अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी « Khabarhub

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण र द्वन्द्व रोकिएपछि दुवै पक्षलाई पुनः कूटनीतिक वार्ताको टेबुलमा फर्काउन मध्यस्थकर्ता सक्रिय भएका छन् । पछिल्लो समय चर्किएको तनावबीच आक्रमण थामिएपछि कूटनीतिक निकासको आशा जागेको हो ।

गोप्य वार्तामा संलग्न मध्यपूर्वका अधिकारीका अनुसार कतार र पाकिस्तानको नेतृत्वमा मध्यस्थकर्ता वासिङ्टन र तेहरानबीचको दूरी घटाउन निरन्तर प्रयास गरिरहेका छन् । वासिङ्टनबाट आएका केही अभिव्यक्ति र करिब दुई हप्ताअघि अचानक सुरु भएको तनावपछि अमेरिकी प्रहार रोकिएकाले पनि मध्यस्थताको प्रयास अघि बढेको पुष्टि हुन्छ ।

इरानले भने वार्ताको सम्भावनालाई खासै महत्त्व दिएको छैन । साउदी अरेबिया, जोर्डन र इराकमा इरानद्वारा भएका ड्रोन आक्रमणले अवस्था अझै संवेदनशील रहेको देखाउँछन् । तेहरान वा इरान समर्थित सशस्त्र समूहहरूले अमेरिकाको नयाँ रणनीतिलाई परीक्षण गर्न खोजेको विश्लेषण गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना प्रतिनिधिमार्फत र प्रत्यक्ष रूपमा पनि भेटघाटका लागि अनुरोध गरेको दाबी गरेका छन् । “हामी अहिले इरानसँग कुराकानी गरिरहेका छौँ र कुराकानी सकारात्मक भइरहेको छ,” ‘एयर फोर्स वान’ विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने । तर, उनले सम्झौता हुन नसके कडा कदम चाल्ने चेतावनी पनि दोहोर्‍याएका छन् ।

अर्कातिर, इरानी विदेश मन्त्रालयका प्रवक्ताले भने तेहरानले शान्ति वार्ता पुनः सुरु गर्न कुनै अनुरोध नगरेको स्पष्ट पारेका छन् । मध्यस्थकर्ताहरूले अमेरिकी पक्षका सन्देशहरू पुर्‍याएको भए पनि अमेरिकासाग कुनै प्रत्यक्ष वार्ता नभएको उनको भनाइ छ ।

विश्वव्यापी इन्धन आपूर्तिका लागि रणनीतिक मानिने हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूमाथि इरानले गोलीहानेपछि सुरु भएको करिब दुई हप्ता लामो सैन्य तनावपछि शनिबारदेखि अमेरिकाले इरानी तटीय क्षेत्र र पूर्वाधारहरूमाथिका आक्रमण स्थगित गरेको थियो ।

जुनको मध्यतिर भएको सहमति भङ्ग भएपछि दुवै देशले यसलाई आ-आफ्नै तरिकाले व्याख्या गर्दै आएका छन् । हर्मुज जलडमरूमध्यको आवतजावत मुख्य विवादको विषय बनेको छ । इरानले जहाजलाई आफ्नो तटको नजिकै तोकिएको मार्गबाट हिँडाउन चाहन्छ भने ओमानको तट नजिकैको दक्षिणी मार्गबाट जाने जहाजहरूमाथि आक्रमण गर्दै आएको छ ।

ओमानले उक्त मार्ग प्रयोग गरेबापत स्वेच्छिक शुल्क उठाउने संयन्त्रको प्रस्ताव गरेको छ तर इरानले त्यसलाई अनिवार्य बनाउनुपर्ने अडान राखेको छ । दुवै देशबीच केही सहमति नजिक पुगेको भनिए पनि अन्तिम रूप कस्तो हुने भन्नेमा अझै ठूलो मतभेद छ । इरानले जलडमरूमध्यको स्थिति युद्धअघिको जस्तो सामान्य नरहने र शुल्क अनिवार्य उठाउने बताएको छ ।

यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले हर्मुज भएर जाने १७ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको, दुई वटालाई नियन्त्रणमा लिएको र अन्य दुई वटामा खोजी तलासी लिएको जनाएको छ । सहमति भङ्ग भएपछि वासिङ्टनले इरानी तेल बिक्रीमा दिँदै आएको छुट रद्द गर्दै इरानी बन्दरगाहहरूमा जलसेनाद्वारा नाकाबन्दीसमेत लगाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ८ : ३३ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा