कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन « Khabarhub

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । रोजगारीका लागि १२ वर्षसम्म साउदी-कोरिया बसेर फर्किएका उनले गाउँमा ६० लाख रुपैयाँ लगानी गरी कृषि कर्ममा जोडिएका छन् ।

आधुनिक कृषि प्रविधि अपनाउँदै क्षेत्रीले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय सञ्चालन गरेका छन् । सुन्दर भविष्य निर्माण गर्ने आश बोकेर दैनिक हजारौँ युवा विदेश पलायन भइरहेको अवस्थामा उनी स्वदेशमा स्वरोजगार बन्ने बाटोमा लागेका छन् ।

सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले ६० लाख रुपैयाँ भन्दा बढीको लगानीमा विस्तार भइसकेको क्षेत्रीले जानकारी दिए । करिब ९० रोपनी क्षेत्रफलमा एसके कृषि फार्म दर्ता गरी व्यावसायिक तरकारी खेती, फलफूल बगैँचा तथा गाइभैँसीपालन गर्दै आएका छन् । 

फार्ममा आधुनिक सिँचाइ प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ । उनले मौसमी तथा बेमौसमी तरकारी, आलु, काँक्रा, अदुवा, कागती, टमाटर खेती गरेका छन् ।  

‘सुरुमा धेरैले कृषि गरेर केही हुँदैन विदेन नै गएको राम्रो भनेका थिए’, क्षेत्रीले भने, ‘तर मेहनत र सही योजना छनोट गर्न सकेमा यसैबाट प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ ।’ उनले कृषि पेसाबाट सम्मानजनक जीवनयापन र प्रशस्त आम्दानी गर्न सकिने धारणा राखे ।

किसान क्षेत्रीले आफ्नो फार्मबाट वार्षिक लाखौँको तरकारी तथा भक्तपुरे जातको स्थानीय काँक्राको बीउ बिक्री हुने गरेको जानकारी दिए । हरेक वर्ष लगानी थप गर्दै आएकाले आम्दानी यकिन नभएको उनको भनाइ छ । उनले वार्षिक रूपमा करिब ५० लाखसम्मको कारोबार हुन गरेको बताए । 

किसान क्षेत्रीले आगामी वर्षदेखि आम्दानी बढ्दै जाने उल्लेख गर्दै कोरियाबाट फर्केर विहादीलाई कृषि उत्पादनको क्षेत्रमा ‘ब्रान्ड’ बनाउने योजना रहेको बताए । उनका अनुसार प्रत्यक्ष रूपमा पाँच जनाले रोजगारी पाएका छन् भने स्थानीय किसान पनि आधुनिक खेतीप्रति आकर्षित भएका छन् ।

किसान क्षेत्री अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले यस वर्ष एक हजार ४०० किलो काँक्राको बीउ उत्पादन गरेको छ । कृषक समूहमा ३२ जना सदस्य आबद्ध छन् । 

समूहका अध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष उत्पादित बीउ जिल्लाभर प्रतिकिलो रु छ हजारका दरले बिक्री भएको जानकारी दिए । गत वर्षको दररेटअनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहबाट मात्रै उत्पादित काँक्राको बीउको मूल्य ८० लाख रुपैयाँभन्दा बढी रकम हुने उनले बताए । 

क्षेत्रीले ४५ रोपनी जग्गामा बीउ उत्पादनका लागि काँक्रा खेती गरेकामा ९० किलो बीउ उत्पादन हुने गरेको जानकारी दिए । आफ्नो पेसामा सन्तुष्ट रहेका उनले ग्रामीण क्षेत्रका किसानलाई बैङ्कहरूले ऋण नदिने गरेका भन्दै गुनासो गरे ।

‘सरकारले किसानलाई सहुलियत ब्याजदरमा कृषि ऋण दिनुपर्छ । कृषि विकास बैङ्कले ऋण दिन्छु भनेर अन्तिममा फार्म रहेको जग्गामा पक्की बाटो नपुगेको रहेछ । बाटो नपुगपछि धितो उपयुक्त नभएको भनी अन्तिममा ऋण दिएन । यसले व्यवसाय विस्तारमा समस्या भयो । यस्तो समस्या हुन नदिन स्थानीय निकायले विशेष पहल गर्नुपर्छ’, किसान क्षेत्रीले भने । आगामी दिनमा लोकल कुखुरा र हाँसपालन गर्ने योजना रहेको उनले बताए ।

‘कृषिमा अझै धेरै सम्भावना छन्’, क्षेत्रीले भने, ‘युवाले विदेशमा भन्दा गाउँमै अवसर खोज्नुपर्छ ।’ पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजार र मूल्यको अभाव नहुने उनको अनुभव छ । 

विहादी गाउँपालिकाका कृषि शाखाका प्राविधिक जीवन शाहीले कृषक क्षेत्रीको सफलताले गाउँका अन्य युवालाई कृषि पेसातर्फ आकर्षित गरेको बताए । गाउँको उर्वर भूमि र आधुनिक सोचको संयोजनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उनले विश्वास व्यक्त गरे ।

जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले लोकमार्ग केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्षेत्रीलाई यस वर्ष एक लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको जानकारी दिए । 

उनले युवा व्यावसायिक कृषि क्षेत्रमा आकर्षित हुन थालेका बताउँदै राज्यले पनि उनीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे ।

आधुनिक प्रविधिको प्रयोग, बजार पहुँच र सरकारी सहुलियतले कृषि व्यवसायलाई थप सम्भावना बोकेको क्षेत्र बनाएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ११ : १५ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना