रसुवा– बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट उत्तरगया गाउँपालिकासहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा स्थलगतरूपमै रहेका अध्यक्ष अर्यालले विपद्पछि उद्धार, उपचार, शव व्यवस्थापन र राहत वितरणमा राज्यको उपस्थिति प्रभावकारी रूपमा महसुस गर्न नसकिएको गुनासो गरेका छन्।
अर्यालका अनुसार उत्तरगया गाउँपालिका क्षेत्रमा मात्रै ठूलो संख्यामा मानिस बेपत्ता छन्। बाढीको सूचना जारी गर्न खटिएका गाउँपालिकाका चार कर्मचारी अझै बेपत्ता छन् भने सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचान भएपछि अन्त्येष्टि गरिएको उनले बताएका छन्।

कार्यपालिका सदस्य ज्ञानु विक तथा केही शिक्षकहरू पनि सम्पर्कविहीन रहेको उनको भनाइ छ।
बाढीले वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायत क्षेत्रमा अकल्पनीय क्षति पुर्याएको अध्यक्ष अर्यालले बताएका छन्।
उनका अनुसार भूकम्पपछि विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० परिवारसमेत बाढीबाट प्रभावित भएका छन्।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदार पनि ठूलो संख्यामा बेपत्ता रहेको उनले उल्लेख गरेका छन्।
केही मानिस सुरुङभित्र फसेको सूचना आइरहेको उनको भनाइ छ।
गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा निस्किएका यात्रुहरूसमेत सम्पर्कविहीन रहेको र उनीहरूका आफन्तले खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेको अर्यालले बताएका छन्।
‘सडक सम्पर्क पूर्णरूपमा विच्छेद’
बाढीपछि प्रभावित क्षेत्र सडक सम्पर्कबाट पूर्णरूपमा विच्छेद भएको अध्यक्ष अर्यालले बताएका छन्। विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कसमेत प्रभावित हुँदा बेपत्तासँग सम्पर्क गर्न थप कठिनाइ भएको उनको भनाइ छ।
उनका अनुसार टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ। तर मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा भएको क्षति झनै अकल्पनीय रहेको उनले बताएका छन्। ‘घरबारविहीन परिवारका सदस्यहरूको संख्या उल्लेख्य छ,’ अर्यालले भनेका छन्।

‘१० घण्टापछि अस्पताल पुर्याउनुपर्ने अवस्था’
गम्भीर घाइतेहरूको उद्धारमा समेत समस्या भएको अध्यक्ष अर्यालले बताएका छन्। मरणासन्न अवस्थाका घाइतेलाई उद्धार गर्न प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सबै निकायसँग समन्वय गरी हेलिकप्टर माग्दा पनि समयमा सुनुवाइ नभएको उनको गुनासो छ।
उनका अनुसार घाइतेलाई कालिकास्थान र जिवजिवे अस्पताल हुँदै १० घण्टापछि मात्रै धुञ्चे अस्पताल पुर्याउनुपर्ने अवस्था आएको थियो।
अर्यालले नदी किनारमा दर्जनौँ शव देखिएको र परिवारका सदस्यले पहिचान गरेका शवको अन्त्येष्टि गर्न खोज्दा फिल्डमा खटिएका प्रहरीले ‘माथिको आदेश’बिना केही गर्न नसक्ने जवाफ दिएको बताएका छन्।

सुरक्षाकर्मीसमेत ठूलो संख्यामा बेपत्ता
बाढीमा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको अध्यक्ष अर्यालले बताएका छन्। बाँकी रहेका कालिकास्थानका इन्स्पेक्टरसहित करिब पाँच–छ जना प्रहरी खाना र पानीको अभावबीच खटिरहेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार उनीहरूले सामान्य सुरक्षा व्यवस्थाबाहेक अन्य उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने अवस्था छैन।
‘संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा देखिन्छ’
बाढी प्रभावित क्षेत्रमा संघीय सरकारको उपस्थिति प्रभावकारी रूपमा महसुस हुन नसकेको भन्दै अध्यक्ष अर्यालले सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरेर सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोस्ट देखेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ।’
उनले विपद्का केही क्षेत्रमा बाहेक जनताले अनुभूति गर्ने गरी सरकारी काम हुन नसकेको दाबी गरेका छन्।
‘जनताको प्रतिनिधि भएको र भुइँमा नै काम गरिरहेको, स्रोतसाधन र आफ्नो कार्यालयको परिवारका सदस्य तथा सयौँ जनता गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो। यो आफन्त गुमाएका र घरबारविहीनहरूको आवाज पनि हो,’ उनले भनेका छन्।

गृहमन्त्रीको सचिवालयबाट ‘नकारात्मक प्रचार नगर्न’ फोन
बाढीपछिको अवस्थाबारे केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि गृहमन्त्रीको सचिवालयबाट आफूलाई फोन आएको पनि अध्यक्ष अर्यालले खुलाएका छन्।
उनका अनुसार सचिवालयबाट ‘नकारात्मक प्रचार नगरिदिनुहोला, राजनीति नगरिदिनुहोला’ भनिएको थियो।
त्यसको जवाफमा आफूले ‘हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ’ भनेको अर्यालले बताएका छन्।
आफू नेकपा एमालेसँग आबद्ध रहेको र दुईपटक केन्द्रीय सदस्यसमेत भइसकेको उल्लेख गर्दै उनले एमाले नेतृत्वप्रति पनि असन्तुष्टि जनाएका छन्।
उनका अनुसार एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक पार्टीका अन्य नेताले आफ्नो क्षेत्र र अवस्थाबारे खोजी नगरेको गुनासो गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डेलगायत देशभरका नेता तथा सहयोद्धाले भने चासो र चिन्ता व्यक्त गरेको उनले बताएका छन्।
एमालेको आकस्मिक सचिवालय बैठक भएको समाचार सामाजिक सञ्जालमा देखिएको उल्लेख गर्दै उनले बैठक र सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रभावित क्षेत्रमा परिणाम देखिने काम गर्न आग्रह गरेका छन्।
‘परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ। यसले पीडितलाई थप पीडा दिनेछ। के गर्न सकिन्छ, मैदानमा नै जनताले अनुभूति गर्ने गरी गरौँ। नेकपा एमालेको संस्कार र संस्कृति यही हो,’ उनले भनेका छन्।
आफूले यी विषय उठाउनैपर्ने भएकाले धारणा सार्वजनिक गरेको भन्दै यसलाई व्यक्तिगत वा राजनीतिक रूपमा अत्यधिक नकारात्मक रूपमा नबुझ्नसमेत उनले आग्रह गरेका छन्।
अहिले करिब ३५० प्रभावित विद्यालयमा आश्रित
अध्यक्ष अर्यालका अनुसार अहिले उत्तरगया क्षेत्रका करिब ३५० प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ।
कालिका र नौकुण्ड गाउँपालिकाले खाद्यान्नलगायत सामग्री सहयोग गरेका छन्। प्राप्त खाद्यान्नले थप तीन दिनसम्म धान्ने अवस्था रहेको उनले बताएका छन्।
तर प्रभावितहरू विद्यालयको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य छन्। स्थानीय मनकारी परिवारहरूले समेत केही विस्थापितलाई आफ्नै घरमा आश्रय दिएका छन्।
नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि आवश्यक विशेष व्यवस्था गर्न नसकिएको अध्यक्ष अर्यालले बताएका छन्।

शव व्यवस्थापन तत्काल चुनौती
बाढीपछि नदी किनारमा ठूलो संख्यामा शव रहेका कारण अर्को स्वास्थ्य संकटको जोखिम बढेको अध्यक्ष अर्यालको भनाइ छ।
उनका अनुसार नदी किनारमा रहेका पचासौँ शव सड्न थालेपछि गाउँ क्षेत्रमा दुर्गन्ध फैलिएको छ। समयमै शव व्यवस्थापन गर्न नसके संक्रमण फैलिन सक्ने र स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्ने उनले चेतावनी दिएका छन्।
त्यस्तै, बिरामीको संख्या बढ्दै गएको र उनीहरूलाई तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन्।
तिरु क्षेत्र पनि जोखिममा
पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा ठूलो संख्यामा मानिस रहेको सूचना प्राप्त भएको अध्यक्ष अर्यालले बताएका छन्। त्यहाँ खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव रहेको भन्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।
त्रिशूली नदीको वारिपारि फसेका र परिवारका सदस्यबाट छुट्टिएका मानिसलाई समेत उद्धार गरी परिवारसँगै पुनर्मिलन गराउनुपर्ने उनको माग छ।
विभिन्न सहयोगी संघसंस्थाले राहत तथा सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको भन्दै त्यसका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

तथ्यांक संकलन सुरु
बाढीबाट घरबारविहीन भएका, बेपत्ता रहेका, अभिभावकविहीन भएका बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको तथ्यांक संकलन भइरहेको अध्यक्ष अर्यालले बताएका छन्।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयसँग बुधबार साँझ सम्पर्क भएको थियो। प्रमुख जिल्ला अधिकारीले तत्काल गर्नुपर्ने काम बिहीबारदेखि सुरु गर्ने जानकारी दिएको उनले बताएका छन्।
स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरेर राज्यको नजरमा ओझेलमा परेका प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्दै उद्धार, राहत, उपचार, शव व्यवस्थापन र पुनःस्थापनाका काम अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन्।
‘आफन्त गुमाएका र घरबारविहीन जनताले राज्यको उपस्थितिको अनुभूति गर्न पाउनेछन् भन्ने विश्वास लिएको छु,’ अध्यक्ष अर्यालले आफ्नो वक्तव्यमा भनेका छन्।












प्रतिक्रिया