काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले ‘उद्यमशाला’ कार्यक्रम सार्वजनिक गर्दै इन्क्युबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनशील सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार कार्यक्रमको उद्देश्य नवप्रवर्तनकारी सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउन आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र परामर्श उपलब्ध गराउनु हो।
काठमाडौंको कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक घोषणा गर्दै आवेदन खुला भएको जानकारी दिए।
उनले लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्दै आएका साझा चुनौतीलाई सम्बोधन गर्न यो प्लेटफर्म तयार गरिएको बताउँदै विषयविज्ञ, अनुभवी व्यवसायी र प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान तथा समस्या समाधानका उपाय प्रदान गरिने बताए।
बैंकले ‘उद्यमशाला’ कार्यक्रमअन्तर्गत दुई चरणमा सहयोग गर्ने जनाएको छ। पहिलो ‘इन्क्युबेसन’ कार्यक्रम नयाँ तथा नवप्रवर्तनकारी व्यवसायिक सोच भएका तर उद्यम कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित हुनेछ। यसअन्तर्गत क्षमता विकास, व्यवसायिक सञ्जाल विस्तार तथा मार्गनिर्देशन प्रदान गरिनेछ।
त्यसैगरी, ‘एक्सीलेरेसन’ कार्यक्रम सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा चुनौती भोगिरहेका उद्यमीका लागि हुनेछ। यसमार्फत क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण तथा सम्बन्धित निकायसँग पहुँच विस्तारमा सहजीकरण गरिने बैंकले जनाएको छ।
कार्यक्रमबाट सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा बैंक तथा वित्तीय संस्थासँग पहुँचका विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा बैंकको छ।
उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल (२०२४, २०२५ र २०२६), युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४ र २०२५), बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको जनाएको छ।
हाल बैंकले देशका ७७ वटै जिल्लामा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।












प्रतिक्रिया