गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान « Khabarhub

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

विज्ञ भन्छन्– ‘नियमन नगर्ने हो भने घरघरबाट अपराध जन्मन्छ’



काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट । महेन्द्रनगरस्थित एक होटलको सोफामा बसेका चार युवा हुक्का र मदिरा खाइरहेका हुन्छन् । उनीहरू आफ्नै धुनमा गफ गर्दै रमाइरहेका थिए । त्यत्तिकैमा अचानक कपाल लामो भएको युवक आउँछन् र सोफामा सबैभन्दा छेउमा बस्नेलाई प्रहार गर्छन् । लगत्तै अरू तीन युवा होटल प्रवेश गरेर आक्रमण गर्छन् ।

सोफामा भएका चारै जनाले प्रहार गर्न आउने युवकलाई नै उल्टो रामधुलाई गर्छन् । सुरुमा प्रहार गर्ने लामो कपालवालालाई मरणासन्न हुने गरी कुटिन्छ । मोटरसाइकलको हेलमेटले एकअर्कालाई प्रहार गर्छन् । होटलमा जे भेटिएको छ, त्यसैले अन्धाधुन्ध हानेका छन् । करिब ६ मिनेट चलेको उक्त फाइट साउथ इन्डियन फिल्मको फाइट सिनभन्दा कम थिएन ।

त्यस्तै, वैशाख ८ गते कञ्चनपुर, पुनर्वास नगरपालिका–५ भानुबस्तीमा बिहेको रमाइलो वातावरण एकाएक युद्धभूमिमा परिणत भयो । बेहुली र बेहुला पक्षबीच विवाद हुँदा १८ वर्षीय उज्ज्वल सायरमाथि धारिलो हतियार प्रहार भयो । गम्भीर घाइते सायरलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरियो ।

तर उपचारकै क्रममा उनको ज्यान गयो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ ।

अर्को, वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा साथी–साथीबीच भएको विवादले गम्भीर रूप लिँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गयो । गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेलाई दिउँसो साढे २ बजेको समयमा आफ्नै साथीले हतियार प्रहार गरेका थिए ।

हतियार प्रहारपछि घिमिरे भुइँमै ढलेका थिए । अस्पताल पुर्‍याउँदा–पुर्‍याउँदै उनको मृत्यु भइसकेको थियो । उक्त घटना सीसी क्यामरामा कैद भएको थियो । सीसी क्यामरा फुटेजमा ६ जनाको समूह देखिन्छ ।

हतियार प्रहारपछि घिमिरे भुइँमै ढलेका थिए । अस्पताल पुर्‍याउँदा–पुर्‍याउँदै उनको मृत्यु भइसकेको थियो । उक्त घटना सीसी क्यामरामा कैद भएको थियो । सीसी क्यामरा फुटेजमा ६ जनाको समूह देखिन्छ । तीमध्ये एक जना विपिनको हत्या हुन्छ । प्रहरीका अनुसार अभियुक्त केही दिनअघि मात्रै हिरासतबाट छुटेका हुन् । घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको थियो ।

त्यस्तै अछामका २५ वर्षीय महेन्द्र शाह, कैलालीका २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै २२ वर्षीय रोशन विष्ट पक्राउ परेका छन्।

माथिका प्रतिनिधि अपराधका घटनाले पछिल्लो समय मानिस स–सानो विवादमै ठूलो अपराधमा उत्रिएको देखिन्छ । कहिले प्रेम सम्बन्ध, कहिले समूहगत झगडा, कहिले रिसइबी जस्ता सानो विवादकै कारण मानिसले ज्यान गुमाइरहेका छन् । विशेषगरी युवापुस्तामाझ देखिएको आवेग, असहिष्णुता र हिंसात्मक व्यवहारले समाजलाई गम्भीर प्रश्नको सामना गराइरहेको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा ३ हजार ५ सय २ जनाको हत्या (कर्तव्यज्यान) भएको छ । त्यसमा कुल पुरुष १ हजार ९४०, महिला १ हजार १६७, बालक २११ र बालिका १४२ जना रहेका छन् ।

त्यसैगरी २०७७/७८ सालमा ७०७, ०७८/०७९ मा ६८४, ०७९/०८० मा ५२२, ०८०/०८१ मा ६३८, ०८१/०८२ मा ५२२ र ०८२/०८३ वैशाखसम्ममा ४२९ जनाको हत्या भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले सामाजिक सञ्जालमा आक्रामक देखिने चाहना, ग्याङ संस्कृतिको प्रभाव र लागूऔषधको दुरुपयोगका कारण अपराध बढाउन भूमिका खेलेको बताउँछन् ।

उनी भन्छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग र आवेग नियन्त्रण गर्न नसक्नु अपराध बढ्नुको मुख्य कारण हुन् । अधिकांश जघन्य अपराध तथा हत्या पूर्वनियोजित भन्दा पनि क्षणिक आवेग, व्यक्तिगत विवाद, पारिवारिक समस्या र मानसिक तनावका कारण हुने गरेका छन् ।’

अर्कोतर्फ, परिवारभित्र संवादको कमी, नैतिक शिक्षाको कमजोर अवस्था र समुदायबीच घट्दो सामाजिक सम्बन्धले पनि मानिसलाई संवेदनहीन बनाउँदै लगेको उनको भनाइ छ । ‘पहिले समाजमा झगडा छुट्याउने संस्कार बलियो थियो । अहिले धेरै मानिस घटनास्थलमै भिडियो खिच्न व्यस्त हुने प्रवृत्ति बढेको छ । यसले समाजमा मानवीय संकट बढ्दै गएको सङ्केत गर्छ,’ प्रवक्ताले भने ।

साथै उनले यस्ता अपराध रोक्न परिवार, समाज र सरकार सबैको सहकार्यविना सम्भव नहुने बताए ।

पाँच वर्षमा हरेक घरमा अपराधीको जन्म हुन्छ : मनोविद्

मनोविद् खीमा रिजालले सामाजिक सञ्जाल नियमन नगर्ने हो भने अबको पाँच वर्षमा हरेक घरमा अपराधीको जन्म हुने डरलाग्दो अभिव्यक्ति दिएकी छिन् । मानसिक स्वास्थ्यको बारेमा लामो समय काम गर्दै आएकी रिजालको अनुभवले सञ्जालबाटै मानिसले अपराधको नयाँ–नयाँ शैली सिक्ने गरेको बताउँछिन् ।

खबरहबसँगको कुराकानीमा उनले सञ्जालले अरूको विलासी जीवनशैलीको नक्कल गर्ने प्रवृत्ति बढाएको आरोप लगाएकी छिन् । भन्छिन्, ‘अरूले लगाएको जस्तो लुगा, मोबाइल, सवारीलगायत सबै चिज प्राप्त गर्ने चाहना राख्ने । अभिभावकको आर्थिक अवस्था जस्तोसुकै होस् तर माग गर्ने । साथीको छ अथवा त्यसको छ, मेरो किन छैन ? विनामिहिनेत लक्जरी जीवन चाहिएको छ । त्यसका लागि जुनसुकै खराबभन्दा खराब बाटो हिँड्न तयार देखिन्छन् ।’

मनोविद् खीमा रिजालले सामाजिक सञ्जाल नियमन नगर्ने हो भने अबको पाँच वर्षमा हरेक घरमा अपराधीको जन्म हुने डरलाग्दो अभिव्यक्ति दिएकी छिन् ।

अर्को, परम्परागत खानपान र जीवनशैली परिवर्तनले पनि असर गरेको छ । सात्त्विक भोजन थियो, अहिले सबै प्रशोधित खाइरहेका हुन्छौँ । यसले आक्रामक स्वभाव ल्याइरहेको छ, रिजाल थप भन्छिन्, ‘सामाजिक सञ्जालले असामाजिक विषयप्रति जागरूक बनाइरहेको छ । मानिस त्यसमा रमाइरहेका छन् । विकसित मुलुकले बालबालिका र किशोरकिशोरीलाई हेर्न हुने र नहुने विषय बन्देज गरेका छन् । तर हाम्रो देशमा पाँच वर्षको बच्चा र आमाबुबाले हेर्ने विषय एउटै छ ।’

विश्वमा सबैभन्दा ठूलो समस्याका रूपमा मानसिक अवस्था रहेको मनोविद्को भनाइ छ । पीएचडी पढेका व्यक्तिसमेत मानसिक स्वास्थ्यको बारेमा निरक्षर रहेको उनको बुझाइ छ । ‘मानिस कस्तो हुने भन्ने कुरा आमाको गर्भदेखि जन्मेपछि पाएको वातावरणले तय गर्छ । गर्भावस्थामा आमाको सोच, आमाले पाएको हेरचाहलगायत सबै कुराको प्रभाव पर्छ । धूमपान वा मद्यपान गर्ने आमा वा बुबा दुवैको प्रभाव पर्छ । अभिभावकको संवेदनाले असर गर्छ,’ रिजालले भनिन् ।

अपराध न्यूनीकरणको लागि सञ्चारमाध्यम सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने कुरामा रिजाल जोड दिन्छिन् । भन्छिन्, ‘केवल ‘भ्युज’ र ‘ट्रेन्ड’ भन्दा समाजलाई सचेत बनाउने पत्रकारिता आजको आवश्यकता हो । अपराधको समाचार समाजको मनोविज्ञान, संस्कार र सामाजिक संरचनाको ऐना हो । यदि समयमै सचेतना, शिक्षा, मानसिक स्वास्थ्य सहयोग र सामाजिक उत्तरदायित्वमा ध्यान नदिने हो भने यस्ता घटनाले भयावह रूप लिन सक्छ ।’

अपराधलाई सनसनी समाचार बनाउनुभन्दा यसको कारण, समाधान र सामाजिक प्रभावबारे गहिरो बहस सिर्जना गर्न आवश्यक रहेको सुझाव उनको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ९ : ४५ बजे

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी – पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल