काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा ‘बोलबम’ यात्राका क्रममा झण्डा राख्ने र डिजे बजाउने विषयमा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै गएको छ।
झडपपछि खटिएको प्रहरीले गोली चलाउँदा २४ वर्षीय युवक ओमप्रकाश मेहताको गयराति नै मृत्यु भइसकेको छ। अन्य ९ जना भन्दा धेरै स्थानीयलाई गोली लागेको छ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर मेहताको मृत्यु भएपछि त्यहाँ अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। घटनामा १३ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
देवानगञ्ज घटनापछि सदरमुकाम इनरूवासहितमा हिंसात्मक प्रदर्शन भड्किएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युपछि पनि प्रदर्शन नरोकिँदा नेपाली सेनाको टोली बख्तरबन्द गाडीसहित सडकमा निस्किएको छ।
यता सुनसरी घटनालाई लिएर केन्द्रीय सुरक्षा समितिको बैठक सोमबार नै बस्दैछ । इनरूवामा पनि कप्तानगञ्ज घटनाका सम्बन्धमा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ। अहिले देवानगञ्ज क्षेत्रमा नेपाली सेना पुगेको छ।

उता मंगलबार दिउँसो इनरुवाको गोल चोकमा विरोध प्रदर्शन भएको छ। त्यहाँ प्रहरी बिट तोडफोड र आगाजनी भएको छ। यसैबीच काठमाडौंमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
अहिले पनि सुनसरीकाे दक्षिणी भेगलाई लक्षित गरी कर्फ्यु जारी छ । हरिनगरा बजार, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रलाई लक्षित गरी सुनसरी प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे छ ।
आइतबार राति सवा १० बजेतिर साउन महिनामा हुने बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाने क्रममा विवाद भएको थियो ।
अर्को समुदायका केही व्यक्तिले चर्को आवाजमा डिजे नबजाउन भन्दै विरोध जनाएका थिए । त्यसक्रममा दुवै पक्षबीच सुरू भएको भनाभन ठेलाठेलमा परिणत हुँदै झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कप्तानगन्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरेको थियो । तर, त्यसपछि दुवै समुदायका थप मानिसहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो ।
साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाँँदै थियो । त्यही क्रममा अर्को समूहले रातिको समयमा हल्ला भएको भन्दै विरोध गरेपछि विवाद बढेको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको जनाएको छ । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनु परेकाे जनाएको छ।
प्रहरीका अनुसार दुई समूहबीचको झडप बढ्दै गई कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी गर्न थालिएपछि अवस्था नियन्त्रणमा लिन गाेली चलाउनु परेकाे हाे ।












प्रतिक्रिया