हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा « Khabarhub

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब थप कडा बनाएको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।

अमेरिकाका अनुसार उक्त निकायले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने व्यवस्था सञ्चालन गर्दै आएको छ । विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वासिङ्टनले इरानमाथिको आर्थिक नियन्त्रण कडा पार्ने रणनीतिका रूपमा प्रस्तुत गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जारी विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान आर्थिक दबाबमा परेको सङ्केत दिएको बताए। उनले इरानी नेतृत्वले आफ्ना कार्यक्रम सञ्चालनका लागि नयाँ राजस्व स्रोत खोजिरहेको दाबी गरे।

विज्ञप्तिअनुसार हर्मुजमार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ । मन्त्रालयले त्यस्ता भुक्तानीलाई इरानको रिभोलुसनरी गार्ड्सलाई सहयोग वा सेवा उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने उल्लेख गरेको छ ।

बेसेन्टले अमेरिकाले इरानी शासनलाई उसका हतियार कार्यक्रम, क्षेत्रीय सशस्त्र समूह तथा आणविक महत्त्वाकांक्षाका लागि आवश्यक आर्थिक स्रोतबाट वञ्चित गर्न प्रयास जारी राखेको बताए। विज्ञप्तिमा अमेरिकाले तेहरानलाई “दशौँ अर्ब डलर बराबरको सम्भावित राजस्व पहुँचबाट टाढा राख्न” सफलता हासिल गरेको दाबी पनि गरिएको छ ।

यसैबीच, पर्सियन गल्फ स्ट्रेट अथोरिटीले मे २० मा सामाजिक सञ्जाल एक्समार्फत आफ्नो भनिएको ‘नियामक क्षेत्राधिकार’ स्पष्ट पार्ने नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा हर्मुज जलघाँटीका दुवै किनारतर्फ रातो रेखा कोरेर मार्ग प्रयोगका लागि इरानी स्वीकृति आवश्यक पर्ने क्षेत्रहरू देखाइएको थियो ।

युद्ध र कूटनीतिक तनावबीच यो विवाद थप संवेदनशील बनेको छ । अमेरिकी र इरानी सेनाले अप्रिल ८ यता युद्धविरामको पालना गर्दै आएका भए पनि राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास जारी छन् । त्यसका बाबजुद हर्मुज हुँदै हुने खाडी क्षेत्रको जलपरिवहनमा इरानको नियन्त्रण अझ कडा बनेको अमेरिकी पक्षको आरोप छ । पछिल्ला दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमणसमेत सुरु गरेको बताइएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार तेहरानले रणनीतिक हर्मुज मार्गको ट्राफिक व्यवस्थापन जारी राख्ने बताएका थिए। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास पारगमन हुने यस समुद्री मार्गमा इरानले ‘टोल’ नभई ‘नेभिगेसनल सेवा’ उपलब्ध गराएबापत शुल्क लिइरहेको उनको दाबी थियो ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इस्लामिक गणतन्त्रमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इरानले क्षेत्रभर मिसाइल र ड्रोन आक्रमणमार्फत प्रतिकार गरेको घटनाक्रम पनि यस तनावपूर्ण पृष्ठभूमिसँग जोडिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १ : ०३ बजे

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका