दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए « Khabarhub

दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए

‘कांग्रेस लोकतन्त्रको धेरै मूल्यबाट स्खलित’ 



जेन–जी आन्दोलनको म्यान्डेटमा गठित सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरायो  । निर्वाचनमा सहभागी ६८ वटा राजनैतिक दलमध्ये ६ पार्टीले मात्रै संसद् प्रवेशको परीक्षा उत्तीर्ण गरे । चैत १२ मा नवनिर्वाचित सबै दलका २७५ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिए । 

बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा १४ चैतमा मन्त्रिपरिषद् गठन गर्‍यो । रास्वपा १८२ सिटसहित संसद्को पहिलो दल बनेको हो । जसअनुसार राष्ट्रपतिले १९ चैतमा प्रतिनिधि सभाको पहिलो बैठक डाके । उक्त बैठक नेपाली कांग्रेसका समानुपातिक सांसद तथा सदनमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सञ्चालन गरे । 

संसद्को पहिलो बैठक अगावै रास्वपा, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय श्रम तथा संस्कृति पार्टीले दलको नेता चयन गरेरै उपस्थित भए । पहिलो पार्टी बनेको रास्वपाले वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)लाई  संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री बनाएको हो । 

२५ सिटसहित संसदमा तेस्रो दल बनेको एमालेले रामबहादुर थापा बादललाई दलको नेता बनायो । सो बारे एमालेमा निर्वाचन प्रक्रियाको माग हुँदाहुँदै बादललाई सर्वसम्मत नेता बनाउन बाध्यकारी अवस्था सिर्जना गराइएको थियो । उनीसँग इलामबाट निर्वाचित सांसद सुहाङ नेम्वाङ प्रतिस्पर्धामा उभिएका थिए । तर उनले प्रस्तावक र समर्थक नै नपाएपछि पछि हट्नु परेको थियो । एमालेले सदनमा १६ समानुपातिक र ९ प्रत्यक्ष गरी जम्मा २५ सिट मात्रै प्राप्त गरेको छ । 

यस्तै, श्रम संस्कृति पार्टीमा अध्यक्ष रहेका हर्क साम्पाङ राई दलको नेता चुनिए । निर्वाचनको ४ महिनाअघि मात्रै दर्ता भएको यस पार्टीले ३ प्रत्यक्ष र ४ समानुपातिक गरी ७ सिट पाएको छ । 

नेकपाले भने पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नै नेता मान्ने निर्णय गर्‍यो । नेकपाको सदनमा ९ सिट समानुपातिक र ८ प्रत्यक्ष गरी १७ सिट पाएको छ । राप्रपाले बाजुराबाट निर्वाचित ज्ञानेन्द्रबहादुर शाहीलाई दलको नेता मान्यो । राप्रपाको सदनमा १ प्रत्यक्ष र ४ समानुपातिक गरी जम्मा ५ सिट प्राप्त गरेको छ । 

तर सदनमा प्रमुख प्रतिपक्ष बनेको नेपाली कांग्रेसले भने दलको नेता चयन गर्न सकेको थिएन । समानुपातिकतर्फ २० र प्रत्यक्षमा १८ गरी कांग्रेसले जम्मा ३८ सिट प्राप्त गरेको छ । यो संख्या २०७९ को निर्वाचनमा ८९ थियो । 

सरकार गठनलगत्तै बसेको सभाको पहिलो दलमा सबै दलका नेताले नै सम्बोधन गरे । तर आन्तरिक किचलोमै रुमल्लिएको कांग्रेसले अनुभवी नेता भीष्मराज आङदेम्बेलाई सम्बोधनका लागि पठायो ।

जबकी सो समयमै उनी दलको नेताका बलिया दाबेदार समेत थिए । यस्तै, अर्जुननरसिंह केसी, भरतबहादुर खड्का पनि दलको नेताका आकांक्षी थिए । उनीहरू तीनै जना कांग्रेसमै जीवन बिताएका अनुभवी नेता हुन । आङ्देम्बे र केसी समानुपातिकतर्फका सांसद हुन । खड्का भने डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । उनीहरू तीनै जना पञ्चायतदेखि जेल नेल भोग्दै पार्टी र प्रजातन्त्रका लागि साक्षी बनेका नेता पनि हुन । 

उनीहरूसँगै दलको नेतामा युवातर्फ रसुवा–१ बाट निर्वाचित मोहन आचार्य, इलाम–१ बाट निर्वाचित निश्कल राई समेत चर्चामा आए । दैलेख–१ बाट निर्वाचित वासना थापालाई पनि दलको नेताको उचित रहेको सुझाव सुनियो । उनी कांग्रेसबाट १८ जना प्रत्यक्ष निर्वाचित सांसदमध्ये महिलातर्फ एकल सांसद हुन । 

अन्ततः निर्वाचनपछि ५३ दिनसम्मको सघर्षपश्चात कांग्रेसले सोमबार दिउँसो उनै आङदेम्बेलाई दलको नेता चयन गरेको छ । 

बिहान ११ बजे सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नाम सर्वसम्मत प्रस्ताव गरिएको थियो । सो अनुरूप सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा ३ बजे बसेको सांसदहरूको बैठकले उक्त निर्णय सर्वसम्मत पारित ग¥यो । 

कांग्रेसले गत पुसमा दोस्रो विशेष महाधिवेशन गर्दै गगनकुमार थापा नेतृत्वको कार्यसमिति गठन गरेको थियो । थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दियो । त्यसको विरोधमा विशेष महाधिवेशन नचाहेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का वैधता टुङ्ग्याइदिने निवेदन सहित अदालत पुगे । ३ पटकसम्म पेशी तोकिएपछि वैशाख ४ गते थापाकै पक्षमा फैसला भएको थियो । 

सोहीकारण थापा विशेषको पक्षमा नखुलेका आङदेम्बेलाई नेता मान्न अनकनाई रहँदा दलको नेता चयनमा ढिलाइ भएको थियो । उसैमाथि उनलाई उपसभापति विश्वप्रकाश शर्माले पनि अघि बढाउन चाहँदा सभापति थापामाथि दबाब थियो । सभापति थापा भने मोहन आचार्यलाई नेता बनाउने कसरतमा लागेको उनी निकट एक स्रोतको भनाइ छ । आचार्य प्रत्यक्ष निर्वाचित सांसद भएकै कारण पनि विगतको अभ्यास अनुसार सभापति थापा उनलाई अगाडी बढाउन चाहन्थे । 

दलको नेतामा अर्का बलिया दाबेदार थिए, अर्जुननरसिंह केसी । जो अनुभवी नेतासँगै थापाका ससुरा समेत हुन । सोहीकारण विरोध हुने त्रासमा सभापति थापा उनलाई नेता मान्न खासै तयार देखिएनन् ।  युवा सांसद थापा र राईको भने दलको नेतामा खरो आकांक्षा देखिएन । 

यस्तै, नेता नेता बन्न चाहेका डोटीका सांसद खड्कालाई सभापति थापाले सार्वजनिक लेखा समितिको सभापति बनाए । युवा सांसद थापा र राई भने प्रमुख सचेतक र सचेतकको जिम्मेवारीमा रहने छन् । 

‘आज भीष्मराज आङदेम्बे दलको नेता चयनसँगै पदभार ग्रहण गरिसक्नु भएको छ । अब प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई रहनुहुनेछ,’ थापाका सचिवालय सदस्य युवराज पाण्डेयले बताए । 

आङदेम्बे दलको नेताका रुपमा सर्वसहमत चयन गरेलगत्तै सभापति थापाले उक्त प्रस्तावलाई सबै नेताले सम्मानपूर्वक स्वीकार गरेको बताए ।  ‘पार्टीभित्र प्रतिस्पर्धा गराउन सजिलो हुन्छ, तर सर्वसम्मत नेतृत्व चयन गराउन धेरै गाह्रो हुन्छ । यो ढिलाइ लाचारीले होइन, परिपक्व निर्णयका लागि भएको हो,’ उनले भने । 

सोहीक्रममा आङ्देम्बेले लोकतन्त्रमा संसद् प्रतिपक्षको हुने उल्लेख गर्दै कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताए ।

‘सरकारका राम्रा कामलाई समर्थन गर्छौ, तर जनताको हितविपरीत कुनै काम भए सशक्त प्रतिवाद गर्छौ लोकतन्त्रमा संसद् प्रतिपक्षको हुन्छ,’ उनले भने । 

सुरुवाती चरणदेखि नै आकांक्षी रहेका आङदेम्बेलाई थापाले झण्डै २ महिना लगाएर सर्वसहमत चयन गर्दा नेतृत्वमाथि भने प्रश्न उठेको छ । 

‘दलको नेता चयनमा भएको ढिलाइले नेतृत्व क्षमतामा साथै कांग्रेसको राजनीतिक ओज, विश्वसनीयतामा समेत गम्भीर आघात पु¥याएको छ,’ इतर समूहका नेता मीनबहादुर विश्वकर्माले बताए । 

आङदेम्बेलाई नै चयन गर्नु थियो भने प्रतिनिधि सभा बैठक पूर्व नै नगर्नुले नेतृत्वको कार्यक्षमतामा प्रश्न उठेको उनले बताए । 

‘यसले कांग्रेसको राजनीतिक असक्षमतासँगसगैँ राजनीतिक वृत्त र नेपाली समाजमा कांग्रेसको ओज र गरिमालाई घटाएको छ,’ उनले भने । 
दलको नेता चयनमा अलोकतान्त्रिक गतिविधि गरिएको उनको आरोप छ । 

‘संसद्को बैठक अगावै वा पहिलो बैठकसम्म प्रमुख प्रतिपक्षी वा सत्तापक्ष जे हुँदा पनि तत्कालै सर्वसम्मत वा निर्वाचनबाट टुङ्ग्याउने अभ्यास र मान्यता हो,’ उनले थपे, यस पटक सर्वसम्मति पनि हुन सकेन । निर्वाचनको तालिका पटक–पटक सारियो, स्थगित नै गरियो । त्यसमा पनि केन्द्रीय कार्यसमितिबाट उपसभापति नेतृत्वमा दबाब समुहका रुपमा अभ्यास गरियो । त्यो नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई नसुहाउने, नमिल्ने काम भयो । 

विगतमा पार्टीले ८९ देखि संविधानसभा निर्वाचनमा २३७ सिटसहितको जनादेश पाउँदा पनि यस्तो विवाद नदेखिएको उनले स्मरण गराए । 

राजनीतिशास्त्रका प्राध्यापक तथा सञ्चारकर्मी पुरुषोत्तम दाहालका अनुसार सर्वसम्मतिमा नेता चयन हुन नराम्रो विरोध गर्ने विषय होइन । तर, विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पनि पुरानै परम्परालाई नै निर्वाह गरेको उनको टिप्पणी छ ।  

‘सर्वसम्मतिबाट पनि उचित मान्छे नै चयन गरिएको छ । तर प्रक्रियाको सवालमा उहाँहरूले निकै कसरत गर्नुभयो । दलको नेताको रुपमा अन्य आकांक्षी हुँदाहुँदै सर्वसम्मत गरियो । पहिलो पटक सदनमा जाँदा नै उहाँले दलको नेताको रुपमा लगेको भए सुनमा सुगन्ध हुन्थ्यो । अन्यथा सोही समय सबैले नोमिनेसन दर्ता गर्नुस् चुनावमा जाऊँ भन्नुपर्थ्यो,’ उनले बताए । 

कांग्रेसलाई लोकतान्त्रिक पार्टी भन्नुपर्ने हालको अवस्थामा खासै उचित नरहेको उनको दाबी छ । 

‘लोकतन्त्रमा अहंकार हुँदैन । मैले जे बोल्यो त्यही हुनुपर्छ भन्ने हुँदैन । म बाहेक कोही हुँदैन भन्ने लोकतन्त्रमा हुँदैन । मेरो पनि विकल्प छ , अरु पनि छन भन्ने सिद्धान्त हुन्छ लोकतन्त्रमा । अहिलेको हकमा कांग्रेस लोकतन्त्रको धेरै मूल्यबाट स्खलन भइसकेको छ,’ उनले भने । 

उहाँहरूले आफू अनुकूल दलको नेता अघि सारेको भन्ने पुष्टि नभएको उनले भने । 

‘सञ्चारमाध्यमा पनि सभापति, उपसभापति लगायतमा पनि स्वार्थको द्वन्द्व रहेको सुनियो । तर उहाँहरूबाटै भने त्यस्तो पुष्टि हुने गतिविधि औपचारिक पुष्टि भएन,’ उनले बताए । 

करिब २ महिनासम्म पनि दलको नेता चयन गर्न नसक्नुमा भने नेतृत्वको कार्यकुशलता र कार्यक्षमतामा भर पर्ने प्राध्यापक दाहालको टिप्पणी छ । 

यस्तै, प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षीका रुपमा रहेको कांग्रेसले दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पनि पूर्णता पाएको छ । परिषदमा विपक्षी दलको नेता, राष्ट्रिय तथा प्रतिनिधि सभाका प्रमुख, प्रतिनिधि सभा उपसभामुख र कानुनमन्त्री सोविता गौतम सदस्य रहनेछन् । यससँगै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।  

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ३० बजे

इरान प्रस्तावप्रति अमेरिका कठोर

एजेन्सी– युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव

शिक्षामा लगानी बढाउन आग्रह

काठमाडौं– अन्तर्राष्ट्रिय शिक्षक महासङ्घ (एजुकेसन इन्टरनेसनल) मा आबद्ध शिक्षक र

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत