काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि ‘फूलथुङ्गे रानी’, ‘लजाएर एक्लै किन बसेकी मायालु’ र ‘फूलहरु मुस्काउँछन्’ जस्ता सुपरहिट गीतका सर्जक सुजन चापागाईं विवादमा तानिएका छन् । आफू विवादमा तानिएपछि उनले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण पनि दिएका छन् ।
सामाजिक सञ्जालमा भाइरल स्क्रिनसटमा उनले नाबालिग भन्ने जान्दा जान्दै पनि युवतीलाई अल्कोहलको प्रस्ताव गरेको देखिन्छ । उनले अल्कोहलको प्रस्ताव गर्दै आफ्नो कोठामा पनि बोलाएका छन् । यसका साथै चापागाईंले रोमान्टिक भएर कतै घुम्न मन लागेको जस्ता म्यासेज गरेको स्क्रिनसट पनि बाहिरिएको छ ।
हाल उनी ‘सुजन चापागाईं एन्ड दि इन्फिनिटी’ को साङ्गीतिक टुरका लागि अस्ट्रेलियामा छन् । विवादमा तानिएपछि सामाजिक सञ्जालमार्फत् उनले दिएको प्रष्टीकरणमा म्यानेजर र फेक अकाउन्टहरूले आफ्नो नाममा गलत कार्य गरेको हुन सक्ने दाबी गरिएको छ ।
उनले आफू कानुनी उपचारमा जाने समेत बताएका छन् । साथै, उनले अस्ट्रेलिया भ्रमणपछि नेपाल फर्किएर छानबिन प्रक्रियामा सहयोग गर्ने प्रष्टीकरण दिएका छन् ।
उनले आफ्नो स्पष्टीकरणमा लेखेका छन्-
प्रीय दर्शक श्रोताहरु नमस्कार ।
हाल म अनि मेरो ब्याण्ड ‘सुजन चापागाई एन्ड दि ईन्फिनिटि’ म्युजिकल टुर का क्रममा अष्ट्रेलियामा रहेको जानकारी गराउन चाहन्छु। केहि दिन यता सोसियल मिडियामा म सँग सम्बन्धित प्राईभेट मेसेजका सन्दर्भमा आएका तथ्यहरुको बारेमा म अत्यन्त चिन्तित एवम दुखि भएको छु।
बिगतमा म सँग निटक सम्बन्धमा रहेका अनि मैले नजिक ठानेका साथीहरुसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य हो। जसबाट उत्पन्न भएको दुखद परिस्थितिको निम्ति म अन्तरहृदय देखि नै माफि माग्न चाहन्छु। तर जे जति सामग्रीहरु सोसियल मिडियामा आएका छन ति सबैका सबै प्रति चाँहि म अनबिज्ञ छु ।
मेरो सोसियल मिडिया मैले मात्र ह्याण्डल गर्न सम्भव नभएको हुँदा बिभिन्न काल खण्डमा सोसियल मिडिया म्यानेजरहरु ले म्यानेज गर्ने गरेको र सोहि समयमा कँहि कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ। साथै मेरो नामका धेरै फेक अकाउण्टहरु सकृय रहेको जानकारीमा आएको छ। यि अनैतिक एवम अनुत्तरदायिक हर्कतका विरुद्ध आवश्यक छानविन प्रकृया शुरु गरिसकेको छु, मेरो अष्ट्रेलिया सांगितिक यात्रा सकिए लगतै नेपाल गएर कानुनी उपचारमा जानेछु।
मलाई बिश्वास अनि माया गर्नुहुने मेरा दर्शकश्रोता, परिवार, आफन्त, साथीभाईहरु प्रति म यो बाचा गर्दछु कि आगामी दिनमा यि तमाम बिषयहरु प्रति गम्भिर आत्मसमिक्षा गर्दै अघि बढ्नेछु । सामाजिक संजाल प्रयोग सम्बन्धि साक्षरतालाई थप बलियो बनाँउनेछु । हजुरहरूले गर्नु भएको बिश्वासलाई गुम्न दिने छैन। यो मेरो जीवनकै कठिन घडिमा हजुरहरुको साथको अपेक्षा गर्दछु ।
अन्त्यमा,
मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नु परेको समस्याको निम्ति माफि चाहन्छु ।

युवतीहरुद्धारा स्क्रिनसट बाहिरिएपछि अष्ट्रेलिया बस्ने प्रतिष्ठा गौतमले फेसबुकमा लामो स्टाटसमार्फत गायक चापागाईले आफूसँग पनि शिष्टाचार नदेखाएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्-
मैले त्यति बेला सोचेँ- सिंगल केटा हो, म पनि सिंगल थिएँ, अलि ‘आउटगोइङ’ देखेपछि ‘ट्राई’ गरेको होला । मैले आफ्ना ‘गेष्ट’ प्रति देखाएको ‘कोर्टसी’ लाई उहाँले ‘डिसरेस्पेक्ट’ गरेको जस्तो पनि लागेको थियो। तर यो पहिलो पटक भने थिएन। नेपालबाट आएका अरू ‘आर्टिस्ट’ ले पनि यसअघि मलाई यसरी ‘अप्रोच’ गरेका थिए। त्यसैले “सिंगल मान्छेले अर्को सिंगल मान्छेलाई देखेर आकर्षण महसुस गरेको होला” भनेर मैले त्यो कुरा त्यतिमै इग्नोर गरेँ ।
तर अहिले अरूहरूको अनुभव सुन्दै जाँदा कुरा धेरै गम्भीर देखिन्छ। यदि उहाँले साँच्चै ‘माइनर’ लाई ‘टार्गेट’ गर्नुभएको हो र धेरै जनामाथि दुर्व्यवहार गर्नुभएको हो भने, यस्तो व्यवहारलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन। यस्ता आरोपहरू निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्छ, र यदि सत्य प्रमाणित भए भने उहाँलाई जवाफदेही बनाइनुपर्छ। यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक कदम चालिनु जरुरी छ।
विशेषगरी किशोरवयका बालबालिकासँग गरेको संवादलाई लिएर महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र सर्वसाधारणले कानुनी कारबाहीको माग गरिरहेका छन् । त्यसैगरी कतिपयले चाहिँ पुरुषले प्रगती गर्दै गएपछि यस्तै लाञ्छना लगाएर चरित्रहत्या गर्न लागिएको भनेर गायकको बचाउमा उत्रिएको पनि देखिएको छ ।
मानव अधिकारर्की मोहना अन्सारीले सोसल मिडियामा सशक्त अभ्यास गर्दै आइरहेको ‘रुटिन अफ नेपाल बन्द’ जस्ता प्लेटफर्मले पीडित भनिएकाहरुको भन्दा आरोप लागेकाहरुको स्पष्टीकरणलाई प्राथमिकताको साथ सम्प्रेषण गर्नुले हिंसालाई प्रोत्साहित गर्ने आरोप लगाएकी छिन् । उनले पीडितलाई एक्ल्याउने पीडकप्रति सहानुभूति राख्ने प्रवित्तिलाई लिएर पनि चिन्ता व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्-
पिडित एक्ल्याउने र पिडक प्रति साहनुभूती राख्ने प्रवृति चिन्ताजनक छ। हिंसा गर्नेको साहस लाई उकास्ने र पीडितलाई जो न्याय खोज्न पहल गर्दै छिन तिनलाई एक्ल्याउने अभ्यास नयां होईन। पिडकको शक्ति सम्बन्ध, पैसाको रवाफ, राजनीतिक पहुँच र सामाजिक प्रतिष्ठा त्यस माथी “मैले माफी मांगी सके” नेपाल गएर कानूनी उपचारमा जाने धम्कि यो भन्दा लज्जा र धिक्कार के नै हुन सक्छ,
अझ यो प्लेटफर्म यस्तो सन्देश आउनु भनेको सबैकुरा मिलि सक्यो के को रोईलो हो यो भन्न लाई
त्यसैगरी महिला अधिकारकर्मी तथा लेखक अम्रिता लम्सालले सेलिब्रेटीलाई सबै अपराधमा छुट हुनुपर्ने हो ? भनेर प्रश्न गरेकी छिन् । उनले यस्ता आरोपको निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्ने माग राखेकी छिन् । उनले भनेकी छिन्-
पेडोफिला को अर्थ थाहा छैन हो ?
कति प्रतिरक्षा गछौं ?
कुरा उठिसकेपछि सत्य बाहिर आउन जरुरी छैन ? #सेलिब्रेटी भन्यो कि, सबैकुरा छुट हुनुपर्ने र दुधले नुहाएको हुन्छन् हो ?
सन्दर्भ, चर्चित गायकको प्रसंग।












प्रतिक्रिया