अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन « Khabarhub

भिडियो अन्तर्वार्ता

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन



काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए । बालबयका मन्जिल राजनीतिको छक्कापन्जाबाट परिचित नहुने कुरै थिएन । प्रज्ञा, चेतना र सिर्जनाबाट सुसज्ज्ति परिवार थियो। मन्जिलका लागि परिवारले तोकिदिएको पहिलो र अन्तिम कर्म भनेकै पढ्नु थियो । तर बाआमाले कोरिदिएको लक्ष्मण रेखामा सीमित हुने उनको चरित्र थिएन । विद्यालय उमेरदेखि नै विद्रोही स्वभाव, प्रश्नमाथि प्रश्न खोज्थे । परिवार, कक्षा कोठादेखि साथी भाइसम्म यो स्वभाव फैलिँदै गयो ।

सेन्टमेरिजको पढाइपछि विदेश पढ्ने साथीभाइको समाजबाट उनी अछुतो रहन कहाँ सक्थे र ? कहाँ जाने ? उत्तर सहज थियो– अमेरिका । अनि त लागे सपनाको देश अमेरिकातिर । काम, काम, काम बाहेक केही नचिन्ने त्यहाँको परिवेश उनलाई बिझाउँदै गयो । समृद्ध देश अमेरिका, सर्वशक्तिमान देश अमेरिका, विज्ञान सूचनाप्रविधिको देश अमेरिका, हलिउडको देश अमेरिका यति हुँदाहुँदै युवा अधिकारको विषयमा मौन अमेरिका । आखिर यो विडम्बना किन ? एउटा किशोर अमेरिकीले किन स्वाधीनताको लडाइँ लड्न सक्दैन ? अरुलाई विधि सिकाउने अमेरिका किन त्यही विधि आत्मसात गर्न सक्दैन ? हरेक व्यक्तिलाई गोली र पेस्तोल बोक्न दिने अमेरिका किन बोलीमा नियन्त्रण गर्छ ?

यी प्रश्नको उत्तर अमेरिकामा बसेर सम्भव थिएन । बरु, उनले प्रण गरे– अमेरिकाको क्रेजलाई आफ्नै माटोमा बसेर घटाउने । तर कसरी ? फकल्याण्ड युद्धमा अपुरणीय क्षति सहेपछि अर्जेन्टीनाले कसम खाएका थिए– फुटबलमा गोल गरेर ब्रिटिससँग बदला लिने । मन्जिलले पनि शिक्षामार्फत क्रान्ति गर्ने निधो गरे । उनको भित्री उद्देश्य थियो– गाउँका बालबालिकालाई कटेरो बनाएर अन्तर्राष्ट्रियस्तरको शिक्षा आफ्नै थातथलोमा दिने ।

नेपाल आउनासाथ यही काममा अर्जुनदृष्टिमा लगाए । त्यस विद्यालयलाई सलादजस्तो रुप दिन समाजका सबैखाले वर्गलाई समावेश गराए । उनको अभियानलाई युरोप, अमेरिकामा रहेका साथीहरुले स्वयंसेवा गर्ने वचन दिएर हौस्याए । अर्र्कातिर अमेरिकाबाट फर्किएकोमा उनलाई धारेहात लाउने उत्तिक्कै थिए । यद्यपि यी कुनै क्रियाकलापले उनीभित्रको भूतसवारलाई फरक पारेन । आज तिनै मन्जिल स्कुलबाट अब्बल जनशक्ति जन्माउँदै राजनीतिको मूल सङल्याउने अभियानमा एकचित्तले लागेका छन् ।

तनहुँ क्षेत्र नम्बर–१ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल राना नेपालको कमजोर शिक्षा प्रणाली सुधार गर्न राजनीतिमा आउन लागेको बताउँछन् । अमेरिकाबाट ‘सोसल एन्थ्रोपोलोजी’ मा स्नातकोत्तर गरेर नेपाल फर्किएका उनी दमौलीमा १५ वर्षदेखि ‘माया युनिभर्स’ स्कुल सञ्चालन गरिरहेका छन् ।

३७ वर्षका मन्जिलले शिक्षा क्षेत्रको सुधारबिना देशको वास्तविक विकास हुन नसक्ने तर्क गर्छन् । भौतिक स्तरोन्नतिलाई मात्रै विकास मान्ने हो भने नेपाल जस्तो देश कहिल्यै विकसित देशको स्तरमा पुग्न नसक्ने उनको निक्र्योल छ । त्यसैगरी नेपालबाट वैदेशिक रोजगारमा युवाहरु लैजाने देशहरुले ‘ब्रेनड्रेन’ को क्षतिपूर्ति तिर्नुपर्ने मत राख्छन् । तर नेपालमा यस्ता विषयमा बहस नहुने भन्दै उनी अब संसद्बाटै नेपाली जनताको वास्तविक मुद्दा उठाउँछु भनेर लागेका छन् ।

शैक्षिक मुद्दालाई के–कसरी अगाडि बढाउँदैछन् ? जनतासँग भोट माग्न जाने आधार के–के छन् ? जनताले तपाईंलाई किन भोट हाल्ने लगायतका विभिन्न प्रश्नहरुमा रहेर खबरहबले गरेको कुराकानीको सम्पादित अंशः

शैक्षिकक्षेत्रबाट धेरै काम गर्न सकिने आधार हुँदाहुँदै राजनीतिमा किन आउनुभयो ?
नेपालमा अहिले विद्यार्थीहरुले पढिरहेको कुरा समय सान्दर्भिक छैन । शिक्षा प्रणालीमै सुधार गर्छु भनेर राजनीतिमा आएको हुँ । अरु देशको तुलनामा नेपाली धेरै पछाडि छौं । कम्तिमा मेरो गाउँ छरछिमेकको बच्चालाई पछाडि पर्न दिन्न भनेर अमेरिकाबाट फर्किएको हुँ । तर संसद्मा पुगेँ भने समग्र देशकै बालबालिकाको भविष्य बनाउन सक्छु ।

शिक्षा र अन्य क्षेत्रबाट राजनीतिमा आउनु फरक हो । हाम्रो शिक्षा प्रणाली फिनल्याण्डको जस्तो बनाउनु आवश्यक छ । भौतिक विकासमा जति राम्रो गरे पनि शैक्षिक क्षेत्रको प्रगतिबिना देशको वास्तविक विकास हुँदैन । फिनल्याण्डको शिक्षा प्रणाली विश्वमै प्रसिद्ध हुनुको कारण उच्च क्षमताको शिक्षकको व्यवस्थापन हो । शैक्षिक क्षेत्रमा काम गर्न रुचि भएका व्यक्ति राखिन्छ । तिनीहरु तालिम प्राप्त हुन्छन् ।

शिक्षा र अन्य क्षेत्रबाट राजनीतिमा आउनु फरक हो । हाम्रो शिक्षा प्रणाली फिनल्याण्डको जस्तो बनाउनु आवश्यक छ ।

तर नेपालमा अन्य काम गर्न नसकेपछि अन्तिममा विकल्पको रुपमा शैक्षिक क्षेत्रलाई रोज्ने गरिन्छ । सरकारी र निजी विद्यालयका विद्यार्थी दुई धारमा विभाजन भएको छ । सरकारीमा प्रावि तहको सिकाइ कमजोर छ तर निजीको तल्लो कक्षादेखि नै राम्रो छ । बालबालिका शिक्षा अब्बल बनाउन आधार राम्रो हुनुपर्छ । अर्को, आधार बलियो बनाउने रकेट साइन्स पनि होइन । छोटो समयमै सरकारी स्कुलमा लागू गर्न सकिन्छ ।

तालिमप्राप्त शिक्षक राखेर सरकारीका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ । विद्यार्थीको रुट बलियो बनाइदिएपछि कालान्तरमा राम्रोसँग पढ्न सक्छन् । ९/१० कक्षाभन्दा १/२ कक्षामा पढाउने शिक्षक राम्रो हुनुपर्छ । नेपालमा गुणस्तरीय शिक्षा गफमै सीमित भयो । यो कुराले चित्त दुख्छ । त्यसकारण मेरो उपस्थिति संसद्मा भएमा यिनै विषय उठाउनेछु ।

अमेरिकामा पढ्दै गर्दा पनि गाउँ गएर पढाउँछु भन्ने थियो । स्कुल पढ्दा साथीहरुले कराँते बक्सिङ सिक्दै गर्दा मैले म्याथ, साइन्स पढाउँथे । अमेरिकाले एक्काइसौं शताब्दीको मान्छे कस्तो हुनुपर्छ भनेर सिकाइरहेको छ । यस शताब्दीको शिक्षा प्रणालीमा लगानी गरेको छ ।

तपाईंको सपना पूरा गर्न सर्वप्रथम चुनाव जित्नु पर्‍यो । गत उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले भारी मतले जितेका छन् । तपाईंको क्षेत्र कांग्रेसको गढ पनि हो । त्यस ठाउँमा संगठन नभएको नयाँ पार्टी के आधारमा चुनाव जित्ला ?
पहिलो कुरा चुनाव जित्छु । यदि हारेँ भने पनि मेरो विचार अगाडि बढ्छ । यसले रुप लिँदै जान्छ । नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी छ । पार्टीको कुरा गर्ने हो भने पुराना दलहरुसँग जनता आजित छन् । चुनावको दुई हप्ता गाउँमा बसेर जनतालाई झुक्याएर नेता बनिरहेका छन् । चुनाव जितेपछि गाउँ फर्किदैनन् । चुनाव आउँदा–आउँदै जनता पनि दलगत रुपमा विभाजित भइहाल्छौं ।

पहिलो कुरा चुनाव जित्छु । यदि हारेँ भने पनि मेरो विचार अगाडि बढ्छ । यसले रुप लिँदै जान्छ । नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी छ ।

जनतासँग प्रश्न नभएपछि नेतालाई सजिलो भएको छ । आफ्नो पार्टीको नेताले जे गरे पनि ठीक भन्नेमा पुग्छौं । गत भदौमा क्रान्ति जेन–जीको मात्रै थिएन । त्यो हरेक उमेर समूहको परिवर्तनको आकांक्षा थियो । आन्दोलनमा धेरै नराम्रो घटना घट्यो । तर वर्षौं वर्ष लाग्छ भन्ने परिवर्तन क्षणभरमा भयो । जनतालाई परिवर्तनको लागि तम्तयार बनायो । पुराना दलका नेताहरु पार्टीमा बस्न नसकेर राजीनामा दिएर हिँड्ने बनायो ।

तर अर्को समस्या नयाँ भनिएका पार्टीहरु लोकप्रियतावादमा रमाइरहेका छन् । समानुपातिकको लिस्ट हेरेरै थाहा भइसक्यो । नयाँमा पदको लागि गलतको विरुद्ध नबोल्ने भइसके । शिक्षा र स्वास्थ्यको ज्ञान नभएको व्यक्ति मन्त्री भइराख्दा समस्या समाधान गर्न सकिएको छैन । काम गर्न सकिएको छैन । विषयविज्ञ मन्त्री आउनुपर्छ ।

देशलाई माया गर्नेहरुले सर्वोच्च अदालत र संसद भवन जलाउन सक्दैन । त्यस्ता कुराको समर्थकसँग काँध मिलाउन सकिन । कुलमान घिसिङको कामलाई पछ्याइरहेको थिएँ । आजको दिनसम्म उहाँको काम गर्ने शैली मन परेको छ । कर्मचारी हुँदा पनि र छोटो समय मन्त्री हुँदा पनि उहाँ आफ्नो जिम्मेवारी निभाउन चुक्नुभएको छैन । पार्टीभन्दा व्यक्ति हेरेर लागेको हुँ । अन्य पार्टीमा आशा देखाउने तर काम नगर्ने छन् । त्यसकारण कुलमान र उज्यालो पार्टीमा पूर्ण समर्थनमा बसेको छु । तनहुँका जनताले आफ्नो माटो बुझेको नेता खोजिरहेका छन् । त्यसको लागि म योग्य पात्र हुँ ।

‘माया युनिभर्स’ कस्तो खालको स्कुल हो ?
एसएलसी सेन्ट जेभियर्स काठमाडौंबाट गरेँ । भारतस्थित ‘युनाइटेट वल्र्ड कलेज’ मा पढेँ । उक्त कलेजबाटै अमेरिका पढ्ने छात्रवृत्ति प्राप्त गरेँ । तर पढेर आफ्नै गाउँमा फर्किएर नेपालको परम्परागत स्कुल भन्दा फरक स्कुल खोलेर शिक्षा क्षेत्रमै काम गर्नुपर्छ भनेर लागिरहेको छु । व्यास ११ मा एउटा टेन्टबाट सुरु भएको माया युनिभर्समा हाल नर्सरीदेखि कक्षा ८ सम्मको पढाइ हुन्छ ।

पार्टीभन्दा व्यक्ति हेरेर लागेको हुँ । अन्य पार्टीमा आशा देखाउने तर काम नगर्ने छन् । त्यसकारण कुलमान र उज्यालो पार्टीमा पूर्ण समर्थनमा बसेको छु ।

स्कुलको मुलमन्त्र भनेकै देशभित्रै बसेर काम गर्ने विद्यार्थी उत्पादन गर्नु हो । छात्रबासको व्यवस्था पनि छ । ९/१० दमौलीमा अध्ययन गराइएको छ । अन्य परम्परागत स्कुलभन्दा यो धेरै फरक छ । यहाँ स्कुलको शुल्क तिर्न नसक्ने अभिभावकले श्रमदान गर्नुपर्छ । महिनाको दुई दिन खेतिपाती वा निर्माण क्षेत्रमा श्रमदान गर्नुपर्छ । त्यो भनेको स्कुल र अभिभावकबीच एकअर्कोलाई सहयोग गर्ने अभ्यास हो ।

साथै, नेपाली तथा विदेशी स्वयमसेवकहरुले काम गरिरहेका छन् । यहाँ शिक्षकहरुले पनि काम गर्नुपर्छ । कक्षामा पढाउँदै ढुङगा बोक्ने, खेत जोत्ने काम गरिरहनुभएको छ । स्रोत जुटाउन र कम खर्चमा चल्नको लागि हामी आफै कुखुरा पाल्ने, कागतीको अचार बनाएर बेच्ने गर्छौं ।

मुख्य लक्ष्य भनेको त्यहाँबाट निस्कने विद्यार्थी आत्मनिर्भर बनून र अरुलाई सहयोग गर्न सक्ने हुन् भन्ने हो । पास भएर गइसकेका विद्यार्थी आएर पढाउने गरेका छन् । उच्च शिक्षाको लागि काठमाडौं आउनेलाई कुन कलेज पढ्ने, कस्तो विषय पढ्ने वा काम गर्दै कसरी पढ्दै ? कस्तो काम गर्ने, कहाँ गर्ने ? लगायतका यावत विषयमा सिनियरले सहयोग गर्ने गरेका छन् ।

नयाँ विद्यार्थीलाई काठमाडौं आउँदा हुने समस्यामा परामर्श र सहयोग गर्नु हो । प्लस टु पछि धेरै विद्यार्थी काठमाडौं आउँछन् । काठमाडौं आएपछि उनीहरुका लागि छात्राबासको व्यवस्था गर्ने, कजेलहरुमा छात्रवृत्ति मिलाउने सम्पर्क बढाउने काम हुन्छ । सक्षम विद्यार्थीलाई उसकै क्षमताअनुसारको काममा लगाउनुपर्छ । नेपालमा त्यसरी काम पाउन गाह्रो छ । हाम्रो सबैभन्दा पुरानो विद्यार्थी स्नातक अन्तिमतिर पुग्दैछन् । संसारभरि जहाँ रहेर पनि हामी सधैँ सँगै देश बनाउने काममा साथ रहनेछौं ।

श्रमदानले मात्रै स्कुल सञ्चालन गर्न सकिन्छ ? यो अलि बढी आदर्श भएन ?
स्कुल स्थापना गर्दा म जम्मा २२ वर्षको थिएँ । त्यतिबेला मेरो ह्प्पिी मानसिकता थियो । पैसा चाहिँदैन भन्ने थियो । टेन्ट टाँग्छु , अभिभावकलाई स्वयमसेवक बनाउँछु , जे सकिन्छ खान्छु, चप्पल लगाउँला भन्ने थियो । अमेरिका, युरोप, काठमाडौं चाहिँदैन । गाउँमा बस्छु भन्ने थियो । तर स्कुलको अवधारणा धेरैलाई मन पर्यो । विद्यार्थी बढ्दै गए । कर्मचारी संख्या बढ्दै गयो र स्कुलले गति लिँदै गयो ।

छात्रवृत्तिमा पढ्न अमेरिका गएको किन फर्किनु प यो ? भन्ने परिवारको कुरा थियो । पछि आएर गर, अहिले नगर भन्नुभएको थियो । तर मैले आफ्नो काम सुरु गरेपछि उहाँहरुले सहयोग गर्नुभयो । पैसाकै कारण मेरो योजना रोक्नुपरेको छैन । हजुरबुवा ब्रिटिस सेना हुनुहन्छ । उहाँले आफ्नो गाउँ बसाइसराईले खाली हुँदै गएकोमा चिन्ता गरिराख्नुहुन्छ । गाउँ बस्नलायक बनाउनुपर्छ भनिराख्नुहुन्छ । सडक पुग्दा पनि गाउँलेहरु पलायन भएका छन् । मलाई त्यो कुरा रोक्नुपर्छ भन्ने लाग्यो । विदेशका साथी र स्कुल हेर्न जानेहरुले सहयोग गर्दै आउनुभएको छ ।

शैक्षिक क्षेत्रको काम मन पराए भन्दैमा चुनावमा भोट हाल्छन् र ?
तनहूँका जनताले परिवर्तन खोजिरहेका छन् । काठमाडौं र पोखराको बीचमा धेरै विचारहरुमा खेल्न सक्छन् यहाँका जनता । स्वर्णिम वाग्ले धेरै पढेको हुनुहुन्छ । तर जनताले गाउँ बुझेको मान्छे खोजिरहेका छन् । उहाँले गोरखा वा चितवनबाट चुनाव लडेको भए हुन्थ्यो । नेताहरु एक क्षेत्रबाट चुनाव लडेपछि पुनः त्यही क्षेत्रमा चुनाव लडिरहेका छैनन् । उनीहरुमा हार्छु भन्ने त्रास छ ।

आफ्नो क्षेत्र बलियो बनाउन आफ्नो क्षेत्रमै उम्मेदवार चाहिन्छ । त्यसैको लागि मेरो उम्मेदवारी हो । पुराना नेताहरुले मलाई लडाउन भन्दा चुनाव जिताउन आवश्यक छ । म जनताको लागि काम गर्न आएको हुँ । त्यहाँ बसेर निरन्तर काम गरेको छु र जनताले नतिजा पनि देखेका छन् । अमेरिकाबाट फर्किएर १५ वर्ष भयो गाउँमा बसेर काम गरेको । आफ्नो क्षेत्रको समस्या किताब पढेर होइन, देखेर भोगेर सिकेको छु ।

चुनाव हारेको अवस्थामा देशमै बस्नुहुन्छ वा पलायन हुने सोच छ ?
चुनाव हारेपनि माया युनिभर्सको काम निरन्तर चलिरहनेछ । बौद्धिक सर्कलका नेपाली विदेश पलायन भइरहेका छन् । एउटा डाक्टर उत्पादन गर्न कति धेरै लगानी गर्नुपर्छ । तर विदेश गएर काम गर्नुहुन्छ । त्यो बाध्यता पनि छ । यसलाई राेक्नुपर्छ ।

चुनाव हारेपनि माया युनिभर्सको काम निरन्तर चलिरहनेछ । बौद्धिक सर्कलका नेपाली विदेश पलायन भइरहेका छन् । एउटा डाक्टर उत्पादन गर्न कति धेरै लगानी गर्नुपर्छ । तर विदेश गएर काम गर्नुहुन्छ । त्यो बाध्यता पनि छ । यसलाई राेक्नुपर्छ ।

हरेक क्षेत्रमा भ्रष्टाचार छ । डाक्टरलाई विरामी झापड हान्छन् । यसको समाधानको लागि धनी राष्ट्रहरु जसलले हाम्रो नागरिक लगिरहेका छन् । उनीहरुले क्षतिपूर्ति दिनुपर्छ । खाडी राष्ट्रबाट तेल लैजाँदा जसरी क्षतिपूर्ति तिर्नुपर्छ । त्यसैगरी नागरिकको पनि क्षतिपूर्ति चाहिन्छ । यो नेपाल एक्लैले बोलेर हुन्न । अन्य देशबाट पनि यसको आवाज उठ्नुपर्छ । मैले यही आवाज संसदमा उठाउने हो ।

विकसित देशको तुलनामा जान नगरी नहुनेमध्येको काम हो । विदेशले ब्रेनड्रेनलाई चिन्नुपर्छ । कांग्रेसले प्रधानमन्त्रीको रुपमा गगनकुमार थापालाई अगाडि सारेको छ । स्वतन्त्रले बालेन शाहलाई सारेको छ । कसैलाई थाहा छैन यिनले चुनाव जित्छन् वा जित्दैनन् । जितेपनि संसद्ले निर्णय गर्ने हो । तनहूँका वा झापाका मतदाता हुन् घरदैलोमा आएका नेताहरुले झुक्याएको कुरा र सामाजिक सञ्जालको कुरामात्रै विश्वास नगर्नुहोस् ।

आफ्नो क्षेत्रमा काम गरेको नेतालाई मतदान गर्नुपर्छ । बालेन भर्सेस ओलीको कुरा गर्दागर्दा झापामा कति क्षमतावान् व्यक्तिहरु पछाडि परेका छन् । मेयर, प्रदेशका नेताहरु होलान् जो राम्रो काम गरेका छन् । हामी उनीहरुको नामै लिन चाहँदैनौं र ठाउँ पनि दिँदैनौं । उस्तै उनीहरुले टिकट पाउँदैनन् । त्यसकारण भोट हाल्दा नेता छान्न आवश्यक छ । नत्र अर्को पाँच वर्षपछि फेरि यही माहोल हुन्छ ।

युवाहरुमा राजनीति रहर हो कि वा बाध्यता ?
रहर र बाध्यता दुवै हो । मेरो देशको विद्यार्थीहरुको भविष्य सुनौलो बनाउने लक्ष्य पुरा गर्नुपर्नेछ । अब नउठे कहिले ? म होइन भने को ? युवाहरु यतिबेलै राजनीतिमा प्रवेश गरेमा धेरै सुधार गर्न सक्छौं ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १० : ४४ बजे

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज