चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित « Khabarhub

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता चीन भ्रमण जाने लगभग ठेगान लागेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । रविको चीन भ्रमण क्रममा राजधानी बेइजिङमा राजनीतिक, सामाजिक र आर्थिक सबै विषयमा कुरा हुने अपेक्षा छ । पार्टी स्रोतले दिएको जानकारी अनुसार उनको चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँगै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट वार्ता हुन सक्ने बताइन्छ ।

दुई देशको आपसी सम्बन्ध र विवादका विषयमा पनि रविले कुराकानी गर्ने स्रोत बताउँछ । तर यो भ्रमणलाई राजनीतिक हिसाबले हेरिदिन स्रोतको आग्रह छ । ‘उहाँ चीन भ्रमण जाने विषयमा लगभग फाइनल भइसकेको अवस्था देखिन्छ । तर मिति नै तय भइसकेको भने छैन । राजनीति हिसाबले चीनले धेरै अगाडिबाट भ्रमणका लागि निम्तो दिएको थियो । त्यसलाई स्वीकार गर्दै उहाँ जान लाग्नुभएको हो । को को जाने भन्ने विषय पनि टुङ्गिसकेको छैन ।’

नेपाल-चीन सम्बन्धको विषयमा पार्टीले काम गरिरहेको बताउँदै रास्वपा नेता गणेश पराजुली भन्छन्, ‘राजनीतिक हिसाबले धेरै भेटवार्ता र कुराकानी हुने कार्यसूची बन्न सक्छ । राजनीति भेटवार्ता भएकाले राष्ट्रपतिसँग पनि कुराकानी हुन सक्ला । तर कुनै औपचारिक जानकारी आइसकेको छैन तयारी हुँदैछ ।’

पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार साउन अन्तिम वा भदौ पहिलो हप्तासम्ममा रवि चीन पुग्ने छन् । चीनले विगत लामो समयदेखि रविलाई चीनको निम्तो आएको थियो ।

सरकारी भ्रमण नभए पनि परराष्ट्र मन्त्रालयले रविको भ्रमणबारे समन्वय गरिरहेको छ । ‘परराष्ट्र मन्त्रालयले भ्रमणबारे समन्वय गरिदिन्छ तर यो सरकारी भ्रमण भने बिल्कुल होइन । उहाँहरूको व्यक्तिगत पार्टीको भ्रमण हो ।’ परराष्ट्रका एक अधिकारीले भने, ‘पाँच दिनको भ्रमण हुनसक्छ । सातभन्दा बढी टोली सहभागी हुने विषयमा जानकारी छैन । तर, को को जाँदै हुनुहुन्छ भन्ने अहिलेसम्म नाम भने आएको छैन ।’

उसो त परराष्ट्रमन्त्री शिशिर खनाल जेठको अन्तिम सातातिर चीन भ्रमण निस्किएका थिए । त्यसबेला पनि रविलाई चीन भ्रमणको निम्तो अनौपचारिक हिसाबले पठाइएको बताइन्छ ।

रविको भारत भ्रमणपछि उत्साही चीन

यसअगाडि रवि भारत भ्रमणमा निस्किएका थिए । भारतीय जनता पार्टीको निमन्त्रणामा जनता पार्टीको निमन्त्रणमा पाँच दिने भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्केका थिए । भारतमा रविलाई भव्य स्वागत गरिएको थियो । बाजागाजा र रेड कार्पेटका साथ स्वागत गरिएका रविलाई प्रधानमन्त्रीकै हैसियतमा भारत राखिएको टिप्पणी विश्लेषकहरूले गरेका थिए ।

नेपालबाट भारतीय जनता पार्टीका अध्यक्ष नवीन श्रीवास्तवलाई मात्र भेट्न भन्दै पुगेका रवि त्यहाँ पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसबेला नै प्रधानमन्त्री बालेन्द्र शाहको भारत र मोदीको नेपाल भ्रमणका सम्बन्धमा केही कुराहरू भएका थिए ।

रवि भारतबाट फर्किए लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत पुगेका थिए । शिशिरको भ्रमण सरकारी स्तरबाट भएपनि प्रधानमन्त्री अर्थात् वालेन्द्र शाहको भ्रमणको मिति अहिलेसम्म तोकिएको छैन । शिशिरपछि भारत भ्रमणमा बालेनको सचिवालय सदस्य कुमार बेन निस्किएका थिए । असारको तेस्रो साता सम्पन्न बेनको भारत भ्रमणलाई चासोका साथ हेरिए पनि यो सरकारी अड्डामा भने भ्रमणको कुनै लिखित दस्तावेज देखिँदैन ।

परराष्ट्र मन्त्रालय निकट स्रोतले दिएको जानकारी अनुसार बेन भारत भ्रमण निस्किँदा परराष्ट्र मन्त्रालय मातहतको निकायलाई जानकारी छैन । ‘उहाँहरूको व्यक्तिगत भ्रमण होला औपचारिक अनौपचारिक कुनै पनि हिसाबले हामीलाई जानकारी छैन ।’ परराष्ट्रका अधिकारीले भने, ‘कहिलेकाहीँ औपचारिक जानकारी नहुँदा अनौपचारिक पनि आउने अवस्था रहने पुरानो अवस्था हुन्थ्यो तर कुनै पनि अवस्थामा उहाँको भारत भ्रमणबारे हामीलाई जानकारी भएन ।’

धेरै जनाले परराष्ट्र मन्त्रालयलाई नै सूचना नदिइकन बेनले भारत भ्रमण निस्किएर बालेनको शक्ति परीक्षण गरेको आंकलन गरेका छन्। यसबारे प्रश्न गर्दा बालेनको सचिवालय समेत अनभिज्ञता जनाउँछ ।

यी हुन सक्छन् भ्रमण टोलीमा

रविको चीन भ्रमण टोलीमा महामन्त्री विपिन आचार्य पर्न सक्ने देखिन्छ । उनीलाई यसअगाडि पनि भारत भ्रमणमा लगिएको थियो । यस्तै, उनका विश्वासपात्र दीपक बोहरा पनि भ्रमण दलमा पर्न सक्ने सम्भावना रहेको बताइन्छ । भ्रमणका लागि गणेश पराजुली, चीनमा पढेकी नेत्री लिमा अधिकारीको पनि चर्चा छ । भ्रमणमा रविले आफ्ना स्वकीय सचिव अविनाश आचार्य र पत्नी निकिता पौडेललाई पनि लाने बताइन्छ । गणेश पराजुली र लिमा अधिकारी बाहेकका सदस्य रविको भारत भ्रमणमा सहभागी थिए ।

‘नामहरू फाइनल भएको छैन सात सदस्य भन्दा बढी टोली हुँदैन । सकभर पाँच बनाउने विचार गर्नुभएको छ। समेट्नुपर्ने नेतालाई समेट्नुपर्ने स्थिति पनि छ’ रवि निकट स्रोतले भन्यो, ‘रविसँगै भारत गएका नेताहरूलाई सर्लक्कै चीन लानुपर्छ भन्ने मान्यता हामीले राखेका छैनौँ । तर राजनीतिक भ्रमण भएकाले धेरै हक सभापतिज्यूलाई नै छ।’

बालेनको भारत भ्रमणबारे चर्चा

दशैँ अगाडि नै प्रधानमन्त्री बालेन्द्र भारत भ्रमण जाने चर्चा चलेको छ। भदौ अन्तिम साता या असोजभित्रमा बालेन भारत निस्किने दाबी सचिवालयले गरिरहँदा परराष्ट्र भने कुनै तयारी नभएको जानकारी दिन्छ। प्रधानमन्त्री भारत भ्रमण निस्कँदा कम्तिमा सरकारी भ्रमणका लागि एक दुई महिनाको तयारी गर्नुपर्ने अवस्था रहेकाले ‘तयारी गर्नू ’ भनेर कुनै पनि जानकारी नगराएको परराष्ट्र निकट स्रोतले जानकारी दियो ।

परराष्ट्रका एक कर्मचारीले भने, ’प्रधानमन्त्री यत्तिकै भारत घुमेर आउने भए त आजको भोलि नै जाँदा पनि हुन्छ । तर पोलेसीमा काम गर्ने र साँच्चिकै परिणाम आउने गरी भारत निक्लिन लागेको हो भने तयारी गर्न कम्तीमा एक दुई महिनाको समय लाग्छ। अहिले नै जाने फिक्स भयो भने दशैँसम्ममा पुग्नुहोला तर भदौ भित्रमै उहाँ भारत जाने सम्भावना न्यून छ। समन्वयका थुप्रै कामहरू गर्न बाँकी छ ।’

स्रोतले दिएको जानकारी अनुसार पोलेसीमा काम गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको भारत भ्रमणको होमवर्क गर्न करिब २ महिना लाग्ने बताइन्छ । परराष्ट्र मन्त्रालयले अहिलेसम्म भारत भ्रमणका लागि तीव्र तयारी गरेको छैन । सामान्य हिसाबले मात्रै तयारी भइरहेको बताइन्छ ।

‘जानुहुन्छ भन्ने कुराकानी आइरहेका छन् तर डेट फिक्स भएको छैन । भारत पनि उहाँलाई वेलकम गर्नका लागि तयारी नै देखिन्छ,’ केही समय अगाडि खबरहबसँगको कुराकानीमा परराष्ट्रमन्त्री खनालले भनेका थिए, ‘दशैँ तिहार अगाडि भ्रमण हुन सक्छ तर त्यस्तो कुनै फिक्स भने छैन । अहिलेसम्म प्रधानमन्त्री परिणाम दिने हिसाबले काम गरिरहनुभएकाले वृद्धेश भ्रमणबारे सोचिसक्ने अवस्थामा पुग्नुभएको छैन ।’

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ७ : १९ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ