धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर « Khabarhub

धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– धुलिखेल अस्पतालले १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको छ । 

नेपाल र जापान दुई देशबीचको सम्झौताअनुसार जापानको ३ दशमलब ८६ अर्ब जापानी येन (रु तीन अर्ब ६० करोड) बराबरको पूर्ण अनुदानमा भवन निर्माण भइरहेको हो । 

पटकपटकका सम्झौताबीच औपचारिक रूपमा २८ मे २०२५ मा भवन निर्माणार्थ शिलान्यास गरिएको थियो । 

द्रुत गतिमा अघि बढिरहेको ट्रमा तथा इमरजेन्सी सेन्टर नेपालका लागि महत्त्वपूर्ण स्वास्थ्य पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ । 

अस्पताल परिसरमा निर्माणाधीन उक्त सेन्टरमा अरनिको राजमार्ग र बिपी राजमार्गबाट बिरामीको सहजै पहुँच पुग्नेछ । 

ट्रमा तथा इमरजेन्सी सेन्टर करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको निर्माण कम्पनीका इन्जिनियर रोशन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार भवनको कुल क्षेत्रफल करिब ७४ हजार वर्गफिटको छ । भवनलाई विपद्, आगलागी तथा अन्य आकस्मिक अवस्थालाई पनि ध्यानमा राखेर सुरक्षित बनाउने गरी ‘डिजाइन’ गरिएको श्रेष्ठको भनाइ छ । 

भवनमा न्यूनतम तीन फिटदेखि १० फिटसम्मका पिल्लर प्रयोग गरिएको छ । निर्माण कार्यमा दैनिक करिब १४ घण्टा काम भइरहेको छ भने हाल करिब २५० जना कामदार परिचालन गरिएको जनाइएको छ । 

परियोजनाको करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ । निर्माण कार्यका लागि जापानको टोडा कर्पोरेसन, टोकियो छनोट भएको थियो । 

जाइका नेपाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सन् २०२५ अप्रिलबाट निर्माणको प्रारम्भिक काम सुरु गरिएको हो । 

परियोजनामा जापानी कम्पनी टोडासँगै नेपालको हिमालयन बिल्डर्स एन्ड इन्जिनियरिङलगायत कम्पनी पनि सम्लग्न रहेका छन् । 

निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरमा सिटी स्क्यान, एमआरआई, अत्याधुनिक शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्स–रे मेसिनलगायत आवश्यक स्वास्थ्य उपकरण जडान गरिने सेन्टरका फोकल पर्सन डा दिपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अत्याधुनिक उपकरण तथा अस्पतालका शय्यासहितको संरचना सन् २०२७ जुनसम्म हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । 

सेन्टर सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकसँगै छिमेकी जिल्लाहरू रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र भक्तपुरका गम्भीर घाइते तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीले तत्काल विशेषज्ञ सेवा पाउने छन् । 

बिपी राजमार्गसँग जोडिएका तराईका जिल्लाबाट आउने घाइते बिरामीका लागि पनि यो केन्द्र निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । 

अन्तरराष्ट्रियस्तरमा देखिएका असहज परिस्थिति, नेपालमा आएको बाढी तथा अन्य विपद् र जेन-जी आन्दोलनका कारण निर्माण सामग्री आपूर्ति, जनशक्ति व्यवस्थापन तथा परियोजना सञ्चालनमा केही समस्या आए पनि काम पूर्ण रूपमा प्रभावित नभएको अस्पतालले जनाएको छ । 

विसं २०५३ देखि स्वास्थ्य सेवा सुरु गरेको धुलिखेल अस्पतालले तीन दशकको अवधिमा विभिन्न विशेषज्ञ तथा अत्याधुनिक सेवा थप गर्दै आएको जनाइएको छ । 

नयाँ ट्रमा तथा इमरजेन्सी सेन्टर सञ्चालनमा आएपछि अस्पतालको आकस्मिक तथा जटिल चोटपटक उपचार क्षमतामा उल्लेख्य विस्तार हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : १० बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक