लमजुङ– वर्षाका कारण मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए । उनका अनुसार केही दिनअघि नदीमा पानीको बहाव असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ ।
‘अहिले पानीको सतह घट्दै गइरहेको छ । केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,’ उनले भने, ‘तत्काल जोखिम छैन । सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ ।’
यसअघि मनाङको चामे क्षेत्रमा घट्टेखोलामा पहिरो खसेर खोला थुनिन सक्ने र त्यसबाट बाढी आउन सक्ने जोखिम देखिएपछि मर्स्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । हाल लमजुङ खण्डमा भने नदीको पानीको सतह घट्दै गएको जनाइएको छ ।
आइतबारको वर्षाका कारण बाढीले जिल्लाका विभिन्न स्थानमा भने भौतिक संरचनामा क्षति गरेको छ । बेँसीसहर नगरपालिका–११ र उदिपुर क्षेत्रको बीचमा मर्स्याङ्दी नदीमाथि रहेको मोटरेबल पुलमा समेत क्षति पुगेको छ ।
पुलमा क्षति पुगेपछि उक्त पुल हुँदै दोर्दी गाउँपालिकाको केन्द्र तथा बेँसीसहर–११ लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अन्य स्थानको निरीक्षणमा जाने जानकारी दिए ।














प्रतिक्रिया