काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा सोमबार भएको अत्यन्तै रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ। जितका लागि २१२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल अन्तिमसम्म संघर्षरत रहे पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रनमा सीमित भयो ।
यो हारसँगै नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ। लिग–२ को अंकतालिकामा महत्वपूर्ण अंक जोड्ने अवसर गुमाउँदा नेपालको विश्वकप यात्रा थप दबाबमा परेको छ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो। टोलीका लागि ओपनर जन फ्राइलिनले १४९ बलमा १०० रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले धैर्यतापूर्वक पारी सम्हाल्दै नेपालको बलिङ आक्रमणलाई लामो समयसम्म दबाबमा राखेका थिए।

लोरेन स्टेन्क्याम्पले ८७ बलमा ५९ रनको महत्वपूर्ण योगदान दिए भने मलान क्रुगरले २२ बलमा १५ रन जोडे। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै १० ओभरमा मात्र २९ रन खर्चेर ५ विकेट लिए। उनले नामिबियाको मध्यक्रम र तल्लो क्रमलाई धराशायी बनाएर नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए। सोमपाल कामीले पनि ७ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए।
२१२ रनको लक्ष्य पछ्याएको नेपालले सुरुआतदेखि नै सावधानीपूर्वक ब्याटिङ गरे पनि आवश्यक गतिमा रन बनाउन संघर्ष गर्यो। ओपनर आसिफ शेखले ८९ बलमा सर्वाधिक ४५ रन बनाए। कप्तान रोहितकुमार पौडेलले ५० बलमा ४१ रन तथा आरिफ शेखले ४९ बलमा ३८ रनको योगदान दिए।
नेपालले अन्तिम ओभरसम्म जितको आशा कायम राखे पनि आवश्यक रन पूरा गर्न नसक्दा ३ रनको झिनो अन्तरले हार बेहोर्नुपर्यो।

नामिबियाका बलर ज्याक ब्रासेलले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए। रुबेन ट्रम्पलम्यानले १० ओभरमा ५२ रन खर्चेर २ विकेट हात पार्दै नेपालको मध्यक्रमलाई दबाबमा राखे। बर्नार्ड स्कोल्ट्जले भने अत्यन्तै किफायती बलिङ गर्दै १० ओभरमा केवल १४ रन मात्र खर्चिए, जसले खेलको नतिजामा निर्णायक भूमिका खेल्यो।
करण केसीको पाँच विकेट र नेपाली ब्याटरहरूको संघर्षपूर्ण प्रयासका बाबजुद नेपाल लक्ष्यभन्दा तीन रनले पछि पर्दा लिग–२ मा अर्को महत्वपूर्ण अवसर गुमाउन बाध्य भयो।












प्रतिक्रिया