काठमाडौं– अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना चार वर्षदेखि निर्माणाधीन अवस्थामा छ । २०७९ पुसदेखि दुई खण्डमा विभाजन गरी सुरु गरिएको ६ लेन सडक विस्तारको काम अझै सम्पन्न हुन सकेको छैन ।

सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा निर्माण भइरहेको आयोजनाको प्रगति अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । सूर्यविनायक–साँगा ७.५ किलोमिटर सडक विस्तारका लागि करिब ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको हालसम्म करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ ।
त्यस्तै, साँगा–धुलिखेल ८.४ किलोमिटर सडक विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यस खण्डको निर्माण प्रगति करिब ७७ प्रतिशत पुगेको छ ।

सम्झौताअनुसार दुवै खण्डको निर्माण कार्य यस वर्षको चैत मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । बनेपा बजार क्षेत्रमा सडकको मापदण्डसम्बन्धी विवादका कारण निर्माण प्रभावित भएको थियो । गत कात्तिकमा उक्त समस्या समाधान भएपछि अहिले निर्माण कार्यले निरन्तरता पाएको छ ।

सडक विस्तारको काम जारी रहे पनि निर्माणाधीन क्षेत्रमा धुलो र सवारी जामका कारण यात्रु तथा चालकले सास्ती भोग्नुपरेको छ । विशेषगरी व्यस्त अरनिको राजमार्गमा निर्माण कार्यले आवागमन थप असहज बनाएको छ ।























प्रतिक्रिया