काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले नेपालले पछिल्लो समय भोगेका हिमपहिरो तथा पहिरोजस्ता विपद्बाट भएको क्षति र पुनर्निर्माणको आवश्यकताबारे जानकारी गराएका थिए।
उनले लाङटाङ लिरुङमा गएको हिमपहिरो र बुढीगण्डकी क्षेत्रमा गएको पहिरोका कारण भएको जनधनको क्षति तथा निर्माणाधीन जलविद्युत् आयोजनामा परेको असरबारे सम्मेलनमा ध्यानाकर्षण गराए ।
द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्बाट करिब २.७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको र पुनर्निर्माणका लागि करिब ४.८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने उनले जानकारी गराए ।
मन्त्री श्रेष्ठले सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्कको आदानप्रदान, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन पनि आग्रह गरे । उनले बैंकक मन्त्रीस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै जलवायु तथा भू-विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए ।
हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.०१ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने तथा स्वच्छ ऊर्जा प्रणालीको विकास र संरक्षण गर्ने नेपालको प्रतिबद्धता दोहोर्याए ।














प्रतिक्रिया