काठमाडौं– बलिउड बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो संकेत देखाएको छ । प्रदर्शन हुन अझै केही दिन बाँकी रहँदा फिल्मले विश्वभर अग्रिम टिकट बिक्रीबाट २० करोड भारुभन्दा बढी आम्दानी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अक्टोबर २५ सम्मको अग्रिम बुकिङले यो आँकडा पार गरेको हो ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्म नोभेम्बर ५(कात्तिक १९), २०२६ मा विश्वव्यापी प्रदर्शनमा आउँदैछ। रणवीर कपुर, यश र साई पल्लवी मुख्य भूमिकामा रहेको फिल्मप्रति भारतदेखि उत्तर अमेरिकासम्म दर्शकको चासो देखिएको छ ।
भारतमा मात्रै अग्रिम टिकट बिक्रीबाट १० करोड भारुभन्दा बढी आम्दानी भएको बताइएको छ। पहिलो दिनका लागि दुई लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन् ।
भाषागत संस्करणमध्ये हिन्दी फिल्मको अग्रिम बुकिङ सबैभन्दा बलियो छ। भारतको कुल अग्रिम टिकट बिक्रीमा हिन्दी संस्करणको हिस्सा करिब ८७ प्रतिशत रहेको जनाइएको छ । कन्नड संस्करणको बुकिङ एक करोड भारुभन्दा बढी पुग्दा तेलुगु संस्करणको अग्रिम बिक्री करिब ४० लाख भारु बराबर छ ।
उत्तर अमेरिकामा पनि फिल्मको अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। विशेष प्रदर्शन र नियमित प्रदर्शनका लागि टिकट बिक्री बढिरहेको बताइएको छ ।
भारतीय महाकाव्य ‘रामायण’मा आधारित फिल्ममा रणवीर भगवान् राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन् । रवि दुबे लक्ष्मण र सनी देओल हनुमानका रूपमा देखिनेछन् ।
ठूलो बजेटमा दुई भागमा निर्माण भइरहेको फिल्मको दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी छ ।














प्रतिक्रिया