काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने निर्वाचन पछि सार्वजनिक गरिएका एग्जिट पोलहरुले देखाएको छ ।
सोमबार भएको निर्वाचनपछि एक्जिट पोलले देखाए अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनका मुख्य प्रतिद्वन्द्वी, पूर्व सैनिक प्रमुख गादी आइसेनकोट स्पष्ट बहुमतबाट पछि परेका छन्।
इजरायलको च्यानल १२ न्युजका अनुसार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी नेतृत्वको गठबन्धनले अघिल्लो नेसेट (संसद) मा रहेको ६८ सिटबाट घटेर ५२ मा सीमित हुने प्रक्षेपण गरिएको छ ।
यस्तै, पूर्वसैन्य प्रमुख गादी आइजेनकोटको यासार पार्टी नेतृत्वको विपक्षी गठबन्धनले ४९ सिट सुरक्षित गर्ने अनुमान गरिएको सीएनएनले जनाएको छ । यसैगरी, अरब नेतृत्वका दलहरूले १८ सिट जित्ने प्रक्षेपण गरिएको छ । आगामी ४८ घण्टाभित्र अन्तिम नतिजा आउने अनुमान गरिएको छ ।
इजरायलको १२० सदस्यीय संसदमा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्दछ । पोलअनुसार कुनै पनि दलको बहुमत नपुग्ने स्थितिमा नयाँ सरकार गठनका लागि अरब नेतृत्वका दलहरुको भूमिका निर्णायक हुने देखिन्छ ।
तर अरब नेतृत्वका दलहरू निर्णायक देखिए पनि नेतान्याहु र आइजेनकोट दुवैले वैचारिक भिन्नता देखाउँदै उनीहरूसँग सहकार्य नगर्ने स्पष्ट पारिसकेका छन्।
अन्य दलहरुले समर्थन नगरेको अवस्थामा राजनीतिक अड्चन, अल्पमतको सरकार, संयुक्त सरकार वा अर्को चुनावसमेतको सम्भव रहेको छ ।














प्रतिक्रिया