एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल ‘स्टारशिप’ रकेटलाई पहिलोपटक पृथ्वीको कक्षमा पुर्याउने उद्देश्यका साथ ऐतिहासिक प्रक्षेपणको तयारी पूरा गरेको छ । अमेरिकी संघीय उड्डयन प्रशासनबाट सेप्टेम्बर २६ मा उडान इजाजत पत्र प्राप्त गरेपछि कम्पनीले टेक्ससस्थित ‘स्टारबेस’ बाट १४औँ परीक्षण उडान सञ्चालन गर्न लागेको हो ।
सोमबारबाट सुरु हुने ७५ मिनेटको ‘लान्च विन्डो’ मा हुने यस उडानमार्फत नयाँ पुस्ताका २६ वटा ‘स्टारलिङ्क भि-३’ भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिनेछ ।
सन् २०२३ देखि सुरु भएका अघिल्ला १३ वटा परीक्षण उडानहरू उप(कक्षीय मार्गमै सीमित थिए, जसमध्ये झन्डै आधा उडानहरू अप्रत्याशित विस्फोटमा परिणत भएका थिए ।
तर, यो १४औँ उडान सफल भएमा स्टारशिप परीक्षण कालबाट पूर्ण सञ्चालनको चरणमा प्रवेश गर्नेछ । करिब १० घण्टासम्म अन्तरिक्षमा रहने र पृथ्वीलाई ६ पटक परिक्रमा गर्ने अनुमान गरिएको यस उडानपछि रकेटलाई चिलीको तट नजिकै प्रशान्त महासागरमा सुरक्षित अवतरण गराउने लक्ष्य राखिएको छ ।
अन्तरिक्ष स्टेशनहरूसँगको सम्भावित टक्कर रोक्न स्टारशिपलाई पृथ्वीको सतहबाट करिब १७१ माइल (२७५ किमी) उचाइमा उडाइनेछ, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको ४ सय किमी उचाइभन्दा तल हो । उडानको सुरुवाती मिनेटमै कुनै प्राविधिक खराबी देखिएमा इन्जिन बन्द गरी रकेटलाई उप-कक्षीय मार्गमै फर्काइने सुरक्षा रणनीति पनि बनाइएको छ ।
हाल करिब ११ हजार सक्रिय भूउपग्रह सञ्चालनसहित विश्वव्यापी इन्टरनेट सेवा प्रदान गरिरहेको स्पेसएक्सका लागि स्टारशिप व्यावसायिक विस्तारको मेरुदण्ड मानिएको छ । वासिङ्टनको रेडमन्डमा निर्मित भि-३ भूउपग्रहहरूले अघिल्ला संस्करणभन्दा दोब्बर सौर्य ऊर्जा उत्पादन गर्नुका साथै द्रुत गतिमा डेटा सम्प्रेषण गर्न सक्नेछन् । साथै, कम्पनीकी सीओओ ग्विन शोटवेलका अनुसार सन् २०२७ देखि स्टारशिपमार्फत अन्तरिक्षमा ‘एआई कम्प्युट भूउपग्रहहरू’ प्रक्षेपण गर्ने योजना छ ।
रकेटको माथिल्लो भाग र ‘सुपर हेभी’ बुस्टर दुवैलाई पूर्ण रूपमा पुनःप्रयोगयोग्य बनाउनुलाई रकेट विज्ञानमा ‘होली ग्रेल’ मानिन्छ, जसले अन्तरिक्षमा कार्गो पठाउने लागतलाई उल्लेख्य रूपमा घटाउनेछ ।
स्पेसएक्सले नासाका अन्तरिक्ष यात्रीहरूलाई पुनः चन्द्रमाको सतहमा पुर्याउन बहु(अर्ब डलरको सम्झौता गरिसकेको छ । चन्द्रमा मिसनका लागि अन्तरिक्षमै माइनस १६२ डिग्री सेल्सियसभन्दा चिसो इन्धन स्थानान्तरण गर्नुपर्ने हुन्छ, जुन अन्तरिक्ष इतिहासमै अभूतपूर्व प्राविधिक चुनौती हो ।
गत जुनमा ऐतिहासिक आईपीओ मार्फत सार्वजनिक भएको स्पेसएक्सको बजार मूल्याङ्कन हाल करिब २ खर्ब डलर पुगेको छ ।
एलन मस्कले भविष्यमा मङ्गल ग्रहमा आत्मनिर्भर शहर बसाउने, दैनिक ३० भन्दा बढी उडान भर्न लुइसियानामा १ सय अर्ब डलरको नयाँ प्रक्षेपण केन्द्र ‘स्टारबेस लुइसियाना’ निर्माण गर्ने र उडानको दर प्रतिघण्टा एउटासम्म पुर्याउने दीर्घकालीन लक्ष्य राखेका छन् ।














प्रतिक्रिया