झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो « Khabarhub

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको आर्थिक लेनदेन झन् गिजोलिएको छ ।

सिटौलाले पैसा लिन बाँकी २३ फिल्मका निर्माता, निर्देशक र कलाकारको सूची बाहिरिएपछि यो लेनदेनको विवादले झन् चर्चा पाएको हो ।

उक्त २३ जनाको सूची बाहिरिनुभन्दा अघिसम्म तीन पक्ष संलग्न छन् । दिनेशका भाइ उमेशले उक्त सूची चलचित्र पत्रकार संघ नेपाललाई उपलब्ध गराएका हुन् । त्यसपछि चलचित्र पत्रकार संघ नेपाल र नेपाल चलचित्र निर्माता संघ जोडिएका छन् ।

पत्रकार संघका अध्यक्ष समीर बलामीका अनुसार उमेशले चैत पहिलो साता उक्त सूची बुझाएका थिए । बलामी भन्छन्, ‘दिनेशजीले पैसा लिन बाँकीहरूको सूची डायरीमा टिप्नुभएको रहेछ । त्यही सूची हामीलाई बुझाउनु भएको हो ।’

यही सूचीबारे थप बुझ्नका लागि पत्रकार संघले निर्माता संघलाई पत्राचार गरेको थियो । अपुष्ट सूची भएकाले समन्वय गरेर तथ्य पत्ता लगाउन उक्त सूची पत्रकार संघले निर्माता संघलाई बुझाएको बलामी बताउँछन् ।

बलामी भन्छन्, ‘त्यो सूची प्रमाण हैन । उहाँले टिपेको कुरा हो । कतिले दिइसकेपछि उहाँले टिप्न बिर्सिएको पनि हुन सक्छ । सम्झौता के थियो हामीलाई थाहा हुने कुरा भएन । दिनेशजीले पैसा पाइसकेका व्यक्तिहरूको नाम पनि त्यो सूचीमा हुनसक्छ ।’

उक्त सूचीमा भएका व्यक्तिहरूले दिनेशलाई पैसा दिएको वा दिन बाँकी रहेको यथेष्ट प्रमाण नरहेको बलामी बताउँछन् ।

निर्माता संघका अध्यक्ष उदय सुब्बा पनि उक्त सूची आर्थिक लेनदेनको प्रमाण नरहेको तर्क गर्छन् । भन्छन्, ‘सूचीलाई प्रमाण कसरी मान्नु ? सूचीमा भएकाले दिइसकेका पनि होलान् । अथवा उनीहरूको समझदारी के थियो सूचीले प्रष्ट पार्दैन ।’

कसरी बाहिरियो कच्चा सूची ?

त्यो सूचीले आर्थिक लेनदेन रहेको अर्थ जनाउने र प्रमाण नजनाउने भएकाले बाहिर निस्कन नहुने अध्यक्ष समीर बलामीको बुझाइ छ ।

उनी भन्छन्, ‘त्यो सूचीबारे त पहिला छानबिन हुनुपर्छ । सम्बन्धित पक्षसँग सोधपुछ हुनुपर्छ । यो त डायरीमा भेटिएको सूची न हो । हामीले त छानबिन गर है, यो सूचीमा रहेका मध्ये कसैले दिन बाँकी रहेछ भने उपलब्ध गराउ भनेर निर्माता संघलाई बुझाएको हो ।’

अन्तिम प्रमाण जसरी कच्चा सूची बाहिरीएकामा बलामीले खेद प्रकट गरे । संघले आजै विज्ञप्तिमार्फत खण्डन गर्ने उनले बताए ।

यो सूची निर्माता संघबाटै बाहिरिएको हुन सक्ने बलामीको आरोप छ । उनी भन्छन्, ‘निर्माता संघका पदाधिकारीको हस्ताक्षर सूची बाहिरिएको छ । यो हाम्रोतर्फबाट बाहिरिएको होइन ।’

यता निर्माता संघका अध्यक्ष उदय सुब्बा पत्रकार संघबाट बाहिरिएको आरोप लगाउँछन् । भन्छन्, ‘त्यो सूचीले पैसा दिनुपर्ने र नदिनुपर्ने कुनै प्रमाण दिँदैनन । अनि निर्माताकै बेइज्जत हुने काम हामी किन गर्छौं ?’

समीर बलामि (दायाँ) र उदय सुब्बा (बायाँ)

मेकरको उछितो काढ्न सुरु

सूची बाहिरिएपछि त्यहाँ नाम समेटिएका मेकरहरूलाई सामाजिक सञ्जालमा खुइल्याउने र प्रहार गर्ने धेरै देखिएका छन् ।

‘उक्त सूचीमा समावेश सबैले पैसा दिएकै छैनन्’ भन्ने मनसायले सम्बन्धित व्यक्तिमाथि गाली बेइज्जती गर्ने काम भएको छ ।

जबकी निर्माता संघ सूचीकै आधारमा सम्बन्धित व्यक्तिहरूलाई बोलाएर छलफल गर्न समेत नैतिक रुपमा संकटमा छ ।

अध्यक्ष सुब्बा भन्छन्, ‘हामी कसरी उहाँहरूलाई पैसा दिन बाँकी रहेछ हो ? भनेर सोध्नु । प्रमाण केही छैन । उहाँहरूलाई बोलाउन त केही आधार त चाहियो नि ।’

यो सूची बाहिरिएपछि केही निर्माता आश्चर्यमा पर्दै आपत्ति जनाउन फोन सम्पर्कमा आएकोसमेत सुब्बाले सुनाए ।

उनले भने, ‘निर्माता चुम्बनजंग शाहीले फोन गर्नुभएको थियो । उहाँले मैले दिनेशसँग काम नै गरेको छैन कसरी पैसा दिन बाँकी भयो भन्नुभयो ।’

त्यस्तै, निर्माता तथा निर्देशक सन्तोष सेनले दिनेशसँग कुनै आर्थिक लेनदेन बाँकी नरहेको प्रष्ट पार्न बैंक स्टेटमेन्ट सार्वजनिक गरेका छन् ।

सन्तोषको फिल्म ‘बलिदान’बाट दिनेशले पाँच लाख लिन बाँकी रहेको उक्त सूचीमा देखिन्छ । ‘बलिदान’मा दिनेशसँग व्यवसायिक सहकार्य नभएको सन्तोषको दाबी छ ।

उनले लेखेका छन्, ‘हलमा आएर मनोबल बढाउन सहयोग गरेकाले ३० हजार दिएको हुँ ।’

‘गुलाबी’ फिल्मकी निर्देशक समुन्द्र भट्टले आर्थिक कारोबार चुक्ता भएको प्रमाण स्वरुप ५० हजार दिनेशको खातामा हालिदिएको स्टेटमेन्ट सार्वजनिक गरेकी छन् । उक्त सूचीमा दिनेशको नाममा ५० हजारकै कारोबार छ ।

‘ऐंचोपैँचो’की निर्देशक कृषा चौलागाईंले पनि कारोबार चुक्ता गरेको स्पष्टीकरण दिँदै सूचीप्रति आपत्ति जनाएकी छन् ।

यसरी स्पष्टीकरण र खण्डन दिन अरु पनि छन् ।

कच्चा र अपुष्ट सूचीका आधारमा सेलिब्रेटीको उछितो काढ्ने कार्य भइसकेको छ, अझ प्रमाण नै नभेटिएको अवस्थामा ।

उक्त सूचीमा भुवन केसी, विराज भट्ट, ऋषि धमला, सीताराम कट्टेल, हेमराज बीसी र मिलन चाम्सलगायत छन् ।

दिनेशले मेकरबाट पैसा लिएर विज्ञापनबापत मिडियालाई पैसा दिँदै आएका थिए । निर्माताले पैसा नदिएको भन्दै उनले पनि पत्रकारलाई पैसा नदिएको तथ्य पनि बाहिरिएको छ ।

केही पत्रकारले विज्ञापनको पैसा नदिएको कुरा सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।

यो सूचीले मृत्युपछि पनि दिनेशको आर्थिक कारोबार झन् गिजोलेको छ । केही बदनाम भएका छन् ।

तर, नदिएकाहरूले पैसा दिनु नैतिक, इमानदारी र इमानसँग पनि जोडिने विषय हो ।

कच्चा सूची बाहिर ल्याए मानमर्दन भएको खण्डमा यसको जिम्मेवार को ? निर्माता संघ कि पत्रकार संघ ?

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  २ : ११ बजे

वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग

काठमाडौं– स्वदेशी फलफूलमा आधारित वाइन उद्योग जोगाउन सरकारसँग विशेष कर

ठूलो ब्यानरको नोटिसमा सनिशा, ‘छ माया छपक्कै २’ गर्दै

काठमाडौं – टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै ठूलो पर्दामा

बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो

काठमाडौं– शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको

भीष्मराजको राजनीतिक यात्रा : विद्यालयमा पढ्दैदेखि थालेका थिए पञ्चचायतविरोधी संघर्ष

काठमाडौं– नेपाली कांग्रेस स्थापनाको ८० वर्षको इतिहासमा पहिलो पटक जनजाति

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन– वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी