ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ? « Khabarhub

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर झापा ५ का उम्मेदवार नेकपा (एमाले) अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को अति प्रचारबाजी भइरहेको छ । तर, सो निर्वाचन क्षेत्रमा उनीहरूबाहेक अन्य २२ जना उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन् ।

मुलुकको राजनीतिमा उमेरको हिसाबले ओली पुराना नेता भए पनि उनीपछि महत्वपूर्ण योगदान र संघर्ष गरेका विभिन्न दलका नेता तथा नेतृहरू निर्वाचन प्रचारमा जबर्जस्त छायाँमा पर्न पुगेका छन् ।

मिडिया कभरेजको साथै, जनस्तरबाट बुझ्ने, ग्रहण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्ने शैलीले झापा ५ का अन्य सक्षम तथा अब्बल उम्मेदवार ओली र बालेनको छायाँमा परेको देखिएको हो । तर, झापा ५ ओली र बालेनसहित २४ जना उम्मेदवारहरू चुनावी प्रचारमा जुटिरहेका छन् ।

कस्तो छ झापामा कांग्रेसदेखि नेकपाको स्थिति ?

०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा झापामा एमालेका अध्यक्ष केपी ओली ५२ हजार ३१९ मत ल्याएर विजयी भएका थिए । सो निर्वाचनमा नेपाली कांग्रेसका प्रतिस्पर्धी उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए भने रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएका थिए ।

निर्वाचन परिणामअनुसार सो निर्वाचनमा सहभागी जनमत पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाहेक अन्य दलले भने एक हजार मत कटाउन सकेका थिएनन् । सो निर्वाचनमा २५ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

तर, ०७९ को प्रतिनिधिसभाको निर्वाचनमा झापा-५ मा ओली आफ्नै मतले मात्र विजयी भने भएका भने होइनन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहयोग र समर्थन गरेको थियो । त्यस्तै, कांग्रेसका उम्मेदवारलाई तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सहयोग गरेको थियो । तर, यसपटकको निर्वाचनमा भने हालसम्म कुनै पनि दलले एक अर्कालाई सहयोग गर्ने घोषणा भने गरेका छैनन् ।

दलीय हिसाबले यो अवस्था मतदानको दिनसम्म नै कायम रहेमा सबै उम्मेदवारहरूले आफ्नै व्यक्तित्व र आफ्नै दलको संगठनात्मक तागतमा मत प्राप्त गर्नेछन् भनेर अनुमान गर्न सकिन्छ ।

घरदैलो अभियान छन् कांग्रेस, नेकपा लगायतका उम्मेदवार

झापा-५ मा नेपाली कांग्रेसले अगाडि सारेको उम्मेदवार मन्धरा चिमरिया (पौडेल) सोही निर्वाचन क्षेत्रमा लामो समयदेखि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा काम गर्दै आएकी व्यक्ति हुन् । ०४५ सालदेखि कांग्रेसमा आबद्ध भएकी चिमरिया जनतासँग आफ्नो राम्रो सम्बन्ध भएको दाबी गर्छिन् ।

उनी अहिले पनि थुप्रै स्वास्थ्य तथा सामाजिक संस्थामा पत्यक्ष आबद्ध भएर र नेतृत्व गरेर काम गरिरहेकी छन् ।

‘पहिले पार्टीहरूले गठबन्धन गर्ने गरेका कारण हाम्रो पार्टीको मत पनि प्रभावित हुने अवस्था बनेको थियो, यसपटक सबै दल एक्लाएक्लै निर्वाचनमा होमिएको अवस्था छ’, उनले भनिन्, ‘यो निर्वाचन क्षेत्रमा हाम्रो पार्टीको बलियो उपस्थिति छ, हल्ला गर्नेहरूले होइन चुनाव मैले जित्छु ।’

चिमरियाले केही दलले बाहिरी हल्ला गरेको भएपनि आफू जनताबीचमा स्थापित सम्बन्ध भएकोले हल्ला नगरिकन नै चुनाव जित्ने बताइन् । साथै, उनले आफू महिला उम्मेदबार भएकाले पनि थप मत प्राप्त गर्ने आधार भएको बताइन् ।

झापा-५ मा नै घर भएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रञ्जित तामाङ पनि यसपटक सोही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएका छन् । अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भइसकेका तामाङ राष्ट्रिय रूपमा पनि परिचित व्यक्ति हुन् । विद्यार्थी जीवनदेखि नै उनी निरन्तर रूपमा राजनीतिक संघर्षमा सक्रिय छन् ।

तर, विडम्बना झापा-५ मा ०७४ र ०७९ भएको प्रतिनिधिसभाको निर्वाचनमा भने उनीआम्बद्ध विगतको पार्टी माओवादी केन्द्रले उम्मेदवार नै बनाएको थिएन । साथै, ०७९ मा भएको स्थानीय तहमा समेत गठबन्धन गरेका कारण सो पार्टीको सो निर्वाचन क्षेत्रमा कति संगठनात्मक मत छ भनेर एकीन गर्न कठिन छ ।

तामाङ अहिले पार्टीको अभियान टोली बनाएर जनताको घर–घरमा पुगिरहेका छन् । उनले यसपटकको निर्वाचनमा झापा-५ मा मुख्य प्रतिस्पर्धा आफ्नो र रास्वपाका उम्मेदवार बालेनबीचमा हुने तर्क गरेका छन् । केपी ओलीले विगतमा निर्वाचन जित्दै आएको भएपनि पछिल्लो समयमा माहोल परिवर्तन भएको उनको भनाइ छ ।

त्यस्तै, सो निर्वाचन क्षेत्रमा संगठनात्मक रूपमा राम्रो उपस्थित रहेको राप्रपाले यसपटक लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार बनाएको छ । विगतमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेलाई सहयोग गर्दै आएको राप्रपाले यसपटक भने आफ्नै दलको उम्मदवारलाई मत हाल्ने छ ।

संग्रौलाले पनि आफ्नो दलको तर्फबाट निर्वाचनको प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

कांग्रेसकी उम्मेदवार चिमरिया र नेकपाका उम्मेदवार रञ्जित तामाङले भनेजस्तै झापा-५ मा विरासत र प्रचारको राजनीति कमजोर छ वा बलियो छ, त्यो भने फागुन २१ पछि थाहा हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : १९ बजे

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही र जिम्मेवार उपयोग

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ

एजेन्सी– अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय र महत्वपूर्ण मोडमा पुगेको उल्लेख

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९