म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुद पूर्वाधार निर्माणसम्बन्धी छ करोड २२ लाख बजेट विनियोजन भएका आठवटा योजना सञ्चालन र दुईवटा ठेक्का सम्झौताको चरणमा रहेका छन् ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले एक करोड ८० लाख बजेट विनियोजन भएको बेनी–पुलाचौर–टोड्के सडक योजनाको २० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । यो बेनी नपाले चालु आवमा सञ्चालन गरेको सबैभन्दा बढी बजेट विनियोजन भएको आयोजना हो ।
‘रिभर एज इन्जिनियरिङ एन्ड बिल्डर्स’ प्रालिले रु एक करोड २१ लाख ५१ हजार २०० मा ठेक्का सम्झौता गरेको बेनी–पुलाचौर–टोड्के सडक योजनामार्फत बेनी नगरपालिका–५ पुलाचौर क्षेत्रमा सडक विस्तार, नाली, पर्खाल निर्माण र ढलान गर्ने लक्ष्य रहेको छ ।
त्यसैगरी एक करोड ६५ लाख बजेट विनियोजन भएको बेनी–महारानीथान–छाप–डाँडाखेत सडक स्तरोन्नति योजनाको ४० प्रतिशत भौतिक प्रगति भएको छ । शङ्कर निर्माण सेवाले एक करोड १३ लाख दुई हजार ४४५ मा ठेक्का सम्झौता गरेको आयोजनामार्फत बेनपा–६ र ७ मा पर्ने अग्निखेत क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।
रु ६६ लाख बजेट विनियोजन भएको र ‘रिभर एज इन्जिनियरिङ एन्ड बिल्डर्स’ प्रालिले ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको बेनपा–९ को गलेश्वर बजार सौन्दर्यकरण परियोजनाको ४५ प्रतिशत भौतिक प्रगति भएको छ । लिमिसा कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले रु ४२ लाख ४५ हजार ४५५ मा ठेक्का सम्झौता गरेको बेनपा–८ कालीपुलको कृषि बजार भवन निर्माण योजनाको प्रारम्भिक चरणको काम सुरु भएको छ ।
४० लाख बजेट विनियोजन भएको बेनी खुलामञ्च खेलमैदान स्तरोन्नति योजनाको रु २७ लाख ३० हजार ७२९ मा ठेक्का सम्झौता गरेको न्यू बानियाँ निर्माण सेवा र रु २० लाख बजेट विनियोजन भई १५ लाख ४३ हजार ९६७ मा बानियाँ निर्माण सेवाले ठेक्का लिएको गुरुङकोटदेखि सिमधारा–पैयारुख सडक स्तरोन्नति योजना सुरु भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।
सोमरस निर्माण सेवाले ठेक्का लिएको बेनी नगरपालिका–६ र १० को वडा कार्यालय भवन निर्माणसम्बन्धी छुट्टाछुट्टै योजना पनि निर्माण सुरु भएको छ । १५ लाख बजेट विनियोजन भएको ६ नम्बर वडाको भवन बनाउन १३ लाख ८२ हजार २२४ र रु १२ लाख बजेटको १० नं वडाको सभाहल बनाउन रु १० लाख ९४ हजार ८४८ मा ठेक्का सम्झौता भएको छ ।
रु ४० लाख बजेट विनियोजन भएको बालम–थामडाँडा–बास्कुना सिँचाइ र रु २४ लाख बजेट विनियोजन भएको डडुवा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणसम्बन्धी योजना ठेक्का सम्झौताको चरणमा रहेको नगरपालिकाका सूचना अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत युवराज थापाले बताए।
दशवटा वडा रहेका बेनी नगरपालिकाले बजेट विनियोजन गरेका वडास्तरीय ३४६ वटा योजनामध्ये फागुन मसान्तसम्म २४२ वटा सम्झौता भएकामा १०५ वटा सम्पन्न भएका छन् । एक सय चारवटा योजना सम्झौताको चरणमा रहेका छन् । बर्खा सुरु नहुँदै नगरस्तरीय गौरवका र वडास्तरीय सबै योजना सम्पन्न गर्ने लक्ष्यसहित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई परिचालन गरिएको नगरप्रमुख सुरत केसीले बताए।
बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरूका लागि यस वर्ष १२ करोड ९२ लाख ४२ हजार बजेट विनियोजन गरेकामा आवको आठ महिनामा रु एक करोड ९० लाख ८७ हजार अथवा १४.७७ प्रतिशत खर्च गरेको छ । पाँच लाखसम्म बजेटका योजना वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको छ।
योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । ‘कोर कटिङ’ विधिबाट उपकरणको सहायतामा ढलान र कालोपत्र भएको सडकको गुणस्तर परीक्षण गरिएको उनले बताए।













प्रतिक्रिया