चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर पुगेको छ । नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ ।
भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ । जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।
नारायणीमा आएको बाढी नदी किनार भरतपुर- १ मा रहेको बस्तीमा पसेको छ । बाढी पस्दा स्थानीय प्रत्यक्ष रुपमा प्रभावित बनेका छन्। यस आसपासका विधालय पनि डुबानमा परेका छन्।
त्यस्तै, चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको तह मानिन्छ । जलसतह केही घटे पनि अहिले पनि खतराको सीमाभन्दा माथि नै रहेको छ ।
नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च रहेकाले नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
नारायणीमा बाढी बढेसँगै पश्चिम चितवनका बस्तीमा बाढी पस्ने सम्भावना बढेको छ । प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए ।






















तस्बिर : नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया