मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ। उनी ६६ वर्षका थिए।
बुधबार बिहान ८ः४५ बजे बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा उनको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा अजित पवारसहित उनका सुरक्षाकर्मी, दुई पाइलट र एक परिचारिकासहित ५ जनाको ज्यान गएको छ।
पवार महाराष्ट्र पञ्चायत चुनावका लागि बारामतीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न जाँदै थिए।
महाराष्ट्र उड्डयन विभागका स्रोतहरूका अनुसार विमान बारामती विमानस्थलमा अवतरणका लागि अप्रोच गरिरहेको थियो।
पहिलो प्रयासमा पाइलटले रनवे स्पष्ट देखिन नसकेपछि विमानलाई पुनः उचाइमा लगेका थिए। त्यस समयमा भिजिबिलिटी करिब २ हजार मिटर रहेको बताइएको छ।
पहिलो प्रयास असफल भएपछि रनवे–११ मा दोस्रोपटक अवतरण गर्ने प्रयास गरियो। यही क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भयो । जहाजमा तुरुन्तै आगलागी भएर जलेको छ। दुर्घटनापछि घटनास्थलमा विमानको भग्नवाशेष र आगोको लप्का देखिएको थियो।
अवतरणका क्रममा पाइलटले कुनै आपतकालीन संकेत दिएका थिएनन्। ‘मेडे’ कल पनि गरिएको थिएन। घटनाका बेला बारामतीको फ्लाइङ क्लबबाट कुनै पनि विमान उडानमा थिएनन्।













प्रतिक्रिया