काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको भन्दै सरकारको आलोचना गरेका छन् ।
अन्सारीले सामाजिक सञ्जालमार्फत मध्यरातमा जबरालाई नियन्त्रणमा लिइएको र बिहान त्यसलाई सुरक्षा थ्रेटका कारण गरिएको भन्दै प्रशासनले स्पष्टीकरण दिएको दाबी गरेका छन् ।
उनले सुरक्षा खतरा भए सुरक्षा दिनकै लागि प्रहरी, प्रशासन र सरकार रहेको उल्लेख गर्दै यस्तो तर्क प्रस्तुत गर्नु आपत्तिजनक भएको बताएका छन् ।
उनले नागरिकको ‘लाइफ, लिबर्टी र प्रोपर्टी’को रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै आफ्नै पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा दिन नसक्ने राज्यप्रति प्रश्न उठाएका छन् ।
अन्सारीले नेपालको सुरक्षा प्रणालीबारे अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश जाने र यस्तो अवस्थामा विदेशी पर्यटकको सुरक्षामाथि समेत प्रश्न उठ्ने बताएका छन् ।
उनले सरकारलाई ‘नाटक र नौटंकी बन्द गर्न’ आग्रह गर्दै घटनालाई सामान्य गल्ती वा भुलका रूपमा नलिन चेतावनी दिएका छन् । अन्सारीले यो घटना ‘नियोजित अपराध’ भएको दाबी गर्दै यस्ता कार्य गर्नेहरूलाई लोकतान्त्रिक शासन सञ्चालन गर्ने नैतिक अख्तियार नहुने बताएका छन् ।
उनले भने, ‘ नाटक र नौटंकी बन्द गर्नुहोस् । तानाशाहीमै उत्रिन मन भए आफ्नो नक्कली मुखौटा खोलेर पूर्वराजा ज्ञानेन्द्रको २०६१ माघ १९ जस्तो सक्कली अनुहार देखाउनुहोस् । नेपाली जनताले तानाशाहहरुको इलाज गर्न मज्जाले जानेका छन् । यो गल्ती वा भुल हैन, गर्न चाहेर पनि गर्न नजानिएको नियोजित अपराध हो । यस्ता अपराधीहरूलाई लोकतन्त्रमा शासन गर्ने नैतिक अख्तियार हुनुहुँदैन ‘
उनले गृह प्रशासनलाई समेत ‘निकम्मा र नालायक’ भन्दै खबरदार हुन चेतावनी दिएका छन् ।
यस्तो छ उनको पोस्ट














प्रतिक्रिया