काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व हेपाटाइटिस दिवस’ मनाइँदै आएको छ ।
भाइरल हेपाटाइटिसको जोखिम न्यूनीकरण गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसलाई गोलबद्ध गराउने उद्देश्यका साथ यस वर्ष पनि मनाइँदै छ ।
वर्तमान समयमा भाइरल हेपाटाइटिस विश्वव्यापी रूपमा एक विकराल र खतरनाक स्वास्थ्य समस्या बन्दै गएको छ ।
कलेजो सुन्निनु नै हेपाटाइटिस हो, जसले सीधा मानिसको कलेजोमा असर पुर्याउँछ । हाम्रो शरीरमा कलेजोले दैनिक ५०० भन्दा बढी महत्त्वपूर्ण कार्य गर्ने भएकाले कलेजोको स्वास्थ्य मानव जीवनका लागि आधारभूत मानिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङ्कअनुसार विश्वभर करिब ३२ करोड ५० लाख मानिस भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् ।
कलेजो सुन्निनु नै हेपाटाइटिस हो, जसले सीधा मानिसको कलेजोमा असर पुर्याउँछ । हाम्रो शरीरमा कलेजोले दैनिक ५०० भन्दा बढी महत्त्वपूर्ण कार्य गर्ने भएकाले कलेजोको स्वास्थ्य मानव जीवनका लागि आधारभूत मानिन्छ ।
यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जनालाई आफूलाई हेपाटाइटिस भएको जानकारी नै हुँदैन । हेपाटाइटिस ‘बी’ का ९० प्रतिशत र ‘सी’ का ८० प्रतिशत बिरामी रोगबारे अनभिज्ञ रहने र नजानेरै अरूमा सार्ने गरेकाले यसलाई ‘मौन महामारी’ पनि भनिन्छ ।
एचआईभी/एड्स, औलो र क्षयरोगजस्तै यो रोग पनि मानिसको ज्यान लिने भयानक रोग बनेको छ । हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष विश्वभर करिब १३ लाख मानिसको मृत्यु हुने गर्दछ ।
कलेजोको क्यान्सर हुनुमा यस रोगका भाइरसको मुख्य योगदान रहने चिकित्सक बताउँछन् ।
कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेलका अनुसार मुख्यतया हेपाटाइटिस पाँच प्रकारका हुन्छन् : ए, बी, सी, डी र ई । यी पाँचै प्रकारका हेपाटाइटिस घातक मानिन्छन् ।
विशेष गरी लागूपदार्थ दुर्व्यसनी, एचआईभी सङ्क्रमित, प्रवासी, बालबालिका र सीमान्तकृत समुदायमा यो रोगको प्रभाव बढी देखिने गरेको छ ।
लक्षण
कुनै पनि हेपाटाइटिसको सुरुआती लक्षण पेट दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, जन्डिस हुने र वाकवाकी लाग्ने हुन्छ ।
यस्ता लक्षण केही समयमै निको भए भने ‘ए’ र ‘ई’ को सङ्क्रमण हुन सक्ने डा. पौडेलको भनाइ छ । त्यस्तै हेपाटाइटिस ‘बी’ को सङ्क्रमण हुँदा यस्ता केही ‘एक्युट इन्फेक्सन’ हुन्छन् भने ती लक्षण लामो समयसम्म भइरहन्छन्, जसलाई ‘क्रोनिक इन्फेक्सन’ भनिन्छ ।
कुनै पनि हेपाटाइटिसको सुरुआती लक्षण पेट दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, जन्डिस हुने र वाकवाकी लाग्ने हुन्छ ।
“हेपाटाइटिस ‘सी’ मा पनि त्यस्तै लक्षण देखिन्छन् र लामो समयसम्म ती लक्षण दोहोरिए भने ‘क्रोनिक इन्फेक्सन’ हुने सम्भावना हुन्छ र त्यसपछि लक्षणहरू खासै देखिँदैनन्,” डा. पौडेल भन्छन्, “तर बिस्तारै कलेजोलाई क्षति पुर्याइरहेको हुन्छ, बिरामीलाई थाहा हुँदैन । कलेजोमा क्यान्सर या ‘सिरोसिस’ भयो र पूर्ण रूपमा क्षति पुगेपछि मात्रै बिरामीले थाहा पाउँछन् ।”
अहिले कलेजोको समस्या लिएर आउने धेरै बिरामीमा यही समस्या हुने गरेको डा. पौडेलको भनाइ छ ।
रोकथाम तथा उपचार
छोटो खालको ‘इन्फेक्सन’ गराउने हेपाटाइटिस ‘ए’ र ‘ई’ खराब खालको खानपिन तथा दूषित पानीबाट सर्छ ।
पानी उमालेर खाने, सडक छेउमा पाइने जथाभाबी खानेकुरा नखाने, खाना खानुअघि साबुनपानीले हात धुनेलगायतका सावधानी अपनाउनुपर्ने डा. पौडेलको भनाइ छ ।
त्यस्तै नेपालमा धेरै देखिने हेपाटाइटिस ‘बी’ र ‘ए’ का लागि ‘भ्याक्सिन’ उपलब्ध छ भने यो भ्याक्सिन लगाउँदा यसको सङ्क्रमणबाट बच्ने सम्भावना एकदमै धेरै हुने डा. पौडेल बताउँछन् ।
सबैभन्दा घातक मानिने हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट बच्नका लागि रगत चढाउनुपर्दा राम्रोसँग जाँच गरेर चढाउने र सिरिन्जको प्रयोगमा ध्यान दिनुपर्छ ।
हेपाटाइटिस ‘सी’ मुख्यगरी ‘डायालासिस’ गराइरहेका बिरामीलाई बढी सर्ने देखिएकाले ‘डायालासिस’ जस्तै रगतको प्रयोग गरी उपचार गर्नुपर्दा रगतको जाँच तथा स्क्रिनिङ गराएर मात्रै उपचार गर्ने र असुरक्षित यौनसम्पर्कबाट बच्नेलगायतका कुरामा ध्यान दिए रोगको रोकथाम गर्न सकिने डा. पौडेल बताउँछन् ।
सबैभन्दा घातक मानिने हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट बच्नका लागि रगत चढाउनुपर्दा राम्रोसँग जाँच गरेर चढाउने र सिरिन्जको प्रयोगमा ध्यान दिनुपर्छ ।
डा. पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमण करिब ९९ प्रतिशत बिरामीलाई आफैँ निको भएर जान्छ भने ‘सी’ का लागि १२ हप्तासम्म लगातार औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ ।
हेपाटाइटिस ‘बी’ पूर्ण रूपमा निको नभए पनि यसले कलेजोमा गराउने जोखिमलाई कम गर्ने औषधीहरू रहेको डा. पौडेल बताउँछन् ।
“यो औषधी सबै बिरामीलाई त खुवाइँदैन, तर हेपाटाइटिस ‘बी’ कै कारण उसको कलेजो सुन्निएको छ, चोट लागेको छ भने त्यस्ता बिरामीलाई हेपाटाइटिस ‘बी’ को औषधी दिइन्छ,” डा. पौडेलले भने, “परिवारमा कसैलाई यो रोग देखियो भने ‘भ्याक्सिन’ लगाउँदा अरूलाई सर्न पाउँदैन । जस्तै श्रीमान्लाई हेपाटाइटिस ‘बी’ छ भने श्रीमतीले पनि भ्याक्सिन लगाउनुपर्छ ।”
हेपाटाइटिसका कारण कलेजो सुन्निएको छ भने समयमै औषधी खाँदा भोलि गएर क्यान्सर र ‘सिरोसिस’ हुने जोखिम कम गर्न सकिने डा. पौडेलले बताए ।












प्रतिक्रिया