देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस « Khabarhub

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको भोलिपल्ट काठमाडौंको पाँचतारे होटलमा आयोजित एउटा रात्रिभोजको तस्वीर सार्वजनिक भएपछि सरकार र सत्तारुढ दलका नेताहरूको संवेदनशीलतामाथि प्रश्न उठेको छ।

बाढीपहिरोमा सयौँ मानिसको ज्यान गएको, सयौँ बेपत्ता रहेको र ठूलो संख्यामा परिवार विस्थापित भएको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालगायत नेपाली तथा भारतीय पाहुनाहरू रात्रिभोजमा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको हो।

तस्वीर भारतीय राष्ट्रिय कांग्रेसका लोकसभा सदस्य तथा विदेश मामिलाविज्ञ डा. शशि थरूरले सामाजिक सञ्जालमा शुक्रबार सार्वजनिक गरेका थिए। तस्वीरमा थरूरसहित अर्थमन्त्री वाग्ले, सांसद राणा तथा अन्य भारतीय पाहुना सहभागी देखिन्छन्।

यो तस्वीर सार्वजनिक हुनुको समयले नै बहसलाई थप चर्काएको छ। किनकि त्यतिबेला राज्यको ठूलो जनशक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार र बेपत्ताको खोजीमा परिचालित थियो।

पुस्तक विमोचनदेखि ‘इन्डिया–नेपाल डाइलग’सम्म

डा. शशि थरूर काठमाडौं आउनुको मुख्य उद्देश्य उनको चर्चित पुस्तक ‘ह्वाई आई एम अ हिन्दु’को नेपाली अनुवाद विमोचन र नेपाल–भारत सम्बन्धसम्बन्धी कार्यक्रममा सहभागिता थियो।

नेपाल लिटरेचर फेस्टिभलको आयोजनामा बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको नेपाली संस्करण विमोचन गरिएको थियो। पत्रकार स्वेच्छा राउतले अनुवाद गरेको पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।

कार्यक्रममा थरूरले दक्षिण एसियामा बहुलवाद, आस्था र धर्मनिरपेक्ष लोकतन्त्रका विषयमा आफ्ना धारणा राखेका थिए। पुस्तकमा हिन्दू धर्मका विभिन्न दार्शनिक अवधारणादेखि हिन्दुत्वको उदय र त्यसको आधुनिक राजनीतिक प्रभावसम्मको विश्लेषण गरिएको छ।

त्यसपछि बिहीबार थरूर काठमाडौंको याक एन्ड यती होटलमा भारतीय सञ्चार संस्था एनडीटीभीले आयोजना गरेको ‘द इन्डिया–नेपाल डाइलग’ मा सहभागी भए।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापादेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्म विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता थियो।

कार्यक्रम सकेर थरूर शुक्रबार बिहान भारत फर्किएका छन्। उनी एअर इन्डियाको उडान नम्बर एआई २१६ बाट नयाँ दिल्ली गएका हुन्।

तर, थरूरको नेपाल भ्रमण र औपचारिक कार्यक्रमभन्दा बढी अहिले उनको सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा रात्रिभोजको तस्वीर चर्चामा छ।

बाढीको भोलिपल्ट ‘डिनर’, प्रश्न मन्त्रीको संवेदनशीलतामा

बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो।

सीमावर्ती केरुङ क्षेत्रमा आएको बाढीपहिरोपछि भोटेकोशीमा आएको बाढीले बस्ती, सडक, पुल तथा पूर्वाधारमा क्षति पुर्‍यायो। ठूलो संख्यामा मानिस बेपत्ता भए भने सयौँ परिवार प्रभावित भए।

यही विपद्को भोलिपल्ट सरकारी संयन्त्र उद्धारमा केन्द्रित रहेका बेला अर्थमन्त्री वाग्ले भने काठमाडौंमा आयोजित रात्रिभोजमा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि प्रश्न उठेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि शिक्षामन्त्री सस्मित पोखरेलले दिएको जानकारीअनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४७७ जनाको शव फेला परेको छ।

उनका अनुसार गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३ र चितवनमा १८८ जनाको शव फेला परेको छ।

सरकारले भने उद्धार, राहत र बेपत्ताको खोजीलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ।

यस्तो अवस्थामा राज्यको अर्थतन्त्रको नेतृत्व गरिरहेका मन्त्री सार्वजनिक रूपमा रात्रिभोजमा सहभागी भएको दृश्यले धेरैलाई असहज बनाएको देखिन्छ।

‘सहानुभूति मनमा मात्र राखेर पुग्दैन’

तस्वीर सार्वजनिक भएपछि वरिष्ठ पत्रकार कनकमणि दीक्षितले पनि घटनामाथि टिप्पणी गरेका छन्।

उनले विपद्को समयमा सहानुभूति केवल मनमा राखेर नपुग्ने भन्दै त्यसलाई व्यवहार र सार्वजनिक अभिव्यक्तिमार्फत देखाउनुपर्ने धारणा राखेका छन्।

उनको टिप्पणीको सार थियो, ‘गम्भीर विपद्का बेला सार्वजनिक पदमा रहेका व्यक्तिको व्यवहार र उपस्थितिले पनि राज्यको संवेदनशीलता झल्काउनुपर्छ।’

यसले एउटा फराकिलो प्रश्न जन्माएको छ: विपद्का बेला मन्त्री वा राजनीतिक नेतृत्वले आफ्नो व्यक्तिगत तथा सामाजिक गतिविधिमा कति सावधानी अपनाउनुपर्छ ?

सामाजिक सञ्जालमा आक्रोश

तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनेक प्रतिक्रिया आएका छन्। पत्रकारसमेत रहेका विकास ठाकुरले घटनालाई ‘निर्लज्जताको पराकाष्ठा’ भन्दै अर्थमन्त्री तथा सत्तारुढ दलका सांसदबाट यस्तो व्यवहारको अपेक्षा नरहेको बताएका छन्।

सञ्जयकुमार सहानीले देश ठूलो विपत्तिबाट गुज्रिरहेको बेला अर्थमन्त्री वाग्लेसहित केही सांसद तथा अन्य व्यक्तिहरू भारतीय नेता र पत्रकारसँग पाँचतारे होटलमा डिनरमा सहभागी भएको भन्दै प्रश्न उठाएका छन्।

भारतीय पक्षबाट पनि तस्वीरको समय र सन्दर्भलाई लिएर आलोचना भएको छ। नविता श्रीकान्तले विपद्को समयमा सभ्यताले करुणा र सहानुभूति सिकाउन नसके त्यसको अर्थ के रहन्छ भन्दै प्रश्न गरेकी छन्।

त्यस्तै, अवतांश कुमारले बाढीको विनाशलगत्तै खिचिएको हो भने तस्वीरमा देखिएको हाँसो-ट्टा असंवेदनशील देखिने टिप्पणी गरेका छन्।

राकेश मिश्राले थरूरले तस्वीर सार्वजनिक गरेको र अर्थमन्त्री वाग्ले त्यसमा सहभागी भएको विषयलाई ‘असंवेदनशील’ र ‘अमानवीय’ भन्दै आलोचना गरेका छन्। कृष्ण लामिछानेले पनि तस्वीरले आफूलाई असहज बनाएको बताएका छन्।

विपद्को समयमा राजनीतिक ‘टोन’को प्रश्न

यो घटनाले एउटा महत्वपूर्ण राजनीतिक संस्कारको बहस सतहमा ल्याएको छ। विपद्को समयमा राज्यका उच्चपदस्थ अधिकारीको प्रत्येक सार्वजनिक गतिविधि प्रतीकात्मक हुन्छ।

उद्धारमा खटिएका सुरक्षाकर्मी, विस्थापित नागरिक र आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि राजनीतिक नेतृत्वको व्यवहारले सरकारप्रतिको विश्वास र संवेदनशीलताको संकेत दिन सक्छ।

सरकारले विपद्को सामना गर्न बैठक गरिरहेको र सुरक्षा निकाय उद्धारमा खटिरहेको अवस्थामा सत्ताका प्रभावशाली व्यक्तिहरूको औपचारिक वा अनौपचारिक जमघट स्वाभाविक रूपमा सार्वजनिक निगरानीमा पर्नु अस्वाभाविक होइन।

विशेषगरी तस्वीर आफैं सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसले कार्यक्रमको निजी प्रकृतिलाई समेत सार्वजनिक बहसमा ल्याइदिएको छ।

चीनमा कार्यक्रम स्थगित

यही समयमा नेपालसँग सीमा जोडिएको चिनियाँ क्षेत्रमा पनि बाढीपहिरोबाट ठूलो क्षति भएपछि चिनियाँ पक्षले विपद्सँग सम्बन्धित नभएका निर्धारित कार्यक्रम स्थगित गरेको समाचार आएको छ।

केरुङ क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिपछि उद्धार, राहत र पुनर्स्थापनासँग सम्बन्धित कामबाहेक अन्य निर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले समेत केरुङमा भइरहेको उद्धार तथा राहत कार्यको समीक्षा गर्दै बेपत्ताको खोजी र प्रभावितको व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। यही तुलनाले नेपालमा सार्वजनिक भएको रात्रिभोजको तस्वीरमाथिको बहसलाई थप अर्थ दिएको छ।

तस्वीरभन्दा ठूलो प्रश्न

अन्ततः विवाद केवल एउटा डिनर पार्टीमा सीमित छैन। मुख्य प्रश्न- राष्ट्रिय विपद्को समयमा सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो आचरण र सार्वजनिक उपस्थितिबाट पीडित नागरिकलाई कस्तो सन्देश दिनुपर्छ ?

अर्थमन्त्री वाग्ले डिनरमा सहभागी भएको विषय कानुनी रूपमा के कति उचित थियो भन्ने अलग प्रश्न भयो। तर राजनीतिक र नैतिक दृष्टिले भने यसको मूल्यांकन नागरिकले गरिरहेका छन्। त्यहीकारण आलोचना भइरहेको छ।

बाढीमा परेर हजारौँ हराइरहेका छन् । कयौँको शव भेटिएको छ। सयौँ मानिसहरू आफन्तको खोजीमा नुवाकोट-रसुवा पुगेका छन्। पीडित परिवारहरू छटपटाइरहेका बेला, उद्धारकर्मीहरू जोखिम मोलेर मैदानमा खटिरहेका छन् । यता सरकारले नै ठूलो मानवीय क्षतिको तथ्यांक सार्वजनिक गरिरहेका बेला पाँचतारे होटलमा कक्टेल डिनरसहित मन्त्री मुस्कुराइरहेको तस्वीर सार्वजनिक हुनु आफैंमा राजनीतिक संवेदनशीलताको परीक्षा बनेको छ।

विपद् सकिएको छैन। बेपत्ताको खोजी अझै जारी छ, शुक्रबार पनि भोटेकोशीमा ठूलो बाढी भएको छ। शवहरू संकलन हुन सकिरहेका छैनन् । बाढी प्रभावितको पुनर्स्थापना बाँकी नै छ । मृतकका परिवार शोकमा छन्। यस्तो बेला सरकार र राजनीतिक नेतृत्वबाट नागरिकले खोज्ने कुरा केवल राहत र उद्धारको आदेश मात्रै होइन, उनीहरूको पीडासँगै उभिएको देखिने संवेदनशीलता पनि ठूलो कुरा हो।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ४ : २५ बजे

भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३

रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

बैतडी– बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा

धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर

काभ्रेपलाञ्चोक– धुलिखेल अस्पतालले १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५

रवीन्द्र ढाट र कासिबको भिडन्त सुरू

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गतको सेमिफाइनल भिडिन्तमा