पूर्णबहादुरले हात उठाएपछि कस्तो होला सुर्खेत-१ को चुनावी अंकगणित ? « Khabarhub

पूर्णबहादुरले हात उठाएपछि कस्तो होला सुर्खेत-१ को चुनावी अंकगणित ?



काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति बनेका पूर्णबहादुर खड्काले जेन–जी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाले ।

सभापति शेरबहादुर देउवा उपचारमा बसेपछि खड्काले कार्यवाहक सम्हालेकै बेला कांग्रेसको एउटा पंक्तिलाई बढार्ने गरी विशेष महाधिवेशन भयो ।

सभापतिका दौडमा रहेका खड्का अचानक बढारिनुपरेपछि अहिले मौन छन् । सुर्खेतमा कांग्रेसको विरासत थामेका उनी विशेष महाधिवशेनपछि गुमनाम जस्तै छन् । बिहीबार सुर्खेतमा सभापति गगन थापासहित उपस्थित भएर आयोजित चुनावी सभामा पनि उनी गएनन् ।

विशेष महाधिशेवपछि पाखा लागेको अवस्थामा उनी आफैँले सुर्खेत १ मा चुनाव नलड्ने घोषणा गरे । विशेष महाधिवेशनयता कांग्रेसका कुनै कार्यक्रममा नदेखिएका उनी गृहजिल्लामै भएको कर्णाली प्रदेशस्तरीय चुनावी सभामै गएनन् । जबकि सुर्खेत १ मा सभापति गगनले उनकै भाइलाई टिकट दिएका छन् ।

प्रतिस्पर्धा

फागुन २१ गते हुने निर्वाचन कांग्रेसबाट खड्काका भाइ तथा प्रदेश उपसभापति विष्णु खड्काले त्यहाँ प्रतिस्पर्धा गर्दैछन् । जहाँ ०७४ मा खड्कालाई हराएका एमालेका बलिया दाबेदार ध्रुबबहादुर शाहीसहित १३ जना मैदानमा छन् ।

नेकपाका जीतबहादुर राना, रास्वपा उम्मेदवार टेकबहादुर सिंहसमेत उनीहरुका मुख्य प्रतिस्पर्धी हुन् । यस्तै, राप्रपा केन्द्रीय सदस्यसमेत रहेका जेन–जी युवा २८ वर्षीय रवि हमाल ठकुरी ‘किरण’ ले समेत टक्कर दिइरहेका छन् ।

राना १० वर्षे माओवादी संघर्षमा सक्रिय रहेका नेता हुन् । सिंह कांग्रेसनिकट नेपाल विद्यार्थी संघबाटै उदाएका नेता हुन् । विगतमा खड्कालाई जिताउन सघाएका उनले अहिले खड्काका भाइलाई टक्कर दिँदै छन् । उनी ०८२ मंसिरमा रास्वपामा प्रवेश गरेका थिए ।

लामोसमय कांग्रेसमा संघर्ष गर्दा स्थान नपाएपछि रास्वपाबाट सांसद बन्न होमिएका उनले कृषकका समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।

‘सर्वसुलभ सेवा, समयमै सिँचाइ र मल–बीउ उपलब्ध हुनुपर्छ । फलफूलका पकेट क्षेत्र र चिया बगान विस्तार गर्न सकिन्छ । खाली जमिन उपयोग गरी बजार सुनिश्चित गरिए रोजगारी बढ्छ, देश निर्माण हुन्छ,’ उनले भने ।

यस्तै, राप्रपा उम्मेदवार हमालले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मत आफ्नो पोल्टोमा पार्ने आधार बनाएका छन् ।

‘जनताको शीर कहिल्यै ननिहुरिने गरी काम गर्छु,’ हमालले भने, ‘जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो,’।

उम्मेदवार हमालले धर्म–संस्कृति संरक्षणसँगै कर्णाली क्षेत्रको विकास, सुशासन र पहिचानका विषयमा काम गर्ने प्रतिबद्धता जनाए ।

जेन–जीसहित विभिन्न आन्दोलनमा सहभागी उनी आमसञ्चारमा स्नातक तथा राजनीति शास्त्रमा स्नातकोत्तर हुन् । तर उनी कांग्रेस, नयाँ शक्ति लगायतबाट राप्रपामा पुगेका छन् । जसकारण उनलाई अस्थिर नेता मानिएको छ ।

एमालेका शाहीले सुर्खेतमा हुनेजति विकास नभएकाले आगामी दिनमा विकास र समृद्धिको सपना पूरा गर्न पहल गर्ने जनाएका छन् । कांग्रेसका उम्मेदवार खड्काले विगतमा पार्टीले अगाडि बढाएका योजना पूरा गर्दै नयाँ सम्भावना खोज्ने वाचासहित मत मागिरहेका छन् ।

यस्तै नेकपा उम्मेदवार रानाले गठबन्धनकै कारण ०७४ मा एमाले र ०७९ मा कांग्रेसलाई भोट माग्नुपरेको दिक्क मान्दै उनले यसपटक मत फेर्ने बताए ।

‘एमाले–कांग्रेसको काँध हामीले यसअघि थाम्यौं, यो पटक जनताले हामीलाई विश्वास गर्नेछन् । यदि उनीहरूले जनभावना अनुसार काम गरेको भए विद्रोहको अवस्था आउने नै थिएन,’ उनले भने ।

जितको आधारबारे थप्दै उनी भनछन्, ‘मेरो जितको पहिलो आधा पार्टी पुनर्गठनपछि कार्यकर्तामा आएको ऊर्जा, दोस्रो, स्पष्ट राजनीतिक एजेन्डा र विकासको ठोस कार्ययोजना हो भने, तेस्रो कांग्रेस–एमाले चरम अन्तरद्वन्द्व र गुटबन्दी ।’

उनीहरूको एकता भित्रभित्रै कमजोर भइसकेकाले मतदाताले अब पुरानो रटानलाई पत्याउने अवस्था नरहेको उनको दाबी छ ।

यस क्षेत्रमा १ लाख २२ हजार मतदाता र ५४ वटा वडा छन् । जहाँ कांग्रेसको ३५ हजार ८५६, एमालेले ३३ हजार ९०५, नेकपा (माओवादी केन्द्र) ५ हजार ५ र स्वतन्त्र उम्मेदवारहरूले १ हजार २७९ मत छ ।

खड्काको राजनीतिक यात्रा

अर्थशास्त्रमा स्नातकोत्तर गरेका खड्का ०३१ सालबाट राजनीतिमा आएका थिए । उनी २४ वर्षको उमेरमा ०३४ सालमा कांग्रेस सुर्खेत जिल्ला सभापति भए ।
२०३७ सालको जनमत संग्रहमा बहुदल हारेपछि उनले त्यही वर्षको पञ्चायती चुनावमा वीरेन्द्रनगर नगरपञ्चायतको प्रधानपञ्च जिते । तर निर्दलीय व्यवस्था स्वीकार्न नमानेपछि ६ महिनामै पदबाट हटाइए ।

पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा करिब ५ महिना जेलमा बिताएका खड्का बहुदलपछि कांग्रेसभित्रको राजनीतिमा कृष्णप्रसाद भट्टराईनिकट थिए ।

कांग्रेसको १० औँ महाधिवेशनसम्म मध्यपश्चिमबाट एकमात्रै केन्द्रीय सदस्य हुने व्यवस्थाका बेला उनी सुशील कोइरालासँग पराजित भए । पार्टी फुटेर प्रजातान्त्रिक कांग्रेस बनेपछि केन्द्रीय सदस्य भए । १३ औँ महाधिवेशनमा महामन्त्री बनेका उनी १४ औँ महाधिवेशनमा उपसभापति भए । त्यससँगै खड्का कर्णालीबाट कांग्रेस पदाधिकारी बन्ने एक्ला नेता भए ।

देउवाका विश्वासपात्र उनी बहुदल पुनःस्थापनापछि ०४८, ०५१ र ०५६ को आमनिर्वाचनमा सुर्खेत–१ बाट जितेर उपप्रधानमन्त्रीसमेत बने ।

नेकपा (माओवादी) को लहर चलेको ०६४ मा खड्काले समानुपातिकको बाटो रोजे । त्यस समय त्यहाँबाट एमालेकी कमला शर्मा निर्वाचित भइन् । ०७० सालमा फेरि खड्का प्रत्यक्ष जितेरै सदनमा पुगे ।

नयाँ संविधान जारी भएपछि भएको पहिलो निर्वाचन ०७४ मा उनी एमालेका धु्रवकुमार शाहीसँग पराजित भए । शाहीले खड्कालाई ३ हजार ३८२ मतले पराजित गरेका थिए । खड्काले ३३ हजार ३७७ मत पाएका थिए ।

०७९ मा खड्का पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा एकल बलमा उभिएको एमालेका उनै शाहीलाई हराउँदै संसदमा आए । सुर्खेत–१ बाट पाँचौँ पटक विजयी हुँदा खड्काले ११ हजार ६ सय १९ मतान्तरसहित जित हात पारे ।

उपसभापति खड्काले ४२ हजार ६०७ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे ।

सुर्खेत–१ बाट एकपटक हार व्यहोरेका खड्का ०५५ वैशाख देखि ०५५ भदौसम्म युवा, खेलकुद तथा संस्कृति र जनसंख्या तथा वातावरण मन्त्री भएका थिए ।

०५५ पुस १० देखि ०५६ जेठ १६ सम्म उनी वाणिज्य, युवा तथा खेलकुद तथा संस्कृति मन्त्री, ०५६ जेठ १७ देखि ०५६ असार १५ गतेसम्म सूचना तथा सञ्चार र उद्योग मन्त्री ०५६ असार १६ देखि ०५६ चैत ७ गतेसम्म गृहमन्त्री भएका थिए ।

०५८ कात्तिक २ देखि ०५९ असोज २५ गतेसम्म उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र २०६१ असार २१ देखि २०६१ माघ १९ गतेसम्म पुनः गृहमन्त्री थिए । यस्तै प्रचण्ड प्रधानमन्त्री हुँदा ०८० मा उनी पुनः उपप्रधान तथा रक्षामन्त्री बनेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ८ : ०७ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन