एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहोर्याएका छन् ।
आफूले समाधान गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारिक दबाबका माध्यमबाट अन्त्य भएको उनको भनाइ छ ।
टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित चुनावी सभामा ट्रम्पले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई युद्ध जारी राखे अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएको बताएका हुन् । उक्त चेतावनीपछि दुवै देशबीच युद्धविराम भएको उनको दाबी छ ।
ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएका थिए । यद्यपि, द्वन्द्व अन्त्य गर्न ट्रम्पले दाबी गरेअनुसार व्यापारिक दबाब निर्णायक बनेको पुष्टि हुने स्वतन्त्र प्रमाण प्रस्तुत गरिएको छैन ।
भारतले भने द्वन्द्व अन्त्य गर्न बाह्य मध्यस्थता भएको दाबी अस्वीकार गर्दै आएको छ । भारतका अनुसार पाकिस्तानका सैन्य कारबाहीका महानिर्देशकले आफ्ना भारतीय समकक्षीसँग सम्पर्क गरी युद्धविरामको आग्रह गरेपछि द्वन्द्व रोकिएको थियो ।
पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि भारतले मे ७ मा ‘अपरेसन सिन्दूर’ सुरु गरेको थियो । भारतले उक्त अभियान मे १० मा रोकेको थियो ।
ट्रम्पले आफूले आठवटा युद्ध समाधान गरेको दाबी गर्दै नोबेल शान्ति पुरस्कारको हकदार रहेको बताउँदै आएका छन् ।
नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई दिने घोषणा गरेपछि ट्रम्पले पुरस्कार छनोटको आलोचना गर्दै आएका छन् ।














प्रतिक्रिया