको निर्वाचनमा नदेखिए पनि पदाधिकारीको निर्वाचनमा भने गुट सर्लक्कै देखियो

पार्टी नेतृत्वले गुटगत राजनीति गरेको आरोप नेता मनिष झा, गणेश पराजुली लगायतका नेताहरुले नै लगाए । आफूले पद छाड्दै गर्दा समर्थन जनाउन नपाइने प्रतिबद्धता गर्नुपर्ने कुरा रविले राखेका थिए ।

तर उनकै पक्षका महामन्त्री उम्मेदवारहरूलाई समर्थन दिन लगाए । नेता गणेश पराजुलीले संस्थापन पक्ष एक ठाउँमा आउनुपर्ने प्रतिनिधिको भावना अनुरुप आफूहरू एक ठाउँमा आएर विपिनकुमार आचार्यलाई महामन्त्रीमा सहयोग गरेको भनेपछि गुट छरपष्ट भएको थियो।

उनीसँगै प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी र रञ्जु दर्शनाले सहयोग गरिन्। सुरुमा शिशिर खनालले पनि महामन्त्री पदबाट उम्मेदवारी फिर्ता लिएका थिए।

पार्टीको महाधिवेशनमा महामन्त्रीको दौडमा रहेका सागर ढकाल,मनिष झा र गणेश पराजुली लगायतका नेताहरू असन्तुष्ट छन्। उनीहरू गुटगत राजनीति गरेको विषयमा सभापतिले प्रष्टीकरण दिनुपर्ने मत राख्छन्। महामन्त्रीको दौडबाट पछि हटेका राजुनाथ पाण्डेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिए । तर उनले नैतिक रूपमा कसैलाई पनि समर्थन नगरिकन चुप बसे।

६. बालेन चुप रवि सक्रिय
प्रधानमन्त्रीको भूमिकामा भएकै कारण वरिष्ठ नेता बालेन महाधिवेशनमा प्राय चुप देखिए । उनी आधा दिन महाधिवेशन स्थल चितवन बसेर काठमाडौँ फर्किए। बन्द सत्र सकेर काठमाडौँ फर्किएका उनी त्यसपछि चितवन झरेनन् । बरु उनी रविसँग भर्चुअल माध्यमबाट जोडिए ।

तर बाहिर उनले कुनै पनि नेताहरूलाई आफ्नो पक्षको भनेर प्रचार गरेनन् । बालेनले आफ्नो बोलीलाई नियन्त्रण गर्दा रवि भने वचनबाट चिप्लिएका छन्। हुन त पार्टी सञ्चालन गर्ने जिम्मेवारी रविलाई नै छ तर गुटगत राजनीति गर्दिन भनेर आफैले बोलेको बोली अहिले रविलाई पासो भइरहेको छ।

७ निर्वाचन आयोगमाथि प्रश्न

निर्वाचन आयोगले सुरुमा हारेकाहरूलाई जितेको भनेर प्रचार गरेको थियो । तर पछि हारेका व्यक्तिहरूले जितेको विवरण आएपछि प्रश्न चिन्ह खडा भएको छ । केन्द्रीय सदस्यका उम्मेदवारको सूचीमा पनि तलमाथि गरेको आरोप निर्वाचन आयोगमाथि छ।

यही कारण केही प्रतिनिधिहरु सर्वोच्च अदालत जाने तयारीमा समेत छन्। निर्वाचन आयोगले पनि स्वास्थ्य र प्रश्न नउठ्ने तरिकाले निर्वाचन सम्पन्न गरेको देखिँदैन । उनीहरूकै महाधिवेशन प्रतिनिधिहरूको असन्तुष्टि हेर्दा आयोगले पनि केही गल्ती गरेको देखिन्छ । तर अहिलेसम्म उसले माफी मागेको छैन।

८. सरकार र संसद् प्रभावित

स्वभाविक हिसाबले पार्टीको महाधिवेशन चार दिनसम्ममा सम्पन्न हुनुपर्ने हो तर राष्ट्रिय स्वतन्त्र पार्टीले एक साता लामो महाधिवेशन गर्दा पनि विवादै विवाद सिर्जना भएको छ। स्मार्ट र स्पष्ट महाधिवेशन गर्छु भनेको रास्वपा विभिन्न समस्यासँग जुध्दै एक साता महाधिवेशन सम्पन्न गरेको छ।

यसले प्रतिनिधि सभा बैठक पनि प्रभावित भएको छ । जनताको प्रश्न राख्न पाउने ठाउँको रूपमा रहेको थलो प्रतिनिधिसभा नै अवरुद्ध हुनेगरी पार्टी महाधिवेशन भएपछि यसले विपक्षीलाई समेत प्रश्न गर्ने बाटो दिएको छ ।

दुईपटकसम्म सारेर प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन। भने सरकारका मन्त्रीहरूको काम कर्तव्यलाई पनि रोकिदिएको छ। सरकार गठन भएको तीन महिना अर्थात् हनिमुन पिरियडमै एक सातासम्म महाधिवेशनमा मन्त्रीहरू अलमलिदा सरकारका दैनिक गतिविधिसमेत प्रभावित भएको देखिन्छ।

९. दोहोरो अवसर

सुरुमा एक व्यक्ति एक जिम्मेवारी दिने भनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै बोलीमाथि पक्का भएको देखिँदैन। अर्थ मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका डाक्टर स्वर्णिम वाग्लेलाई उपसभापति बनायो।

कानुनमन्त्री सोविता गौतम उपसभापतिमा निर्वाचित भइन । उनको प्रत्यासीमा कार्की कहीँ कतै पदीय जिम्मेवारीमा थिइनन् तर उनी पराजित भएकी छन्।

यस्तै प्रधानमन्त्रीका राजनीति सल्लाहकार तथा संविधान संशोधन कार्यदलका संयोजक असिम शाह पनि सहममन्त्रीमा विजयी भए ।

सुरुमा रवि-बालेनले पार्टी चलायमान बनाउनुपर्ने र सरकार पनि त्यही अनुसार अगाडि बढ्नुपर्ने कारण १ व्यक्तिलाई दोहोरो अवसर नदिने भनेका थिए ।

तर व्यवहारमा यो देखिएको छैन । यसले काम गर्ने हुटहुटी राखेका व्यक्तिहरूलाई थप निराशा बनाएको छ। पार्टीका अन्य वैचारिक नेता भने उनीले बाहिरबाट सघाएर पार्टीलाई मिहिन ढंगले टोलटोलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने र समय भएको व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने आवाज उठाउँछन् ।

देशको महत्वपूर्ण ठाउँमा पुगेका व्यक्तिलाई पार्टीको अवसर दिएर काम गर्न नसक्ने भन्दै काम गर्न चाहने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उनीहरूको मत छ।

१०. रवि र बालेनले भोट हालेनन्

आफ्नै पदाधिकारीलाई वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेले भोट हालेनन्। छ दिनसम्म भोट हाल्न भनेर चितवन पुगेका र केही समय ढिलो गरेर भोट हाल्ने स्थानमा पुगेका धेरै जना महाधिवेशन प्रतिनिधिले मत हाल्न पाएनन्। यसले पनि पार्टीको लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न खडा गरेको छ। रास्वपामा ३९५९ महाधिवेशन प्रतिनिधि थिए।

केन्द्रीय सदस्यको मतदानमा २९५९ मत खसेको थियो । तर पदाधिकारीको निर्वाचनमा भने १२९० मत मात्र खसेको छ। आधाभन्दा कम प्रतिनिधिले पदाधिकारीमा मत हालेपछि स्वच्छ र निष्पक्ष तरिकाले निर्वाचन हुन नसकेको देखिन्छ।

केन्द्रीय सदस्यमा उठेको मतलाई हिसाब गर्दा पदाधिकारीमा १५६९ जनाले पदाधिकारीमा मत नहालेको देखिन्छ । यसले पनि लोकतान्त्रिक प्रक्रियाको धज्जी उडाएको छ।

पहिलो महाधिवेशन भएकाले माथि उब्जेका प्रश्नहरूमा पार्टी पन्छिन खोजे पनि पार्टीका तल्लो तहका नेताहरूको चित्त दुखाइ देखिन्छ । उनीहरू चर्चित अनुहारलाई अनुकूल हुने गरी पार्टीले गतिविधि गरेका आरोप लगाउँछन्।

जनताले प्रतिनिधिसभामा १८२ अर्थात् दुईतिहाइ बहुमतभन्दा दुई सिट कम दिएको पार्टीले पहिलो महाधिवेशन भद्रगोल भएपछि थुप्रै पाठ सिक्न जरुरी छ। अरु दललाई पाठ पढाउन आएको पार्टीले आफ्नै दलको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन नसक्दा प्रतिनिधिले प्रश्नहरूलाई जीवित राखेका छन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ४१ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी