पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ ।
नासो गाउँपालिका–१ स्थित तालगाउँ नदीको बहावमा अवरोध आएपछि जलमग्न भएको स्थानीय प्रहरी जवान सुरेश विकले जानकारी दिए । २०७८ सालको बाढीले क्षति पुर्याएको उक्त गाउँको पुनर्निर्माण केही समयअघि मात्रै सम्पन्न भएको थियो । तर, अहिले फेरि बाढीका कारण गाउँ डुबानमा परेको हो ।
बाढी र पहिरोका कारण तालगाउँबाट बाहिरिने उत्तर र दक्षिणतर्फका सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक सम्पर्क विच्छेद भएपछि स्थानीयवासी गाउँमै थुनिएका छन् ।
गाउँ चारैतिरबाट घेरिएपछि तालगाउँका स्थानीयवासी सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसिरहेका छन् । बाढीका कारण विद्युत् र इन्टरनेट सेवा समेत अवरुद्ध भएको बताइएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा टेलिफोन सम्पर्कसमेत प्रभावित भएकाले ताल क्षेत्रभन्दा माथिको वास्तविक अवस्थाबारे जानकारी लिन कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।
यसैबीच, मर्स्याङ्दी नदीको बहाव अझै बढिरहेको र नदीको प्राकृतिक बहावमा समेत अवरोध देखिएको बताइएको छ । त्यसैले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रशासन तथा सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।













प्रतिक्रिया