चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट « Khabarhub

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे चीनले महत्वपूर्ण धारणा सार्वजनिक गरेको छ।

चीनको विदेश मन्त्रालयले बुधबार तिब्बतस्थित ग्यिरोङ काउन्टी र नेपालको रसुवामा भएको विपद्को विवरण सार्वजनिक गर्दै त्यसका कारण ग्यिरोङ बन्दरगाह क्षेत्रमा ठूलो जनधनको क्षति भएको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकमा गरिएको मूल्यांकनबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

उनले बैठकमा ‘नेपालमा गएको पहिरोले ग्यिरोङ बन्दरगाहमा ठूलो मानवीय क्षति भएको र धेरै मानिस बेपत्ता भएको’ उल्लेख गरिएको बताएका छन्।

चिनियाँ पक्षको यो भनाइले बुधबार बिहान नेपालतर्फको हिमाली क्षेत्रमा गएको पहिरो र त्यसपछि भोटेकोशी तथा सीमावर्ती नदीमा आएको बाढीले चीनको ग्यिरोङ क्षेत्रसम्म असर पुर्‍याएको पुष्टि गरेको छ।

यसअघि नेपाल र चीन दुवैतर्फ बुधबार बिहान आएको बाढीपहिरोको कारणबारे विभिन्न विवरण सार्वजनिक हुँदै आएका थिए। विशेषगरी रसुवा र केरुङ क्षेत्र जोड्ने भोटेकोशी नदीमा अचानकको ठूलो बाढीले नेपालतर्फ ठूलो क्षति पुर्‍याएको छ। सीमापारि चीनको ग्यिरोङ बन्दरगाह क्षेत्र पनि पूरै ध्वस्त भएको छ।

‘नेपालमा भएको पहिरोबाट ठूलो क्षति’

प्रवक्ता लिनले पत्रकार सम्मेलनमा सीपीसी केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले ग्यिरोङमा भएको विपद्पछिको उद्धार तथा राहत कार्यको समीक्षा गरेको बताए।

उनका अनुसार बैठकको सुरुमै चिनियाँ राष्ट्रपति तथा सीपीसी महासचिव सी चिनफिङले विपद्मा ज्यान गुमाउनेहरूप्रति एक मिनेट मौनधारण गर्न प्रस्ताव गरेका थिए।

बैठकमा ग्यिरोङ काउन्टीको बन्दरगाह क्षेत्रमा नेपालमा गएको पहिरोका कारण ठूलो मानवीय क्षति भएको र धेरै मानिस बेपत्ता भएको विषयलाई विशेष रूपमा उल्लेख गरिएको थियो।

चिनियाँ नेतृत्वले विपद्पछिको उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखेको भन्दै राष्ट्रपति सीले तत्काल आवश्यक निर्देशन दिएको लिनले बताए।

सीको निर्देशनपछि चिनियाँ प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा पुगेका थिए। उनले प्रभावित नागरिक तथा उद्धार टोलीसँग भेट गर्नुका साथै घटनास्थलमै उद्धार तथा आपत्कालीन प्रतिकार्यबारे निर्देशन दिएका थिए।

चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ पनि प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यको निरीक्षण गरिरहेका छन्।

हिमाली भूगोलले उद्धारमा थप चुनौती

चिनियाँ विदेश मन्त्रालयका अनुसार ग्यिरोङ क्षेत्र समुद्री सतहबाट निकै उच्च, चिसो तथा भौगोलिक रूपमा अत्यन्त कठिन क्षेत्रमा पर्छ। यहाँ ठाडा खोँच, तीव्र रूपमा परिवर्तन हुने मौसम तथा वरपरका क्षेत्रमा अझै पनि हिमनदी र हिमतालहरू रहेका छन्।

यसकारण विपद्पछि थप पहिरो, हिमताल तथा अन्य भौगर्भिक जोखिमको सम्भावना रहेको चीनले जनाएको छ।

सीपीसीको बैठकले प्रभावित क्षेत्रमा रहेका चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्र पार्न, विभिन्न सरकारी निकायबीच समन्वय बढाउन तथा सम्भावित दोस्रो विपद्बाट जोगिन निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ।

विशेषगरी वरपर रहेका हिमताल तथा पहाडको स्थिरतामा निरन्तर निगरानी राख्न भनिएको छ।

नेपाललाई आपत्कालीन सहायता

चीनले विपद्बाट प्रभावित नेपालका क्षेत्रमा पनि आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता लिनका अनुसार चीनले नेपालका विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ।

यसले बुधबारको बाढीपहिरोपछि नेपाल र चीन दुवैतर्फको उद्धार तथा राहत कार्यलाई थप समन्वयमा अघि बढाउने संकेत गरेको छ।

नेपालतर्फ रसुवाको टिमुरे, केरुङ नाका आसपास तथा भोटेकोशी नदी किनारका क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले सडक, पुल, भवन तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याउनुका साथै ठूलो मानवीय क्षति भएको छ।

विदेशी नागरिकको विवरण अझै प्रमाणीकरणमै

पत्रकार सम्मेलनमा रोयटर्सका पत्रकारले तिब्बततर्फ भएको क्षतिमा विभिन्न देशका नागरिकको अवस्था र विशेषगरी भारतीय पर्यटक तथा तीर्थयात्री प्रभावित भए/नभएकोबारे प्रश्न गरेका थिए।

जवाफमा प्रवक्ता लिनले सम्बन्धित विवरण अझै प्रमाणीकरण भइरहेको बताए। चीनले सम्बन्धित देशका दूतावासलाई जानकारी गराइसकेको र उनीहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले बताए।

यसअघि चीनले नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक सम्पर्कविहीन रहेको जानकारी दिएको थियो।

बुधबारको विपद्पछि नेपालतर्फ भोटेकोशीको उर्लिएको पानी र पहिरोले सीमावर्ती क्षेत्र तहसनहस बनाएको छ भने चीनतर्फ ग्यिरोङ बन्दरगाह क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ।

चिनियाँ विदेश मन्त्रालयको पछिल्लो वक्तव्यले भने यो विपद्को घटनाक्रमलाई नेपालको हिमाली क्षेत्रमा गएको पहिरोबाट सुरु भएको र त्यसको प्रभाव सीमापारि चीनसम्म पुगेको घटनाका रूपमा चित्रण गरेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ६ : ०७ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा