सान फ्रान्सिस्को (रासस\एएफपी)। संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला ह्वाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको सूची सार्वजनिक गरेको छ। यद्यपि, कुन वस्तुमा कति कर घटाउने र त्यसको समयतालिका भने सार्वजनिक गरिएको छैन।
ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अमेरिका र चीनले कर घटाउन सकिने वस्तुको सूची समीक्षा गर्नेछन् र ती वस्तुमा दुवै पक्षले पारस्परिक रूपमा कम कर लगाउने व्यवस्था गर्ने उद्देश्य राखिएको छ। यो व्यवस्थाले दुवै दिशामा करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुलाई समेट्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार व्यापारलगायत विषयमा छलफल गर्दै शिखर बैठक सम्पन्न गरेका थिए । सीको वासिङ्टन भ्रमणपछि ह्वाइट हाउसले गैरसंवेदनशील वस्तुमा थप अनुकूल कर व्यवस्था गर्न सिफारिस गर्ने विषयमा सहमति भएको घोषणा गरेको थियो। बेइजिङले शनिबार उक्त सम्झौताको पुष्टि गरेको छ।
अमेरिकाले चीनबाट आयात हुने आतसबाजी, क्रिसमसका सजावटी सामग्री, घरेलु सामान तथा खेलकुद सामग्रीलगायत ७७ वर्गका वस्तुमा कर घटाउन सक्ने सूचीमा उल्लेख छ।
त्यसैगरी, चीनले अमेरिकाबाट आयात गर्ने वस्तुको सूचीमा गाईको मासु, सुँगुरको मासु, कुखुराको मासु तथा समुद्री खाना, अन्न, दुग्धजन्य पदार्थ, ह्विस्की, कोइला र काठलगायत एक हजार ६०० भन्दा बढी वर्गका वस्तु समावेश छन्।
ह्वाइट हाउसका अनुसार चीनले सन् २०२७ र २०२८ मा अमेरिकाबाट कम्तीमा एक करोड मेट्रिक टन कोइला आयात गर्न पनि सहमति जनाएको छ।
राष्ट्रपति ट्रम्प र सीले गत वर्ष दक्षिण कोरियामा भएको बैठकमा व्यापार युद्धविरामका लागि सहमति गरेका थिए। त्यसअघि दुई देशबीचको व्यापार विवादका क्रममा केही वस्तुमा कर १०० प्रतिशतभन्दा बढी पुगेको थियो।
उक्त व्यापार युद्धविराम सुरुमा नोभेम्बरमा समाप्त हुने तय भए पनि दुवै पक्षले त्यसलाई जनवरी १० सम्म विस्तार गर्न सहमति गरेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताए।














प्रतिक्रिया