भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द « Khabarhub

भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार बिहान चीनको तिब्बतमा गएको हिमपहिरो र हिमनदी पतनका कारण भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरको भौतिक पूर्वाधार क्षतविक्षत पारेको छ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार प्रारम्भिक अनुमानमा यस भीषण बाढीले नेपालको पूर्वाधार क्षेत्रमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ ।

बाढीले मुख्य व्यापारिक नाका जोड्ने सडक, महत्वपूर्ण पुलहरू, भन्सार संरचना र जलविद्युत् आयोजनाहरूमा अभूतपूर्व विनाश निम्त्याएको छ।

३२ रणनीतिक पुल ध्वस्त, सडक सञ्जाल ठप्प

बाढीको तीव्र बहाव र ढुङ्गा-माटोसहितको लेदोले सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका अनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका ३२ वटा पुलहरू पूर्ण रूपमा बगेका छन् ।

चीनसँगको मुख्य स्थलगत व्यापारिक मार्ग जोड्ने रसुवा जिल्लाको ऐतिहासिक मितेरी पुल (रसुवागढी), टिमुरे पुल १ र २, चिलिमेस्थित भोटेकोसी पुल, चिलिमे खोला पुल, स्याफ्रुबेँसी पुल र त्रिशूली तथा मैलुङ क्षेत्रका ५ वटा पुलहरू पूर्ण रूपमा बगेका छन् ।

नुवाकोट जिल्लाको ऐतिहासिक बेत्रावती पुल (पुरानो र नयाँ), तुप्चेस्थित त्रिशूली नदी पुल, त्रिशूली बजारका दुईवटा पुल (पुरानो र नयाँ), सिमचौर पुल, देवीघाटस्थित मध्यपहाडी राजमार्गको पुल, ताँदी खोलाका दुईवटा पुल र त्रिशूली नदीका अन्य ४ वटा पुलहरू बाढीले बगाएको छ।

धादिङ स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुको फुर्के खोला पुल र कोल्पु खोलाका दुईवटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन्। यसका साथै मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुलमा आंशिक क्षति पुगेको छ ।

यातायाततर्फ नुवाकोटको बेत्रावतीदेखि रसुवागढी सीमा नाका जोड्ने ४० किलोमिटर रणनीतिक सडक खण्ड बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ ।

भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।

यसैगरी, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ।

बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन्। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ।

पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था छैन।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ।

देशको १० प्रतिशत विद्युत् प्रणाली बाहिर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो नोक्सानी पुर्‍याएको छ।

नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका अनुसार बाढीका कारण १२ वटा विद्युत् उत्पादन केन्द्रहरू बन्द भई ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जुन देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत हो ।

क्षतिग्रस्त भएका प्रमुख चालू जलविद्युत् आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, ७८ मेगावाटको सान्जेन खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ए, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र प्राधिकरणको २५ मेगावाटको सौर्य (सोलार) आयोजना रहेका छन्। यसका साथै निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा समेत ठूलो क्षति पुगेको छ।

२२० केभी सब-स्टेसन ध्वस्त, प्रसारण प्रणाली अवरुद्ध

बाढीले जलविद्युत् गृहहरू मात्र नभई विद्युत् प्रसारण र वितरण पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार नुवाकोटको त्रिशूलीमा रहेको त्रिशूली ३बी हब २२० केभी सब-स्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । 

यसैगरी, चिलिमे २२० केभी हबको टावर ढलेको छ भने समुन्द्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन, चिलिमे–त्रिशूली ६६ केभी लाइन, चिलिमे हब–त्रिशूली ३बी हब–मातातीर्थ २२० केभी लाइन र त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

तर, बिहीबारसम्म भने बाढीबाट नियमित विद्युत् आपूर्ति प्रणाली प्रभावित भएपछि प्राधिकरणले नुवाकोटका अधिकांश अत्यावश्यक स्थानमा वैकल्पिक मार्गबाट विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाएको छ ।

त्यसका लागि धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभीको लाइनलाई ११ केभी लाइन चार्ज गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुर्याइएको प्राधिकरणले जनाएको छ।

रसुवागढी भन्सार र सुख्खा बन्दरगाह संरचना तहसनहस

बाढीको पहिलो लहरले चीनसँगको मुख्य उत्तरी नाकामा रहेको रसुवागढी भन्सार कार्यालयको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त पारेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार कार्यालय र सुख्खा बन्दरगाह क्षेत्रको पूर्वाधारमा व्यापक क्षति पुगेको छ । 

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अनुसार टिमुरे भन्सार यार्ड र बेत्रावती क्षेत्रमा पार्किङ गरी राखिएका चाडबाडका लागि चीनबाट आयात गरिएका सामानले भरिएका करिब १ सय वटा मालवाहक कन्टेनरहरू बाढीले बगाएको छ ।

यसका साथै भन्सार यार्डमा जाँचपासका लागि राखिएका २ सय वटा  विद्युतीय सवारी साधनहरू समेत बाढीले बगाएको भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद ढुंगानाले बताएका छन् ।

दूरसञ्चार पूर्वाधारमा अवरोध, ८७ टावरहरू प्रभावित

विपद्का कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका सञ्चार पूर्वाधारहरूमा गम्भीर असर परेको छ। बाढी र पहिरोका कारण यस क्षेत्रका ८७ वटा दूरसञ्चार टावरहरू ठप्प भएका छन् ।

नेपाल टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका कुल १५२ वटा सञ्चार साइटहरूमध्ये ६० वटा साइट अझै सञ्चालनमा आउन नसकेको सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ६ : ०६ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने

काठमाडौं–  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको