काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलले राष्ट्रिय विपत्तिमा एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन्।
बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्तिमा अरु कुरा सोच्नुभन्दा पनि सकेसम्म मानवीय क्षति कम गर्नका लागि उद्धार तर्फ केन्द्रित हुनुपर्ने बताए । उनले प्रथम दायित्व भनेको सकुशल मान्छे उद्धारमा रहेको थापाको भनाइ थियो ।
‘अहिले हामी धेरै सोच्ने बेला छैन । सबैजना एकजुट भएर विषय राजनीतिकरण नगरिकन विपतमा एक हुने हो । जति सक्दो अहिले हामीले थप जनको क्षति हुन नदिनका लागि मानिसहरूको उद्धारमा केन्द्रित हुनुपर्छ। त्यसका लागि हाम्रा कति युवा परिचालन गर्नुपर्छ ? त्यसतर्फ पनि ध्यान दिउँ।’ थापापाले भनेका थिए– ‘सरकारले निजी क्षेत्र र सरकारी सबै हेलिकप्टर त्यस उद्धारतर्फ केन्द्रित गराउनुपर्छ । अहिले पहिलो धर्म भनेको मान्छे बचाउनु हो। त्यसपछि अरु कुरा हुँदै जान्छ।’

थापाले सामाजिक सञ्जाल लगायतका क्षेत्रमा समाजलाई भ्रमित बनाउने र हेर्नै नसकिने दृश्यहरू पोस्ट भइरहेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गरेका थिए ।
‘देशमाथि विपत्ति बेला को कहाँ छ भन्ने कुरा सरकारले नसोचोस्। हामी सबै एक ठाउँमा छौँ। हामी विपक्षी दल भएपनि विपद्को बेला सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं तर सरकारले विपतमा परेकालाई उद्धार गर्न र हात र पुनर्स्थापना गर्नका लागि सकेको सबै इफोर्ट लगाउनुपर्छ।’ गगनले बैठकमा भनेका थिए, ‘बैठक बोलाउनुभो ठिकै छ । यो बैठक पनि लामो नगरौं किनभने अहिले दुःखको क्षण छ। दुःखलाई कसरी सामना गर्ने र जति सक्दो मानिस बचाउन कसरी प्रयत्न गर्ने भन्ने तर्फ केन्द्रित हुनुपर्छ।’
गगनले गतवर्ष पनि त्यहीँ बाढी गएको भन्दै चीन सरकारसँग समन्वय गरेर दिगो समाधान खोज्नुपर्ने धारणा राखेका थिए। सीमा नाकामा बर्सेनी समस्याहरू आइरहेको उल्लेख गर्दै थापाले उद्दार र राहतपछि यस बारेमा पनि बृहत छलफल र सहमति कायम गर्नुपर्ने उल्लेख गरे।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिले राज्यको पहिलो दायित्व भनेको मान्छेको जीवन बचाउनु रहेको धारणा बैठकमा राखेका थिए ।

उनले विपत्तिमा सबै एक ठाउँमा रहेको जानकारी गराउँदै आफ्नो पार्टीको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।
‘अहिले हाम्रो पहिलो दायित्व भनेको मानिसको जीवन बचाउनु हो। खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापना लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।’ प्रचण्डले भनेका थिए– ‘यसका लागि सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्छ।’
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी संस्थाहरूबाट सहयोग आउने क्रम जारी रहेको उल्लेख गरेका थिए । विपद्को बेला सहयोग जुटाउने काम भइरहेकाले भारत-चीनले पनि उदारतापूर्वक सहयोग गर्ने बताए ।
अर्थमन्त्री वाग्लेले भने, ‘हामीले विश्व बैंकसंग कुरा गरेर करिब २५ अर्ब रुपैयाँ जतिको आर्थिक सहायता जुटाएका थियौँ । चीन, भारत, जापान र एशियाली विकास बैंकबाट पनि सहयोग जुटाउने काम भइरहेको छ ।’
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्त ठाकुर, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई लगायतले पनि विपत्तिको बेला आफूहरू साथमा रहेको जानकारी दिएका थिए ।

सांसद राई आफ्ना साथीहरू विपद्मा परेका व्यक्तिहरूको उद्धारमा खटिरहेको जानकारी गराएका थिए।
सर्वदलीय बैठकमा विपद्सँग जुध्न देशका सबै शक्ति एकजुट भएर लाग्नुपर्ने विषयमा सबैले सहमति जनाउँदा सरकारी खातामा उत्साहजनक रकम सङ्कलन भएको विषयमा प्रशंसा भएको थियो । तर गृहमन्त्री सुधन गुरुङको आबद्ध संस्थाले रकम उठाएको प्रति धेरैले आपत्ति जनाएका थिए ।
पार्टी सभापति रविले व्यक्तिगत होइन सरकारी खातामै रकम गर्नुपर्ने स्पष्ट धारणा राखेका थिए । व्यक्तिगत खाताको विषयमा गुनासो आएकाले त्यसबारे आफ्नो ध्यानाकर्षण भएको रविले जानकारी गराए ।
पार्टी सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह नुवाकोटका विभिन्न क्षेत्र र बाढी प्रभावित क्षेत्रको जानकारी जानकारी लिन स्थलगत भ्रमणमा निस्किएको जानकारी गराए । अचानक विपत्ति आएको विषयमा आफू पनि एकदमै धेरै तनावमा रहेको बताउँदै रविले संकटको बेला सबैले साथ दिएकोमा धन्यवाद समेत दिएका थिए ।
‘उद्धारमा कुनै पनि कसुर बाँकी राखिएको छैन । तर हेलिकप्टर समेत ल्यान्ड हुन नसकेपछि हामीले धेरै जनालाई गुमाउनु पर्यो । भौतिक र मानवीय क्षति कति भयो भन्ने विवरण सम्बन्धित निकायले संकलन गरिरहेको जानकारी छ। हामी सकेसम्म सबैलाई उद्धार गर्ने प्रयत्नमा थियौँ । तर विपत्ति भनेजस्तो नहुने रहेछ। हामीले मित्र राष्ट्रहरूसँग पनि यो दीर्घकालीन समाधानका लागि आवश्यक कदम र पहल थाल्नेछौँ । यहाँहरूले दिएको सुझावलाई कार्यान्वयनमा पनि लगिनेछ।’
रविले बैठकमा भनेका थिए, ‘हामी विपत्तिमा सबै एक ठाउँमा छौँ। सबैले सहयोग सकेको सहयोग गरौँ । कानुन मिच्ने र विभिन्न सामाजिक सञ्जालमा भ्रामक फैलाउनेहरूप्रति पनि ध्यानाकर्षण भएको छ। विभिन्न संवेदनशील भिडियोहरू आएका विषयमा पनि सम्बन्धित निकायले खोजी गरिरहेकै छ ।’
रविले सबै राजनीति शक्ति एक ठाउँमा आएर राहत र पुनर्स्थापनामा जुटेको विषयले आफूलाई पनि देशको समस्या समाधान गर्न ठुलो राहत मिलेको उल्लेख गरेका थिए ।
रविले यत्रो ठूलो घटना हुन्छ भन्ने कुरा आफूले कल्पनै नगरेको विषय रहेको उल्लेख गर्दै भनेका थिए, ‘धनको क्षतिको सीमा नै छैन। जनको पनि यति धेरै क्षति भयो कि यो कुनै कल्पनाको विषय थिएन। यहाँहरूले भनेजस्तै अहिले लामो बहस वा राजनीतिक आग्रह पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार, राहतमा जुट्ने समय हो।’

उनले अगाडि भने, ‘सरकारले भयभरको सबै इफोर्ट लगाएको छ सक्ने जति सबै गरेको छ। गरी पनि रहन्छ । यहाँहरू पनि जुट्नुभएको छ । त्यसमा मलाई खुसी लागेको छ। जे हुनु भइगयो । अब थप क्षति हुन नदिन र भविष्यमा दिगो समाधानका लागि पनि हामी सबै एकजुट भएर काम गर्नुपर्छ।’
रविले बैठकमा केही दिनभित्रै बाढीको सम्पूर्ण क्षति विवरण आएपछि पुनः बैठक राख्न सक्ने संकेत दिएका थिए । प्रधानमन्त्रीको पहिलो दायित्व बाढी प्रभावित भएका व्यक्तिलाई उद्धार गर्नु र रात पुनर्स्थापना गर्नु रहेको जानकारी गराउँदै प्रधानमन्त्री त्यसतर्फ गइसकेकाले अर्को बैठक आवश्यक परेको खण्डमा प्रधानमन्त्रीसहित राख्न सकिने जानकारी गराए ।
‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौँ । जसले सरकारलाई निर्णय गर्न सहज होस्’ उनले भने । यसो भन्दा विपक्षीले पनि यो कुरालाई सकारात्मक रुपमा लिएको बताइन्छ ।
तिब्बतबाट हिमपहिरो फुटेर भोटेकोशीमा आएको बाढीका कारण अहिलेसम्म ८२६ जना नागरिक, प्रहरी, पर्यटक सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपत जोखिम प्राधिकरणका अनुसार हालसम्ममा १६५ वटा शव फेला परेको छ ।












प्रतिक्रिया