काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको विषयमा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले जानकारी गराएको छ ।
बायाँ खुट्टामा देखिएको समस्याका कारण उनलाई मंगलबार अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो । अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईंले जारी गरेको विज्ञप्ति अनुसार लामिछानेलाई गत माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रमका क्रममा बायाँ खुट्टामा चोट लागेको थियो ।
चोट लागेपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नभई ‘सेलुलाइटिस’ (छालाको भित्री तहको संक्रमण) भएपछि उनलाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको हो । अस्पतालका अनुसार हाल उनलाई नशाबाट एन्टिबायोटिक्स दिएर उपचार भइरहेको छ ।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उपचार प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ ।














प्रतिक्रिया