काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको परिपत्रअनुसार अन्य जिल्लाबाट नागरिकता लिएका नागरिकलाई पनि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचनाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिन सक्नेछन् ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट तथा कोशी र मधेस प्रदेशका जिल्लाबाट नागरिकता लिएकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रतिलिपि लिन सक्नेछन् ।
नागरिकताको प्रतिलिपि लिन सम्बन्धित कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । नागरिकताको प्रमाणपत्र बाहकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख छ ।
तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै शङ्कास्पद देखिएका नागरिकता बाहकले भने साविकमा जुन जिल्लाबाट नागरिकता लिएका हुन्, त्यही जिल्लामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।














प्रतिक्रिया