चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित « Khabarhub

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान तट पार गरेको चक्रवातले तीव्र हावा र भारी वर्षा ल्याएपछि तटीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । 

यसले आन्ध्र प्रदेशका विभिन्न तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा गराएको छ । चक्रवात भित्री भागतर्फ अघि बढ्दै जाँदा थप कमजोर हुने र हावाको गति भोलिपल्ट प्रतिघण्टा ११० किलोमिटरसम्म झर्ने अनुमान गरिएको छ । घटनामा मानवीय क्षति भएको तत्काल कुनै विवरण प्राप्त भएको छैन ।

भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेशको तटीय क्षेत्र र छिमेकी ओडिसाका केही भागमा आगामी चार घण्टासम्म भारी वर्षा र तीव्र हावा चल्ने सम्भावना छ ।

विभागका प्रमुख मृत्युञ्जय महापात्रले चक्रवातको अग्रभाग जमिनमा प्रवेश गरिसकेको र तट पार गर्ने सम्पूर्ण प्रक्रिया पूरा हुन करिब चार घण्टा लाग्ने बताएका छन् ।

मङ्गलबार ढिलो अर्नब अत्यन्त शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको थियो । त्यसपछि तटीय क्षेत्रमा तीव्र हावा र भारी वर्षा सुरु भएको थियो । 

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूका अनुसार बङ्गालको खाडीमा आँधी तीव्र भएपछि यसको बाहिरी भागले मङ्गलबार रातिदेखि नै आन्ध्र प्रदेशको तटमा असर पार्न थालेको थियो । चक्रवातले अपेक्षा गरिएभन्दा चाँडै तट पार गरेको हो ।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले मङ्गलबार नै राज्यका सबै तटीय जिल्लालाई उच्च सतर्कतामा राखेका थिए ।

तल्लो भूभाग र बाढीको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको थियो । केही क्षेत्रमा भारी वर्षा र तीव्र हावा सुरु भएपछि रेल सेवासमेत रद्द गरिएको थियो ।

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार चक्रवातको सम्भावित मार्गमा एक करोड २० लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।

प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीका अनुसार अधिकारीहरूले २० जिल्लामा दुई हजारभन्दा बढी चक्रवात आश्रयस्थल स्थापना गरेका छन् । जोखिममा रहेका लाखौँ बासिन्दाको मोबाइल फोनमा आपत्कालीन चेतावनी सन्देश पठाइएको छ ।

जैनका अनुसार तटीय क्षेत्रमा ३० हजारभन्दा बढी माछा मार्ने डुङ्गालाई सुरक्षित राखिएको छ भने आपत्कालीन सहायता उपलब्ध गराउन करिब एक हजार १०० स्वास्थ्य टोली परिचालन गरिएको छ ।

यसैबीच, छिमेकी ओडिसाका अधिकारीहरूले चक्रवातबाट प्रभावित हुन सक्ने क्षेत्रका करिब ४८ हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनाएका छन् । रासस

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ११ : १६ बजे

पशु ढुवानीमा चरम लापरबाही : ७२ घण्टासम्म दानापानी नदिई कोचेर काठमाडौँ ल्याइँदै

काठमाडौँ – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने

दोलखामा आगलागी हुँदा ७० लाख क्षतिको अनुमान

दोलखा- दोलखाको वैतेश्वर गाउँपालिका–७ ठोट्नेरीमा रहेको एक कुखुरा फार्ममा आगलागी

समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

काठमाडौँ- मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका

प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा प्रधानमन्त्रीले गर्ने

एसिया कप राइजिङ स्टार्स : कुशल भुर्तेलको अर्धशतकमा यूएईमाथि नेपाल ६ विकेटको विजयी

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले