स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान « Khabarhub

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोको अवस्थाबारे चिनियाँ स्याटेलाइटले विस्तृत तस्बिर संकलन गरेको छ।

बुधबार बिहान केरुङ बन्दरगाह क्षेत्रमा गएको पहिरोपछि बिहीबार प्राप्त स्याटेलाइट तस्बिरले पहिरोको सम्भावित स्रोत, बहाव मार्ग र सडक क्षेत्रमा परेको प्रभावबारे प्रारम्भिक जानकारी दिएको हो।

चिनियाँ सञ्चारमाध्यमका अनुसार ऊर्जा इन्जिनियरिङका लागि प्रयोग हुने चीनको पहिलो समर्पित स्याटेलाइट ‘डियानजियान–१’ ले बिहीबार केरुङ बन्दरगाह क्षेत्रको पहिलो चरणको तस्बिर सफलतापूर्वक संकलन गरेको हो।

उक्त तस्बिरले विपद्को क्षति मूल्यांकन तथा उद्धार र राहत कार्यका लागि आवश्यक सूचना उपलब्ध गराउने अपेक्षा गरिएको छ।

तस्बिरमा देखियो पहिरोको सम्भावित मार्ग

उपलब्ध राडार रिमोट सेन्सिङ तस्बिरमा केरुङ बन्दरगाह आसपासको भूभागमा पहिरोको सम्भावित क्षेत्र रातो रेखाले छुट्याइएको देखिन्छ।

तस्बिरको मुख्य भागमा ‘सम्भावित पहिरोको स्रोत’ र ‘सम्भावित मार्ग’ भनेर संकेत गरिएको छ। यसले पहिरो माथिल्लो भेगबाट खस्दै केरुङ बन्दरगाहतर्फ आइपुगेको हुन सक्ने प्रारम्भिक आकलन देखाउँछ।

स्याटेलाइट विश्लेषणमा पहिरोको बहावले प्रयोग हुँदै आएको मार्ग तथा आसपासको भौगोलिक संरचनामा परिवर्तन ल्याएको संकेतसमेत देखिन्छ। तस्बिरको अर्को भागमा जी–२१६ राष्ट्रिय राजमार्गसँग जोडिएको प्रवेश मार्ग देखाइएको छ, जहाँ पहिरोको प्रभाव परेको क्षेत्रलाई छुट्टै चिनाइएको छ।

उद्धारमा स्याटेलाइट तथ्यांक महत्वपूर्ण

विपद्पछि प्रत्यक्ष रूपमा पुग्न कठिन र जोखिमपूर्ण क्षेत्रमा स्याटेलाइटबाट प्राप्त तस्बिरले उद्धार तथा क्षति मूल्यांकनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। विशेषगरी पहिरोको स्रोत, बहावको सम्भावित दिशा, सडकको अवस्था र जोखिममा रहेका क्षेत्रमा तत्काल पहुँच निर्धारण गर्न यस्ता तस्बिर उपयोगी हुन्छन्।

केरुङ क्षेत्रमा थप पहिरो वा बाढीको जोखिम रहेको अवस्थामा स्याटेलाइटबाट नियमित निगरानी गर्दा उद्धार टोलीको सुरक्षित परिचालन र सम्भावित जोखिम क्षेत्र पहिचान गर्न समेत सहयोग पुग्ने देखिन्छ।

उपलब्ध तस्बिरले केरुङ बन्दरगाह आसपासको पहाडी भूभागमा पहिरोको प्रभाव निकै ठूलो रहेको संकेत गरेको छ। चीनले यसैबीच उच्चस्तरीय बैठकमार्फत चिनियाँ तथा विदेशी नागरिकको खोजी र उद्धारलाई तीव्र बनाउन निर्देशन दिइसकेको छ । नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

पहिरोअघि र पछिको अवस्थाको तुलना

उक्त तस्बिरमा पहिरोअघि खिचिएको अप्टिकल तस्बिर र राडार स्याटेलाइट तस्बिरलाई समेत तुलना गरिएको छ। पहिरोपछि भूभागको सतहमा आएको परिवर्तन पहिचान गर्न राडार प्रविधिको प्रयोग गरिएको देखिन्छ।

विशेषगरी मुख्य तस्बिरमा पहिरोको सम्भावित स्रोतबाट केरुङ बन्दरगाहतर्फ जाने बाटो रातो रेखाले देखाइएको छ। यसले पहिरो कुन दिशाबाट बगेको हुन सक्छ भन्ने प्रारम्भिक भौगोलिक संकेत दिएको छ।

चीन सरकारले दिएको विवरणअनुसार बुधबार बिहान केरुङ बन्दरगाह क्षेत्रमा पहिरो र बाढीका कारण बिहीबारसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। ५५८ जना बेपत्ता छन् । दुई स्थानीय बासिन्दालाई उद्धार गरिएको छ।।

बेपत्तामध्ये चिनियाँ नागरिकसँगै विदेशी नागरिकसमेत रहेको बताइएको छ। यही कारण उद्धार तथा खोजी कार्यलाई चीनले उच्च प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १२ : १७ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी