काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो घटनाको वस्तुस्थिति बुझ्न र अनुगमन गर्न आयोगका माननीय सदस्यको नेतृत्वमा गएको उच्चस्तरीय टोलीलाई आइतबार टेकुस्थित प्रहरी परिसरमा जबरासँग भेटघाट गर्न र जानकारी लिन प्रहरीले रोक लगाएको थियो ।
अनुगमन टोलीले प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दासमेत के-कति कारणले भेटघाट तथा अनुगमन गर्न नदिइएको हो भन्ने विषयमा कुनै जानकारी उपलब्ध गराइएन । राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) अनुसार आवश्यकता अनुसार सार्वजनिक, निजी वा अन्य जुनसुकै स्थानको निरीक्षण तथा अनुगमन गर्ने र मानव अधिकार संरक्षणका लागि आवश्यक सुधारका सुझाव वा निर्देशन दिने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।
आफ्नो संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट भएको यस प्रकारको व्यवहारप्रति आयोगले खेद प्रकट गरेको छ । निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त अधिकारको सम्मान गर्न आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।















प्रतिक्रिया