सभामुख र चिनियाँ राजदूतबीच भेट, एक चीन नीति र बीआरआईबारे पनि कुराकानी  « Khabarhub

सभामुख र चिनियाँ राजदूतबीच भेट, एक चीन नीति र बीआरआईबारे पनि कुराकानी 


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भेटवार्ता गरेका छन् । 

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको छ ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

उनले एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे ।

अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा नयाँ प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको बताउँदै चीन सरकारको सहयोग अपेक्षित रहेको बताए । 

उनले सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै राजनीतिक संक्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे ।

उनले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा गति दिनुपर्ने धारणा राखे । 

यसका साथै, संघीय संसदका दुवै सदन र संसदीय समितिहरूमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने बताए ।

राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै चीनको राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाई पत्र हस्तान्तरण गरेका थिए ।

उनले नेपाल–चीन सम्बन्ध असल छिमेकी, आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

माओमिङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा चीनको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिप्रति विश्वास व्यक्त गर्दै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे ।

राजदूतले चीन–नेपाल सहकार्यअन्तर्गत पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन तथा विकास परियोजनामा सहकार्य बढाउने उल्लेख गर्दै संघीय संसद सचिवालयलाई विद्युतीय सवारी साधन सहयोग गरिएको जानकारी दिए । 

यसमा साथै, उनले सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको निम्ता पनि दिए । दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउँदै संसदीय, आर्थिक, प्राविधिक तथा जनस्तरका सहकार्य विस्तार गर्ने सहमति जनाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ५ : ०५ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम