भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी « Khabarhub

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ ।

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ ।

सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ । धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ ।

यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए ।

उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए । संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ ।

अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो । कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ ।
संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन् ।

इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ।

जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए ।

छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, ‘छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो । सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ ।’

डीएमके सांसद पी. विल्सनले भने, ‘हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन् ।

यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए । काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन् । नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ११ : ५९ बजे

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

नयाँदिल्ली– भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन

मुस्ताङ– मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा

नेतान्याहुद्वारा आइसेनकोटलाई प्रधानमन्त्री पद प्रस्तावको तयारी

इजरायल– इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धनको अनिश्चितता बढिरहेका बेला

‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

झापा– झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

पेरु– पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर