मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।
आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा अरिजीतले लेखेका छन्, ‘नमस्ते, नयाँ वर्षको हार्दिक शुभकामना। यति धेरै वर्षसम्म श्रोताका रूपमा दिनुभएको प्रेमका लागि सबैलाई धन्यवाद। अबदेखि म प्लेब्याक सिंगरका रूपमा कुनै पनि नयाँ काम लिने छैन। यसलाई यहीँ समाप्त गर्दैछु। यो एक अद्भुत यात्रा रह्यो।’
हतारमा होइन, सोचविचार गरेर निर्णय
अरिजीत सिंहका निकट सहयोगी तथा ‘सयोनी’ गीतका कम्पोजर अञ्जन भट्टाचार्यले यो निर्णय अचानक नभएको बताएका छन्। उनका अनुसार अरिजीतले लामो समयदेखि यसबारे सोच्दै आएका थिए । अहिले नै सही समय ठानेर निर्णय लिएका हुन्। उनले भविष्यमा पनि फरक शैलीमा दर्शकसँग जोडिरहने र फ्यानहरूको माया र समर्थनप्रति आभारी रहने बताए।
अब अरिजीतको यात्रा ?
ग्लोबल कोलाबोरेशन (२०२७): विभिन्न देशका कलाकारसँग काम गर्दै अन्तर्राष्ट्रिय म्युजिक उद्योगमा सक्रिय हुने।
वर्ल्ड टुर : २०२७ मा विश्वभर लाइभ शो गर्ने, भर्चुअल रियालिटी कन्सर्ट पनि आयोजना गर्ने।
स्पेसल प्रोजेक्ट्स : आफ्ना नयाँ गीत र एल्बम सिधै श्रोतासम्म पुर्याउने योजना।
इन्डिपेन्डेन्ट म्युजिक : फिल्मबाट अलग रहेर सोलो प्रोजेक्ट र फ्युजन म्युजिकमा काम गर्ने।
प्लेब्याक गायन के हो?
फिल्म वा म्युजिक भिडियोका लागि स्टुडियोमा गीत रेकर्ड गर्ने प्रक्रियालाई प्लेब्याक गायन भनिन्छ। ती गीतहरू पछि अभिनेता–अभिनेत्रीमाथि फिल्माइन्छन्।

विवादमा पनि आएका अरिजीत
सलमानसँगको विवाद: सन् २०१४ को गिल्ड अवार्डमा ‘तुम ही हो’ गीतका लागि अवार्ड लिन जाँदा सलमान खानसँग भएको मजाक विवादमा परिणत भएको थियो।
पछि सलमान अभिनीत फिल्म ‘सुल्तान’ बाट अरिजीतको गीत हटाइयो। अरिजीतले सामाजिक सञ्जालमार्फत माफी मागे पनि गीत राखिएन।
अब मिलिसकेको दाबी : बिग बोस १९ को ‘वीकएन्ड का वार’ एपिसोडमा सलमान खानले आफू र अरिजीतबीचको विवाद अन्त्य भइसकेकाले अहिले राम्रो सम्बन्ध रहेको बताएका छन्।
‘गेरुआ’ गीत विवाद:
कोलकाता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गेरुआ’ गीत गाएपछि उनका केही कन्सर्ट रद्द भएका थिए। यसलाई लिएर राजनीतिक आरोप–प्रत्यारोप चले। आयोजक पक्षले जी–२० कार्यक्रमका कारण कन्सर्ट रद्द भएको स्पष्ट पारेको थियो।
अरिजीतको करिअर
२५ अप्रिल १९८७ मा पश्चिम बंगालको जियागञ्जमा जन्मिएका अरिजीत सिंहकी आमा शास्त्रीय गायिका थिइन्। सन् २००५ मा ‘फेम गुरुकुल’ रियालिटी शोमा सहभागी भए पनि विजेता बन्न सकेनन्।
‘मर्डर २’ को गीत ‘फिर मोहब्बत’ बाट प्लेब्याक डेब्यू गरेका अरिजीतले पछि ‘तुम ही हो’, ‘राब्ता’, ‘चन्ना मेरेया’ जस्ता हिट गीतमार्फत अपार लोकप्रियता कमाए।
उनले करिब ७ सयभन्दा बढी गीत गाइसकेका छन्। २ राष्ट्रिय पुरस्कार, ८ फिल्मफेयरसहित १२२ अवार्ड जितेका अरिजीतलाई सन् २०१५ मा पद्मश्रीबाट सम्मान गरिएको थियो।
अरिजीतका चर्चित गीतहरू
‘फिर मोहब्बत’, ‘तुम ही हो’, ‘राब्ता’, ‘अगर तुम साथ हो’, ‘चन्ना मेरेया’, ‘गेरुआ’, ‘केसरिया’ लगायत गीतहरूले उनलाई भारतीय संगीतको शीर्ष स्थानमा पुर्याएका हुन्।













प्रतिक्रिया