ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्णरूपमा ढलेको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ बजेर ३५ मिनेटमा पहिरोले बगाएर खोलामा पुर्याएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पहिरोले घर ढलेपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ । घटनापछि प्रहरीले जोखिमको अवस्था र क्षतिको विवरण संकलन गरिरहेको छ ।
पहिरो खस्न भने आइतबारदेखि नै सुरु भएको थियो । आइतबार दिउँसो १ः४० बजे थापाको घरको भुइँतलासँग जोडिएको ट्रसबाट बनेको किचन करिब २० मिटर तल खसेको थियो । त्यसपछि घरमा थप जोखिम बढेपछि थापासहित तीन जनाको परिवार आइतबार नै आफन्तको घरमा सरेका थिए ।
परिवारका सदस्यहरू समयमै सुरक्षित स्थानमा सरेकाले घर ढले पनि मानवीय क्षति नभएको एसपी मिश्रले जानकारी दिए ।
घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा चार जनाको टोली खटिएको छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी टोली पनि घटनास्थलमा पुगेर घरभित्र रहेका सामानहरू सुरक्षित स्थानमा सारिरहेको छ ।
यस्तै, घटनाको मुचुल्का तयार गर्न सातदोबाटो प्रहरी वृत्तबाट मुचुल्का टोलीसमेत घटनास्थलमा खटाइएको एसपी मिश्रले बताए ।
तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी



























प्रतिक्रिया